बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अर्थमन्त्रीको सेयरमैत्री भाषणले समेत बढेन बजार, दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत खुम्चिँदै

आइतबार, चैत ६ २०७८
अर्थमन्त्रीको सेयरमैत्री भाषणले समेत बढेन बजार, दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत खुम्चिँदै

आइतबार नेप्से १४.६७ अंकले घटेर २६ सय १६.५८ बिन्दुमा पुगेर रोकिएको हो।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमैत्री भाषण दिँदै हिँडे पनि साताको पहिलो दिन नै बजार दोहोरो अंकले घटेको छ। अर्थमन्त्री शर्माले ब्याजदर घटाउने भाषणदेखि सेयर बजारमा हुने प्राविधिक समस्या समाधान गर्न निर्देशन दिँदै सेयरले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने भन्दै भाषण गरेका थिए।

तर अर्थमन्त्री शर्माको भाषणलाई सेयर बजारमा लगानीकर्ताले पत्याउन सकेका छैनन्। चुनाव नजिकिँदै जाँदा अर्थमन्त्री शर्माले सेयर लागानीकर्ताको मनोविज्ञान बुझेर सेयर बजारमैत्री भएको सन्देश दिने कोशिस भने जारी राखेका छन्। 

आइतबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत सुस्ताएको छ। आइतबार नेप्से १४.६७ अंकले घटेर २६ सय १६.५८ बिन्दुमा पुगेर रोकिएको हो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ कराेड रुपैयाँ कारोबार भएको थियो। 

गत साता कारोबारको पहिलो दिन आइतबार भने सेयर बजारमा १०१ अंकको वृद्धि आएको थियो। तर गएको साता पनि अन्य दिनहरू भने सेयर बजारका लागि सुखद हुन सकेन। गएको सोमबार प्राविधिक समस्याले कारोबारको केहीबेरमै रोकिएको सेयर बजारमा मंगलबार र बुधबार भने गिरावट आएको थियो। अर्थमन्त्री शर्माले सोमबारको जस्तो समस्या अब आउन नदिन पहल गर्न नेप्सेलाई मंगलबार नै निर्देशन दिएका थिए। 

गत साताको मंगलबार १७.१५ अंकले गिरावट आएको बजारमा बुधबार पनि १९.६५ अंकको गिरावट आएको थियो। 

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहँदा पनि सेयर बजार भने बढ्न सकेको छैन। बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहेको छ। लगातार निक्षेप घटिरहेको भए पनि फागुनमा २२ अर्बले निक्षेप बढेको थियो। सेयर बजारले साथ पाउने अवस्था रहेको विश्लेषण भइरहे पनि बजारमा अपेक्षाकृत वृद्धिको अवस्था आइरहेको छैन।  


प्रकाशित : आइतबार, चैत ६ २०७८०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend