आइतबार, असोज २० गते २०८१    
images
images

दुईपांग्रे व्यापारमा सिप्रदीको प्रवेश : यात्रीसँगको सहकार्यमा नेपालमै विद्युतीय स्कुटर र मोटरसाइकल उत्पादन गर्ने

images
शुक्रबार, असार १४ २०८१
images
images
दुईपांग्रे व्यापारमा सिप्रदीको प्रवेश : यात्रीसँगको सहकार्यमा नेपालमै विद्युतीय स्कुटर र मोटरसाइकल उत्पादन गर्ने

कम्पनी नयाँ बन्यो भने पनि मोटरसाइकल तथा स्कुटर भने यात्री ब्रान्ड नेममै उत्पादन हुनेछ। हाल यात्रीले मोटरसाइकल बनाइरहेको छ। तर अब भने स्कुटरलाई पनि प्राथमिकता दिने अनुमान गरिएको छ।

images
images

काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालि पनि दुईपांग्रे व्यापारमा प्रवेश गर्ने भएको छ। स्टार्टप कम्पनी यात्रीसँगको सहकार्यमा सिप्रदीले नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भएको हो। 

images
images
images

२०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसारइकल सार्वजनिक भएको थियो। डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको छ। अपेक्षाकृत वृद्धि गर्न संघर्ष गरिरहेको यात्रीले अब भने बलियो स्वदेशी साझेदार पाउने भएको छ। 

नेपाली स्टार्टप कम्पनी यात्रीले गरेको डिजाइन र उत्पादन अब्बल भएको र उक्त ब्रान्डलाई प्रवर्द्धन गरेर नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्न सिप्रदी अग्रसर भएको हो। यात्री मोटरसाइकल सन् २०१७ मा स्थापना भएको थियो। कम्पनीले नेपालमै डिजाइन भएर बनेको यात्रीको पहिलो मोटरसाइकल प्रोजेक्ट वान सार्वजनिक गरेको थियो। 

images

सिप्रदी सिद्धार्थ राणाको कम्पनी हो। यो कम्पनीले स्वदेशी स्टार्टप यात्री मोटरसाइकलसँगको सहकार्यमा विद्युतीय मोटरसाइकल उत्पादन गर्नेगरी छलफल भएको यात्रीनिकट स्रोतले बतायो। ‘दुई पक्षबीच विभिन्न चरणमा छलफल भइरहेको छ। सिप्रदीले यात्रीका मोटरसाइकल उत्पादनमा सहयोग गर्नेगरी सहमतिउन्मुख रहेको छ,’ स्रोतले भन्यो, ‘कम्पनीको मोडालिटी, उत्पादन, लगानीलयागत विषय टुंगो लागेपछि सिप्रदी र यात्रीबीच सम्झौता हुनेछ।’ 

images

यात्री र सिप्रदीबीच हुन लागेको सम्झौताका बारेमा सिप्रदी ट्रेडिङमा जिज्ञासा राख्दा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेको छ। 

सिप्रदी ट्रेडिङले हाल टाटा मोटर्सका सवारीसाधन आयात गरेर बिक्री गर्दै आएको छ। त्यस्तै सिप्रदीले स्पेयर पार्टस, लुब्रिकेन्ट, एस्योर्डलगायतको व्यापार गर्दै आएको छ। 

करिब डेढ दशकअघि सिप्रदीले टाटा मोटर्सको सवारीसाधन नेपालमै एसेम्बल गर्ने योजना बनाएको थियो। विभिन्न चरणमा छलफल र प्रोजेक्ट विश्लेषणपछि तत्कालीन समयको विद्युत आपूर्ति, श्रमको समस्यालगायत कारणले ‘फिजिबल’ नदेखिएपछि स्थगित भएको थियो।

अब सिप्रदीले यात्रीसँगको सहकार्यमा नेपालमै डिजाइन भएको विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने तयारी गरेको छ। पछिल्लो पटक नेपालमा विद्युतीय स्कुटर तथा मोटरसाइकलको आयात बढ्दै गएको छ। उपभोक्तामा क्रमिक रुपमा गुणस्तरीय विद्युतीय स्कुटर स्वीकार्यता बढ्दै गएको छ। विद्युतीय मोटरसाइकलको आयात पनि बढ्न थालेको छ। 

यात्रीले बनाएका विद्युतीय मोटरसाइकल विश्वस्तरीय रुपमा प्रतिस्पर्धा गर्ने सक्ने खालको छ। यो मोटरसाइकलमा सिप्रदीले लगानी गरेर प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने हो भने ठूलो संख्यामा बिक्री हुनेछ।

अहिले तुलनात्मक रुपमा विद्युतीय स्कुटर तथा मोटरसाइकल महँगा छन् र यिनीहरूको रेन्ज कम छ। रेन्ज बढाएर प्रतिस्पर्धी मूल्यमा आउने हो भने धेरैको रोजाइमा पर्नेछ। 

सिप्रदी र यात्री मोटरसाइकल्सबीचको जोइन्ट भेन्चरमा नयाँ कम्पनी बनाएर जाने वा भइरहेकै कम्पनीमार्फत काम गर्ने भन्ने टुंगिनेक्रममा रहेको स्रोतको भनाइ छ। तर कम्पनी नयाँ बन्यो भने पनि मोटरसाइकल तथा स्कुटर भने यात्री 'ब्रान्डनेम'मै उत्पादन हुनेछ। हाल यात्रीले मोटरसाइकल बनाइरहेको छ। तर अब भने स्कुटरलाई पनि प्राथमिकता दिने अनुमान गरिएको छ। 

यात्री मोटरसाइकलबारे

६ जना इन्जिनियरसहितको टोलीले २०१७ बाट काम सुरु गरेर दुईवर्षमा यात्री मोटरसाइकलले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल उत्पादन गरेको थियो। ‘यात्री मोटरसाइकल्स’का सह-संस्थापक असिम पाण्डेले यात्री प्रोजेक्ट वानको चेसिस डिजाइन गरेका हुन्।

त्यस्तै उहीहरूको समूहमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर, मेकानिकल इन्जिनियर अशेष श्रेष्ठ, इम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन, ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा एप्लिकेसन डेभलपर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठलगायतको टिम मिलेर कम्पनी स्थापना गरी मोटरसाइकल डिजाइन तथा उत्पादन भएको थियो। अहिले सुरुवाती टिमका सबै सदस्य भने यात्रीमा छैनन्। 

स्टार्टप कम्पनी भएपनि यात्री मोटरसाइकलसँग आफ्नै अनुसन्धान र विकास (आरएन्डडी) को काम गर्ने टिम बनेको थियो। स्पेयर पार्टसको डिजाइन पनि नेपालमै तयार पारिएको हो। स्पेयर पार्टस निर्माणका लागि अमेरिका, चीन, भारत र युरोपेली मुलुकका कम्पनीसँग यात्रीले सहकार्य गरेको थियो। 

कार्बन फाइबर प्रयोग गरिएको मोटरसाइकल सुरक्षाको दृष्टिकोणले पनि बलियो मात्रै होइन आकर्षक र हलुकासमेत बनेको हो। डिजाइन र भिजनमा अब्बल रहेको यात्री उत्पादन विस्तारमा भने चुकेको थियो। सिप्रदीसँगको सहकार्यमा अब यो तोडिने विश्वास गरिएको छ।


प्रकाशित : शुक्रबार, असार १४ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend