काठमाडौं- बीवाईडीका विद्युतीय कार आयात हुँदा 'रेड लाइन'बाट जाँचपास हुन थालेको छ। कार आयातमा बदमासी देखिन थालेसँगै बीवाईडीका कार जाँचपास गर्दा भन्सारले 'रेड लाइन'बाट जाँचपास गर्न थालेको हो।
करछलीदेखि नयाँ गाडीको मूल्यसरह नै गाडी मर्मत खर्च असुल्दै आएको बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले पछिल्लोपटक अवैधरुपमा सिम कार्ड आयात गरिरहेको छ।
साइमेक्स इंक प्रालिले चीनबाट बीवाईडीका विद्युतीय कार तथा स्पेयर पार्ट्स आयात गर्दै आएको छ। विगतमा 'ग्रिन लाइन'बाट पास हुँदै आएको बीवाईडीका कार पछिल्लो समय भने 'रेड लाइन'बाट जाँचपास भइरहेको पाइएको हो।
अहिले बीवाईडीका अधिकांश कार 'रेड लाइन'बाट र केही 'एल्लो लाइन'बाट जाँचपास भइरहेको भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्रमा छ।
सामान्यत: करछली नहुने वा नगर्ने, वैध च्यानलबाटमात्र काम गर्ने र शंकास्पद काम नगर्ने कम्पनीका सामान 'ग्रिन लाइन'बाट जाँचपास हुने व्यवस्था रहेको छ।
त्यस्तै 'एल्लो लाइन'बाट जाँचपास हुने मालवस्तु शंकास्पद हुने र 'रेड लाइन'बाट जाँचपास हुने मालवस्तु तथा आयातकर्तामाथि भन्सार कार्यालयले नियमित निगरानी गर्ने गरेको छ।
'रेड लाइन'बाट आयात हुने सवारीमाथि भन्सारले गर्दै आएको निगरानीमा बीवाईडीका सवारी पर्न थालेका छन्।
साइमेक्सले एउटै कारमा ५०/१०० वटा चार्जर तथा टुल बक्स ल्याउँदा पटक-पटक जफत हुँदै आएको छ। एउटा गाडीमा एउटामात्र चार्जर र टुल बक्स हुने भएपनि साइमेक्सले बिक्रीका लागि ल्याउने चार्जरसमेत गाडीमै राखेर भन्सार छली गर्दै आएको छ। यसरी साइमेक्सले नियतबस आयात गर्दै आएको चार्जर र टुल बक्स रसुवा भन्सार कार्यालयले पटक-पटक जफत गरेर लिलामी गरिसकेको छ।
भन्सार विभागले आयातलाई व्यवस्थित गर्न आयातित वस्तु जाँचपास गर्दा तीन प्रकारका लेनबाट आयात हुने व्यवस्था गरेको छ। ग्रिन, एल्लो र रेड। 'ग्रिन लेन'बाट जाँचपास हुने वस्तुमा खासै शंका गरिँदैन। यसबाट पास हुने वस्तु तस्करी वा करछलीका हुँदैनन् भन्ने सामान्य मान्यता भन्सार प्रणालीमा छ। सोही कारण 'ग्रिन लेन'बाट जाँचपास भएका मालवस्तुको छड्के जाँच कम हुने गरेको छ।
'एल्लो लेन'बाट जाँचपास भएका वस्तुलाई शंकाको घेरामा राखेर भन्सार कार्यालयहरुले जाँचपास गर्दै आएको छ। यो लेनबाट जाँचपास भएका मालवस्तु शंकाको दायरामा हुने र नियमित छड्के जाँचमा परिरहने रसुवा भन्सार कार्यालयका एक अधिकारीले बताए। यसरी छड्के जाँच गर्दा कैफियत भेटिएमा सम्बन्धित आयातकर्ता र सो कम्पनीले आयात गर्ने मालवस्तुलाई 'रेड लेन'मा राख्ने गरिएको छ।
'रेड लेन'मा राखेर जाँचपास हुने मालवस्तु हरेकको पूर्ण जाँच गरेरमात्र पास गरिन्छ। यस्ता वस्तु आयात गर्दा करछली र तस्करी हुने जोखिम भएको वर्गमा भन्सार विभागले राख्दै आएको छ। यस्ता कम्पनीको कागजातमध्येबाट नमुना छनोट गरी हरेक वर्ष जाँचपास परीक्षण कार्यालयलाई अनुसन्धानका लागि समेत भन्सार विभागले सिफारिस गर्दै आएको छ।
साइमेक्स इंकले २०२५ सेप्टेम्बर २८ मा मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास गरेको २५ वटा सिलायन सेभेन विद्युतीय कार 'रेड लाइन'बाट जाँचपास भएको प्रज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै २०२५ मे २३ मा रसुवा भन्सार कार्यालयले जारी गरेको प्रज्ञापन पत्रबाट ५० वटा बीवाईडीका डलफिन कार, ५० वटा एसी/डीसी चार्जर र ५० वटा सिम कार्ड जाँचपास भएको छ। ६७०९ नम्बरको यो प्रज्ञापनपत्रअनुसार बीवाईडीका यी गाडी, चार्जर र सिम कार्ड 'रेड लाइन'बाट जाँचपास भएका हुन्।
पछिल्लो पटक बीवाईडी बिक्रेता साइमेक्स इंकले चीनको सक्रिय सिम कार्ड आधिकारिक बिक्रेताझैँ आयात गरेर बिक्री गर्दै आएको छ। उक्त सिम कार्ड पनि अस्वाभाविक मूल्यमा आयात गरिरहेको छ। साइमेक्सले एउटा सिम कार्डका लागि २३ सय चिनियाँ युआन चीन पठाइरहेको छ। तेस्रो पक्षले लिएको जीएसएम डिभाइस आयातको अनुमति देखाएर साइमेक्सले अवैध रुपमा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात गरेर बिक्री गरिरहेको हो।
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्