शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

यात्रीले नेपालमै डिजाइन र उत्पादन गरेको विद्युतीय स्कुटर ‘रोड टेस्टिङ’मा, बैशाखसम्म बजारमा आउने

गजुरीमा म्यानुफ्याक्चरिङ प्लान्ट

आइतबार, पुस २० २०८२
यात्रीले नेपालमै डिजाइन र उत्पादन गरेको विद्युतीय स्कुटर ‘रोड टेस्टिङ’मा, बैशाखसम्म बजारमा आउने

२०८३ बैशाखसम्ममा नेपालमै बनेको विद्युतीय स्कुटर बजारमा ल्याउने योजना छ।

काठमाडौं- नेपालमै डिजाइन भएर प्रोटोटाइप तयार पारिएको यात्रीको विद्युतीय स्कुटर धमाधम रोड टेस्टिङ भइरहेको छ। यात्रीले प्रोटोटाइप तयार पारेर बनाएको विद्युतीय स्कुटर देशका विभिन्न भागमा लगेर परीक्षण भइरहेको हो। 

यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो। त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको थियो। 

डेढ वर्षअघि स्टार्टप कम्पनी यात्रीसँगको सहकार्यमा सिप्रदीले नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने घोषणा गरेको थियो। त्यसका लागि दुई कम्पनीबीच वृहत छलफल तथा सहकार्यको सम्झौता भएको थियो। सोहीअनुसार यात्रीले मोटरसाइकलका साथै विद्युतीय स्कुटरको डिजाइन सुरु गरेको थियो। 

यो अवधिमा यात्रीले विद्युतीय स्कुटरको डिजाइन, प्रोटोटाइप तयार पारेर स्कुटर उत्पादन गरी टेस्टिङ थालेको हो। एउटै विद्युतीय स्कुटर ५० हजार किलोमिटर गुडाएर परीक्षण गरेपछि त्यसको रिपोर्टका आधारमा मास उत्पादनमा जाने योजना रहेको यात्रीले जनाएको छ। 

डिजाइन क्लियर भएपछि हामीले बनाएको विद्युतीय स्कुटर परीक्षण गर्ने काम सुरु भएको यात्री मोटरसाइकलका संस्थापक तथा सीईओ अशिम पाण्डेले बताए।

‘ड्युरेबिलिटी टेस्टिङ भइरहेको हो। हामी एउटै स्कुटर ५० हजार किलोमिटर तराईदेखि पहाडी बाटोसम्म परीक्षण गर्दै छौँ,’ उनले भने, ‘परीक्षण सकिएपछि हामी मास उत्पादनमा जानेगरी काम गरिरहेका छौँ।’ २०८३ बैशाखसम्ममा नेपालमै बनेको विद्युतीय स्कुटर बजारमा ल्याउने योजना रहेको पाण्डेले बताए। 

यात्रीले विद्युतीय स्कुटर परीक्षण थालेसँगै उत्पादन प्लान्टको डिजाइन सकेर निर्माण पक्रिया थालिएको जनाएको छ। यात्रीको मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्ट धादिङको गजुरीमा बन्न लागेको हो।  

२०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसारइकल सार्वजनिक भएको थियो। डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको थियो। त्यहीबीचमा यात्रीले सिप्रदीसँग सहकार्यको घोषणा गरेको थियो। 

नेपाली स्टार्टप कम्पनी यात्रीले गरेको डिजाइन र उत्पादन अब्बल भएको र उक्त ब्रान्डलाई प्रवर्द्धन गरेर नेपालमै विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्न सिप्रदी अग्रसर भएको थियो। यात्री मोटरसाइकल सन् २०१७ मा स्थापना भएको थियो। कम्पनीले नेपालमै डिजाइन भएर बनेको यात्रीको पहिलो मोटरसाइकल प्रोजेक्ट वान सार्वजनिक गरेको थियो। 

सिद्धार्थ राणाको कम्पनी सिप्रदीले स्वदेशी स्टार्टप यात्री मोटरसाइकलसँगको सहकार्यमा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सहमत भएको थियो। योसँगै नेपाली युवा इन्जिनियरहरुको धिमा बनेको योजनाले तीव्रता पाएको थियो। 

परिणामस्वरुप अहिले नेपालमै बनेको विद्युतीय स्कुटर परीक्षणको अवस्थामा आइसकेको छ। यात्रीले बनाएका विद्युतीय मोटरसाइकल विश्वस्तरीय रुपमा प्रतिस्पर्धा गर्ने सक्ने खालको छ। यो मोटरसाइकलमा सिप्रदीले लगानी गरेर प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने हो भने ठूलो संख्यामा बिक्री अनुमान गरिएको छ। बजारको अवस्था र उपभोक्ताको मागअनुसार सुरुमा यात्रीले विद्युतीय स्कुटर बजारमा लाउन लागेको हो। 

नेपालमै बनेको विद्युतीय स्कुटर भूगोल र आवश्यकताअनुसार बनाइएको यात्रीले जनाएको छ। यो विद्युतीय स्कुटर अब प्रतिस्पर्धी मूल्यमा आउने कुराले यसको बजार निर्धारण गर्नेछ। 

सिप्रदी ट्रेडिङले हाल टाटा मोटर्सका सवारीसाधन आयात गरेर बिक्री गर्दै आएको छ। त्यस्तै सिप्रदीले स्पेयर पार्ट्स, लुब्रिकेन्ट, एस्योर्डलगायतको व्यापार गर्दै आएको छ। 

दुईपांग्रे व्यापारमा सिप्रदीको प्रवेश : यात्रीसँगको सहकार्यमा नेपालमै विद्युतीय स्कुटर र मोटरसाइकल उत्पादन गर्ने

यात्री मोटरसाइकलबारे

६ जना इन्जिनियरसहितको टोलीले २०१७ बाट काम सुरु गरेर दुईवर्षमा यात्री मोटरसाइकलले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल उत्पादन गरेको थियो। ‘यात्री मोटरसाइकल्स’का संस्थापक तथा सीईओ असिम पाण्डेले यात्री प्रोजेक्ट वानको चेसिस डिजाइन गरेका हुन्।

त्यस्तै उनीहरूको समूहमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर, मेकानिकल इन्जिनियर अशेष श्रेष्ठ, इम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन, ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा एप्लिकेसन डेभलपर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठलगायतको टिम मिलेर कम्पनी स्थापना गरी मोटरसाइकल डिजाइन तथा उत्पादन भएको थियो। अहिले सुरुवाती टिमका सबै सदस्य भने यात्रीमा छैनन्। 

स्टार्टप कम्पनी भएपनि यात्री मोटरसाइकलसँग आफ्नै अनुसन्धान र विकास (आरएन्डडी) को काम गर्ने टिम बनेको थियो। स्पेयर पार्ट्सको डिजाइन पनि नेपालमै तयार पारिएको हो। स्पेयर पार्ट्स निर्माणका लागि अमेरिका, चीन, भारत र युरोपेली मुलुकका कम्पनीसँग यात्रीले सहकार्य गरेको थियो। 

कार्बन फाइबर प्रयोग गरिएको मोटरसाइकल सुरक्षाको दृष्टिकोणले पनि बलियो मात्रै होइन आकर्षक र हलुकासमेत बनेको थियो। डिजाइन र भिजनमा अब्बल रहेको यात्री उत्पादन विस्तारमा भने चुकेको थियो। सिप्रदीसँगको सहकार्यमा अब यात्रीको भिजन मुर्त हुँदैछ। 

यात्रीको नयाँ यात्रामा देखिएको उज्यालो गन्तव्य


प्रकाशित : आइतबार, पुस २० २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend