आइतबार, असोज ६ गते २०८१    
images
images

विश्वसम्पदा स्थल : कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३ २०७८
images
images
विश्वसम्पदा स्थल : कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

विश्व सम्पदा स्थलमा गरिने मापदण्ड विपरीतका यस्ता गतिविधिले पटपटक खतराको सूचीमा राख्ने चेतावनी सहितको पत्र आउने गरेको छ।

images
images

काठमाडौं- सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा  विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ। विशेष गरी काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा  खतराको जोखिम बढेको हो।

images
images
images

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत संरचना बनाउँदा पटकपटक पत्राचार गर्ने गरेको छ। यसै साता काठमाडौं महानगरपालिकाले यस्ता सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको नौतले दरबारअघि राष्ट्रिय झण्डा राख्न भन्दै कङ्क्रिट संरचना बनाउन सुरु गर्‍यो।

महानगरपालिकाले राति राति खाल्डो खनेर संरचना बनाउन थालेपनि के गर्न लागेको भन्ने स्थानीयवासीलाई पत्तै पाएनन्। स्थानीयवासी हरिबहादुर शाही सम्पदास्थलको अस्तित्व नै मेटाउने गरी स्थानीय सरकारले रातारात संरचना बनाउने काम नै गलत भएको बताउँछन्। महानगरपालिकाले अपारदर्शी रुपमा आठ  राष्ट्रिय झण्डा राख्न नौतले दरबारअघिको वसन्तपुर डबलीमा खाल्डो खनेर सिमेन्ट संरचना बनाउन थालेपछि पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो। महानगरपालिकाले विभागको पत्राचार वेवास्ता गर्दै कामलाई निरन्तरता दियो।

महानगरपालिकाले विश्व सम्पदा स्थल मास्न लागेको देखेपछि सम्पदा बचाउ अभियानकर्मीले आपत्ति समेत जनाए। सम्पदा अभियानकर्मी गणपतिलाल श्रेष्ठ निर्माण स्थलमा सूचनापाटीसमेत नराखी काम गरेकाले मेलम्चीको पाइप बिच्छ्याउन लागिएको वा विद्युत्को तार भूमिगत गर्न तार बिच्छ्याउने खाल्डो पो खनेको हो कि भन्ने भ्रमसमेत परेको बताउँछन्। महानगरपालिकाले स्थानीयवासीलाई जानकारीसमेत नदिई रातारात संरचना ठड्याउन खोजेपछि अभियानकर्मी महानगरपालिकाकै अनुगमन समिति गुहार्न बाध्य भए।

images

गत मङ्गलबार महानगरपालिकाको अनुगमन समितिले वसन्तपुर दरबार क्षेत्रको अनुगमन गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत निर्माण भएको फलामको संरचना हटाउन निर्देशन दियो। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ संयोजकत्वको अनुगमनमा हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीलगायत सम्पदा बचाउ अभियानका सदस्यको पनि उपस्थिति थियो। समितिले सम्पदा स्थलको पहिचान मेटाउने गरी निर्माण भएको संरचना भत्काउनृुपर्ने निष्कर्ष निकालेको थियो।

अनुगमनलगत्तै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा सरोकार भएका निकायको बैठक बस्यो। बैठकले तत्कालै विश्व सम्पदा स्थलको मापदण्ड विपरीत बनेको संरचना हटाउने निर्णय गरेपछि यही चैत १ गते मङ्गलबार बेलुकी महानगरीय प्रहरी वृत्त जनसेवालगायत सरोकार भएका निकायले फलामको संरचना हटाए। खाल्डो खनेर निर्माण भएको सिमेन्टको संरचना भने अझै वसन्तपुर दरबार क्षेत्रमा यथावत् छ।

स्थानीय तह सञ्चालन ऐन २०७४ मा आफ्नो क्षेत्रभित्रका सम्पदा स्थलको संरक्षण र संवद्र्धन गर्ने दायित्व स्थानीय सरकारलाई दिएको छ। सम्पदा स्थलको संरक्षणमा धेरै स्थानीय सरकारले ध्यान दिएका छैनन्। विश्व सम्पदा सूचीमा सूचिकृत स्थलमा व्यक्तिगत घर बनाउँदा पनि विभागलगायत सरोकार भएका निकायको स्वीकृति लिनुपर्छ। विश्व सम्पदा सूचीमा सूचिकृत स्थलमा व्यक्तिले पनि ३५ फिटभन्दा अग्ला संरचना बनाउन नपाउने व्यवस्था रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

'विश्व सम्पदा सूचीमा सूचिकृत स्थलमा निजी घर बनाउन चाहनेले स्थानीय सरकारमार्फत् विभागलाई निवेदन दिनुपर्छ, यस्तो निवेदनमाथि छलफल गरेर निर्णय गर्न सम्बन्धित स्थानीय सरकार, विभाग, गुठी संस्थान, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रतिनिधि सदस्य रहेको समितिले निर्णय गरेर व्यक्तिगत घर निर्माणको स्वीकृति दिने व्यवस्था छ' उनले भने।

निजी घर बनाउन अपनाउनुपर्ने यो प्रक्रिया महानगरपालिकाले वसन्तपुरमा सार्वजनिक संरचना निर्माण गर्दा समेत अपनाएन। महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र हेर्ने आफ्नै निकाय हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमलाई समेत यस विषयमा जानकारी गराएन। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनाल विश्व सम्पदाको मापदण्ड अनुसार राष्ट्रिय झण्डा राख्न खोजेको भए नौतले दरबारअघिको वसन्तपुर डबलीभन्दा उपयुक्त स्थान अन्यत्र रहेको बताउँछन्।

महानगरपालिकाले सरोकार भएका निकायकाबीच छलफल गराएको भए विश्व सम्पदा स्थलमा यस्तो समस्या आउने थिएन। यसअघि पशुपति क्षेत्रमा विश्व सम्पदाको मापदण्ड विपरीत तिलगङ्गाबाट गुह्येश्वरी निस्कने सडक बनाएपछि लामो समय विवाद भएको थियो। पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीलगायत सुरक्षा निकायको सहयोग लिएर सडक बन्द गराएको थियो।

युनेस्कोले आपत्ति जनाउँदै विभाग, पशुपति क्षेत्र विकास कोषलगायत निकायलाई पत्राचार गरेको थियो। विश्व सम्पदा स्थलमा गरिने मापदण्ड विपरीतका यस्ता गतिविधिले पटपटक खतराको सूचीमा राख्ने चेतावनी सहितको पत्र आउने गरेको छ। तर पनि सरोकार भएका निकायको यसमा ध्यान जान सकेको छैन।

काठमाडौं उपत्यकामा वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, बौद्ध, पशुपति र स्वयम्भू क्षेत्र विश्व सम्पदास्थलका रुपमा सूचिकृत छ। रासस


प्रकाशित : बिहीबार , चैत ३ २०७८०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend