बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीबीफीनसँग सहकार्य गर्न एडीबी इच्छुक 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
सीबीफीनसँग सहकार्य गर्न एडीबी इच्छुक 

नेपालका लागि आगामी दिनमा पूर्वाधार लगानी संयन्त्र, लघुउद्यमशीलता विकास परियोजनामा लगानी आवश्यक रहेको उनको भनाइ थियो। 

काठमाडौं- नेपालका बैंक तथा वित्तीय संस्थाहरूको प्रतिनिधिमूलक संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँग सहकार्य गरेर अघि बढ्न नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंकको उच्चस्तरीय प्रतिनिधि मण्डलले इच्छा व्यक्त गरेको छ। 

वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र  लजिस्टिक पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने  एडीबीका उच्च अधिकारीहरुले  इच्छा व्यक्त गरेका छन्। 

आज काठमाडौंमा सीबीफीनले आयोजना गरेको कार्यक्रममा दक्षिण एसिया मामिला हेर्ने एडीबीका उपमहानिर्देशक मनमोहन प्रकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर ऋण, विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दीगो बनाउनुपर्नेमा जोड दिएका थिए। 

नेपालका लागि आगामी दिनमा पूर्वाधार लगानी संयन्त्र, लघुउद्यमशीलता विकास परियोजनामा लगानी आवश्यक रहेको उनको भनाइ थियो। 

'साना तथा मझौला व्यवसायीहरूलाई विना धितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन्,  एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने  हुनाले यी उद्योगहरूलाई वित्तीय पहुच, बजार र पूर्वाधारसँगै सीपसहित सहयोग गरिनुपर्छ' उनले भने। 

कार्यक्रममा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेका थिए। 

अहिलेको तरलताको समस्या पनि समाधान हुने र  बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने क्षमताको विकास गर्न यस्तो ऋण सुविधा आवश्यक भएको उनको भनाइ थियो। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८१३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend