आइतबार, पुस ७ गते २०८१    
images
images

यात्रीको नयाँ यात्रामा देखिएको उज्यालो गन्तव्य

सिप्रदीको साथले दुईपांग्रे विद्युतीय सवारीको बजारमा बन्न सक्छ मानक

images
आइतबार, पुस ७ २०८१
images
images
यात्रीको नयाँ यात्रामा देखिएको उज्यालो गन्तव्य

'नेपालको माया र भावनामा टेकेर उत्पादन ल्याउनुभन्दा पनि आफूहरूको उत्पादन नै सबै कुरामा राम्रो होस् र प्रतिस्पर्धामा नै बजारमा बढ्न सकोस् भन्नेमा ध्यान दिएका छौँ। हाम्रो उत्पादन नै हाम्रो छवि बनोस् भन्ने चाहन्छौँ। त्यसरी नै काम गरिरहेका छौँ।’

images
images

काठमाडौं- सपना र योजनाअनुसार परिश्रम गरिरहेको ‘यात्री’ले अब नयाँ यात्रा गर्दै छ। युवा उत्साह र मेहनतको गतिबीच यात्रीको तीव्र दौडमा देखिएको विश्राम अहिलेका लागि मध्यान्तरमात्र हो। नेपालमा दुईपांग्रे विद्युतीय सवारीको मानचित्रमा मानक बन्न सक्नेगरी यात्रीले नयाँ यात्राको रूपरेखा तयार पारिसकेको छ।

images
images
images

सिप्रदी जोडिने पक्का भएसँगै पूर्वनिश्चित खाकासहित अघि बढिरहेको यात्रीको यात्रामा क्षितिजमा देखिएको उचाइ समीप हुन थालेको छ। उचाइको यात्रा सिद्ध गर्न आवश्यक साधनको परिपूर्णताले नेपाली दुईपांग्रे सवारीको बजारमा यात्रीले नयाँ उज्यालो गन्तव्य भेट्ने देखिन्छ।

images

यात्रीको अनेक उतारचढावको स्तम्भचित्रमा अब भने निश्चित योजनासहितको नयाँ परिकल्पनाले सपना पूरा हुने बाटो देखाएको छ। जसमा नेपालले नै ‘हाम्रो आफ्नै उत्पादन’ भन्ने सगर्व गहकिलो प्रतिष्ठा आर्जन गर्न सक्ने छ।  

images

पहिलोपटक सार्वजनिक हुँदा नै यात्रीले नेपाली बजारमा धेरैको ध्यान खिचेको हो। नेपाली इन्जनियरको दक्षता देखिएको यात्रीले प्रिमियम विद्युतीय दुईपांग्रेमा क्षमता भने त्यतिबेलै देखायो। तर चर्चाअनुरुपको यात्रा भने हुन सकेन।  

सन् २०१८ को जुन महिनामा सातजनाको समूहले 'यात्री मोटरसाइकल्स' कम्पनी दर्ता गरेर नै काम सुरु गरेको हो। जसमा यात्रीको पहिलो ‘प्रोजेक्ट जीरो’ २०७६ साल पुसमा सार्वजनिक गरियो। त्यसपछि आयो 'प्रोजेक्ट वान', जुन प्रयोगकर्तासम्म पुग्यो।

नेदरल्याण्ड्सको ‘डेलफ्ट युनिभर्सिटी अफ टेक्नोलोजी’ (टीयू डेलफ्ट) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि सुपर कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ लगायतमा दुईवर्ष काम गरेर नेपाल फर्किएका हुन् अशिम पाण्डे। यात्रीका संस्थापक पाण्डेले ‘प्रोजेक्ट जिरो’को योजना र निर्माणदेखि अहिलेसम्म नै यात्रीलाई हाँकिरहेका छन्। 

ashim pande (1).jpg
अशिम पाण्डे।

‘बाल्यकालदेखि नै इन्जिनियरिङ र प्रोडक्ट डिजाइनमा लगाव भएको भएर हाइस्कूलपछाडि इन्जिनियरिङ नै गर्ने सोच भयो। त्यो सँगसँगै नेदरल्याण्ड्समा पढाइपछि काम पनि गरेँ। त्यहाँ जेजति देखेँ/सिकेँ त्यो कुराहरू नेपालमा आएर पनि गर्न सकिन्छ कि भन्ने लाग्यो। सन् २०१७ मा फर्किएर यात्रीको यात्रा सुरु भयो’ पाण्डेले सुरुवाती दिन सुनाए। 

सन् २०१७ मा नेपालको परिवेश र अवस्था विद्युतीय सवारीका लागि सहज नभएको पाण्डे सुनाउँछन्। त्यसैले उनको समूहले पहिलो काम नेपालको पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा विद्युतीय सवारीलाई लिएर रहेका धारणा र अवस्थाका बारेमा बुझ्ने काम गर्‍यो। उनीहरूले नेपालको बजार नयाँ राम्रो कुरा स्वीकार गर्न खुला रहेको पाए। 

त्यही बेला नै विद्युतीय सवारीमा फड्को मार्न धेरैले उत्सुकता देखाएको पाण्डे सम्झन्छन्। ‘त्यहीअन्तर्गत नै हामीले दुईपांग्रेमा चिनियाँ विद्युतीय सवारीसाधन मात्र देखिरहेको नेपाली बजारलाई कसरी सिफ्ट गर्ने भन्ने सोच्यौँ। नेपाली उत्पादन नै दमदार रुपमा बजारमा ल्याउने तयारीमा लाग्यौँ। हाम्रो कामले नेपालमा दुईपांग्रे ईभीमा एउटा नयाँ पाइला अघि बढाओस् भन्ने सोचेका थियौँ’ उनले भने। 

हुन पनि दुईपांग्रे विद्युतीय सवारीका लागि नेपाली बजारमा देखिएको खाली ठाउँ पूरा गर्न यात्रीले मेहनत भने गरेको हो। ‘रिसर्च प्ल्याटफर्म’ कै लागि प्रेरणादायक प्रोजेक्टका रुपमा यात्रीले ‘पी जेरो’ मा सफल काम देखायो। सन् २०१८ को सुरुदेखि २०१९ सम्म दुई वर्ष नै यात्रीले रिसर्चमा मेहनतपूर्वक काम गरेको थियो।

project zero yatri.jpg
यात्री प्रोजेक्ट जेरो। तस्बिर : यात्री।

त्यही अनुसन्धान र प्रयोगबाट सिकेर नै यात्रीले प्रयोगकर्ताका लागि ‘पी वान’ बजारमा ल्याएको थियो। ‘पी वान’को ‘जेन वान’ प्रयोगकर्ताको नजरमा राम्रैसँग परेको हो। विभिन्न अप्ठ्यारा र चुनौतीबीच नेपालमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी दर्ताको बाटो खुलेसँगै २०८० जेठमा विद्युतीय ‘यात्री´ मोटरसाइकलको `पी वान´ यातायात व्यवस्था कार्यालयमा दर्ता भयो। दर्ता भएसँगै 'पी वान' पूर्णरूपमा नेपालमा उत्पादन भएको सवारीसाधन बन्यो र नम्बर प्लेटसहित सडकमा गुड्न थाल्यो।

‘कोभिडको समयमा पनि हामीले अवसरकै रुपमा लिएर अझ त्यसलाई परिस्कृत गर्ने कामहरू गर्‍यौँ। नेपालको भूगोल सुहाउँदो उत्पादन होस् भन्नेमा हामीले निकै कामहरु गर्‍यौँ। विभिन्न टेस्टहरू पनि गर्‍यौँ। अहिले बजारमा जस्तो उत्साह देखिएको छ यसले हामीलाई थप हौसला दिएको छ। पी वानको जेन टू मा पनि काम गरिरहेका छौँ’ पाण्डेले भने।  

यात्रीका लागि आफूहरूले पहिलो दिनदेखि नै स्पष्ट धारणा बनाएर अघि बढिरहेको पाण्डे सुनाउँछन्। ‘मोटरसाइकल उत्पादकमात्र होइन पूरै इकोसिस्टम नै समेट्ने गरी अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणाअनुसार नै काम गर्दै अघि बढेका हौँ। किनकि यसका लागि नेटवर्क चार्जिङ स्टेसन, डिजिटल सर्भिसलगायतका कुरा निकै महत्वपूर्ण हुन्छ। प्रयोगकर्ताहरूको धारणा बुझेर कसरी के सुधार गर्नुपर्छ भन्नेमा ध्यान दियौँ’ उनले भने। 

आफूहरूले राखेको लक्ष्यमा विभिन्न नीतिगत अड्चनहरू आइदिँदा समस्या परिरहेको उनी बताउँछन्। चार्जिङ स्टेसनको वृहत नेटवर्क बनाउने कुरामा पनि सोचेजस्तो अघि बढ्न सकिएन जस्तो लाग्छ उनलाई। 

yatri (1).jpg
यात्री।

‘अब यात्रीमा अर्को चरण भनेको नै धेरैले प्रयोग गर्न सक्ने भेहिकल बनाएर ठूलो मासमा जानु नै हो। ६/७ वर्षको अनुसन्धान र प्रयोगबाट हामीले जेजसो सिकेका छौँ, जसरी टिम खडा गरेका छौँ त्यसअनुसार थप परिष्कृत गर्दै अझ सुधार गरेर अघि बढ्दै छौँ। इकोनोमिकल हिसाबमा पनि सहज हुनेगरी उत्पादन ल्याउन सकिन्छ भन्नेमा विचार गरेर कामहरू गरिरहेका छौँ’ पाण्डेले भने। 

नेपालको भूगोललाई सुहाउँदो उत्पादन सुपथ मूल्यमा ल्याएर धेरैभन्दा धेरै प्रयोगकर्तामा पुग्नका लागि भनेर नै यात्री र सिप्रदीबीच सहकार्यको सम्झौता पनि भएको छ। सिप्रदी ट्रेडिङ प्रालि दुईपांग्रे विद्युतीय सवारीको बजारमा प्रवेश गर्नु आफैमा रोचक विषय हो। त्‍यसमा पनि नेपाली उत्पादन यात्रीसँगकै सहकार्यले नयाँ मानक बनाउने नै देखिन्छ। 

‘यत्रो वर्षदेखि जुन अनुसन्धान र कामहरू भएको छ यसलाई अझ धेरै व्यक्तिसम्म लैजान सकियोस् भन्नका लागि अब नयाँ साझेदारीले सहयोग गर्ने छ। अब डेभलपमेन्ट र नेटवर्कमा झनै राम्ररी कामहरू हुनेछ’ पाण्डेले उत्साहित हुँदै सुनाए। 

जसरी नेपालमा ‘ईभी ल्यान्डस्केप’मा चारपांग्रेमा नयाँ आयाम नै देखिएको छ त्यसरी दुईपांग्रेमा देखिन सकेको छैन। नेपालको चुनौतीपूर्ण भूगोल नै त्यसमा कारण भएको यस क्षेत्रका धेरैको बुझाइ छ। अब नेपालको अवस्थालाई बुझेर भूगोल सुहाउँदो उत्पादनमार्फत बजारमा बलियो उपस्थिति देखाउने विषयमा पाण्डेसँगै एकमत छन् सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ।   

yatri project one.jpg
यात्री प्रोजेक्ट वान। तस्बिर : यात्री।

‘हामीले यात्रीसँग मिलेर नेपाली ग्राहकको लागि चाहिने र यहाँको भूगोल सुहाउँदो उत्पादन निकाल्न सक्छौँ भन्ने लाग्छ। यसैले सहकार्य गरेर अघि बढ्ने सम्झौता गर्‍यौँ’ श्रेष्ठ भन्छन्, ‘नेपाली भएपछि नेपाली उत्पादनमा गर्व महसुस पनि हुन्छ। मेड इन नेपाल प्रडक्ट बनाउन सक्दा देशका लागि पनि योगदान हुन्छ भन्ने हाम्रो सोच हो।'  

दुईपांग्रेमा विशेषगरी स्कुटर प्रोजेक्टका लागि सिप्रदीसँग जुनखाले सहकार्यको सहमति भएको छ यो गएको दुई वर्षदेखि निरन्तर भएका छलफलको परिणाम भएको पाण्डे बताउँछन्।

‘एकअर्कोको बलियो पक्षलाई लिएर हामी अघि बढ्ने छौँ। लगानी र बजारका लागि सिप्रदीको काम महत्वपूर्ण हुन्छ भने अनुसन्धान, विकास र उत्पादनका लागि यात्रीको काम महत्वपूर्ण हुनेछ। सिप्रदीको सेल्स नेटवर्क र जुन च्यानल छ त्यसको प्रयोगले हाम्रो उत्पादन नयाँ उचाइमा पुग्ने छ’ उनले भने। 

अबको पाँच वर्षपछाडि यात्री कहाँ हुन्छ भनेर हेर्नुपर्दा दुईपांग्रेमा पनि ईभीमा आकर्षण बढ्ने नै देखिएको पाण्डेले सुनाए। ‘जसरी चारपांग्रेमा मानिसहरूको आकर्षण देखिएको छ त्यो दुईपांग्रेमा पनि देखिँदै जाने छ। त्यसमा हामी लोकल पायोनियर भएर नै अघि बढ्ने देखिरहेका छौँ’ उनले भने। 

yatri (2).jpg
यात्री।

नेपालको माया र भावनामा टेकेर उत्पादन ल्याउनुभन्दा पनि आफूहरूको उत्पादन नै सबै कुरामा राम्रो होस् र प्रतिस्पर्धामा नै बजारमा बढ्न सकोस् भन्नेमा ध्यान दिएको उनी बताउँछन्। ‘हाम्रो उत्पादन नै हाम्रो छवि बनोस् भन्ने चाहन्छौँ। त्यसरी नै काम गरिरहेका छौँ’ उनले भने। 

विभिन्न समयमा फरक खाले अप्ठ्यारा र चुनौतीहरु भोग्दै आएको यात्रीका लागि अब भने नेपाली बजारमा स्पष्ट ठाउँ बनाउने मौका आएको छ। ‘पछाडि फर्केर हेर्दा हामीले सोचेकोभन्दा धेरै गाह्रो भएको नै हो। हामी जस्तै धेरैको कथा पनि त्यस्तै नै हुन्छ होला। सुरुवातमा नै सबै चुनौती र अप्ठ्याराहरू थाहा हुने हो भने त धेरैको योजनाहरू अघि पनि बढ्दैन थियो होला’ पाण्डेले विगत सम्झिँदै भने।

‘केही गर्छु भन्नेका लागि जुन एउटा सपोर्ट सिस्टम हुनुपर्ने हो त्यो चाहिँ नेपालमा मुस्किल नै देखियो। धेरै देशमा नयाँ उत्पादनमा बढ्न चाहने उद्योगका लागि सरकारले विभिन्न सहजीकरण गरिदिन्छ तर हाम्रोमा त्यस्तो पाइँदैन। नीतिगत अप्ठ्याराहरू पनि भिन्नै खालका छन्। त्यसले थप चुनौतीहरू पनि हुने महसुस गर्‍यौँ’ उनले भने। 

ashim pande (2).jpg
अशिम पाण्डे।

जति पनि दु:ख, चुनौती र अप्ठ्याराहरू छन् त्यसलाई राम्रो उत्पादन ल्याएर नै पन्छाउन सकिन्छ र त्यसबाट नै खुसी मिल्छ भन्ने उनलाई लाग्छ। हुन त कुनै समयमा उनलाई गरिरहेको सबै काम छाडिदिउँ जस्तो नलागेको पनि होइन। अप्ठ्यारा दिनमा आफैले आफैलाई धेरै प्रश्नहरू पनि गरे। 

आर्थिक रुपमा होस्, मोटरसाइकल विकासमा देखिएका चुनौतीहरू होस् या कानूनी अडचनहरू होस् यात्री अघि बढिहरँदा विभिन्न समस्याहरू आइरहेका थिए। ‘आउँदो महिना सबैलाई तलब कहाँबाट जुटाउने भन्ने अप्ठ्याराहरू पनि आएकै हुन्। ठूलो उत्पादनमा बढ्नुपर्ने समय आइसक्दा टिमलाई कसरी म्यानेज गर्ने भन्ने समस्या आइदिँदा अप्ठ्यारो त हुन्छ नै’ पाण्डेले सुनाए। 

विभिन्न चुनौती पार गर्दै अघि बढिरहेको यात्रीले अब बलियो साझेदार पाएसँगै सफल हुने बाटो देखाएको छ। यात्रीले अहिले पनि धेरै कुराहरू सिक्दै सुधार गर्दै अघि बढिरहेको छ। अझै सुधार गर्दै नै बढ्नुपर्छ भन्नेमा स्पष्ट छ। जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्नका लागि निरन्तर मेहनत गरिरहेकै देखिन्छ।  

yatri (3).jpg
यात्री डिजाइन स्टुडियो।

‘हाम्रो टिम वर्क र कामका लागि त म १० मा १० नै अंक दिन्छु। जुन अनुसन्‍धान र योजनाबाट उत्पादन ल्याएका छौँ त्यसलाई म १० मा ८ अंक दिन्छु। अब जेन टूमा त धेरै कुरालाई सुधार गर्दै पनि गइरहेका छौँ’ पाण्डेले भने। 

आफूहरूको सुरुदेखिकै उद्देश्य आफ्नो उत्पादन नेपालभन्दा बाहिर लैजाने पनि रहेको पाण्डे बताउँछन्। सिप्रदीसँगको साथले अब त्यो योजना र सपना नजिक देखिन थालेको छ। ‘पी वान नेपालको सन्दर्भमा हेर्दा प्रिमियम प्रडक्ट जस्तो भए पनि बाहिरका लागि त्यही खालका सवारी धेरै महँगा देखिएका छन्। हामी पी वानलाई आउने वर्ष विदेश निर्यात गरेको देख्न सक्छौँ जस्तो लाग्छ’ उनले भने। 

भिडियोमा हेर्नुहोस् यात्रीको यात्रा र आगामी गन्तव्य

 

कसरी जोडियो सिप्रदी? दुईपांग्रे विद्युतीय सवारीमा बन्ला मानक?

rajan babu shrestha.jpg
राजनबाबु श्रेष्ठ।

यसो भन्छन् सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ -   

सिप्रदीले सधैँ नै अटोमोबाइलमा सबै क्षेत्र कभर गर्नुपर्छ भन्ने सोच राखेर नै काम गरिरहेको हो। त्यसमा हामीसँग कमर्सियल भेहिकल र प्यासेन्जर भेहिकल सबै छ, दुईपांग्रेमा हामीसँग ग्याप भइरहेको थियो। त्यही भएर हामीले दुईपांग्रेमा पनि अघि बढनुपर्छ भन्ने योजनामा काम गर्‍यौँ। धेरै पहिलादेखि नै त्यो सोचमा काम गरिरहेका थियौँ। 

सुरुमा हामीले पनि दुईपांग्रे सवारी आयात गरेर नै बेच्ने सोचेका थियौँ, त्यसमा हामीले विभिन्न उत्पादन हेर्‍यौँ पनि। हाम्रो सोच दुईपांग्रेमा पनि पेट्रोलियम सवारीमा भन्दा पनि विद्युतीय सवारीमा नै जानुपर्छ भन्ने भयो। वातावरणमा हुने प्रभावका कुरा पनि जोडिन्छ। सरकारले पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायुको प्रभाव कम गर्ने विषयमा सहमतिहरू गरेको छ। त्यसमा पनि हामीले कसरी योगदान गर्न सक्छौँ भन्ने सोच्यौँ। त्यसमा विद्युतीय सवारीतर्फ जाने कुरा हामीले सिरियस्ली नै सोच्यौँ। 

आयात गरेर दुईपांग्रे सवारी बिक्री गर्ने कुरामा पनि विद्युतीय दुईपांग्रे सवारी नेपालको भूगोल सुहाउँदो भएको पाएनौँ। त्यसले गर्दा हाम्रो आवश्यकता नै फरक छ भन्ने लाग्यो। त्यो आवश्यकताअनुसार नेपालमा नै विकास गर्न सकिन्छ कि भन्ने सोच आइरहँदा यात्रीसँग कुरा भयो। हामीले यात्रीसँग मिलेर नेपाली ग्राहकको लागि चाहिने र यहाँको भूगोल सुहाउँदो उत्पादन निकाल्न सक्छौँ भन्ने लाग्यो। यसैले वाईडीएससँग सहकार्य गरेर अघि बढ्ने सम्झौता गर्‍यौँ।  

हामी नेपाली भएपछि नेपाली उत्पादनमा गर्व महसुस पनि हुन्छ। मेड इन नेपाल प्रडक्ट बनाउन सक्दा देशका लागि पनि योगदान हुन्छ भन्ने हाम्रो सोच हो। त्यसमा यो फिल्डमा रिसर्च गरेर प्रडक्ट ल्याइसकेको यात्रीको टिम राम्रो छ भन्ने हामीलाई लाग्यो। 

टाइमलाइनअनुसार सबै काम भयो भने २०२६ को सुरुवाततिर हामीले बजारमा विद्युतीय स्कुटर ल्याउन सक्छौँ भन्ने लाग्छ। प्रयोगकर्ताको रोजाइ पनि अहिले स्कुटरतर्फ नै देखिन्छ। त्यसैले पहिला हामी स्कुटर नै ल्याउँछौँ। टेक्नोलोजी र उत्पादन खर्चमा कसरी सकेसम्म कम गरेर उपभोक्तालाई सक्दो सहज मूल्यमा दिन सकिन्छ भनेर हामीले काम गरिरहेका छौँ।

विद्युतीय दुईपांग्रेमा आकर्षण अहिले कम देखिएको छ, त्यो आकर्षणलाई हामीले बढाउँदै लैजानु छ। मानिसहरूको कन्फिडेन्स बढाउँदै लैजानु पर्छ। त्यसमा हामीले सरकारको साथ सहयोग पनि आवश्यक पर्छ। सरकारले यसमा राम्रो नीति ल्याउने हो र राम्रो इको-सिस्टम बनाउन सकियो भने मानिसहरूको आकर्षण पनि बढ्दै जान्छ। 

विद्युतीय सवारी नेपाल देशका लागि पनि एकदमै राम्रो कुरा हो। बिजुली उत्पादन नेपालमा नै बढ्दै गइरहेको छ। त्यसले पनि विद्युतीय सवारीतिर आकर्षण बढाउँछ जस्तो लाग्छ। हाम्रो आफ्नै देशमा उत्पादन भएको ग्रिन इनर्जीका लागि पनि हाम्रो आफ्नै विद्युतीय सवारी हुँदा निकै राम्रो हुँदै जान्छ जस्तो लाग्छ। 

अब यात्रीसँग मिलेर पहिलो एक/दुई वर्षमा नै हामी मार्केट लिडर बनेर जाने योजनामा छौँ। सबैभन्दा ठूलो कुरा भनेको नै विश्वास हो। सिप्रदी र उपभोक्ताबीचको विश्वास अब आउने उत्पादनमा पनि देखिन्छ भन्ने लाग्छ। 

 
तस्बिर/भिडियो - तर्क थापा/बिजनेस न्युज


प्रकाशित : आइतबार, पुस ७ २०८११४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend