शुक्रबार, असोज ४ गते २०८१    
images
images

चिनी स्टकमा छैन तर खरिदका लागि पहल भइरहेको छ : साल्ट ट्रेडिङ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
images
images
चिनी स्टकमा छैन तर खरिदका लागि पहल भइरहेको छ : साल्ट ट्रेडिङ

चिनीको सञ्चिति पर्याप्त नभए पनि बजारमा सहज बनाउन काम गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका नायव महाप्रबन्धक व्रजेश झाले बताएका छन्। 

images
images

काठमाडौं- चिनीको सञ्चिति पर्याप्त नभए पनि बजारमा सहज बनाउन काम गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका नायव महाप्रबन्धक व्रजेश झाले बताएका छन्। ‘चिनीको स्टक हामीसँग छैन, खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसमा केही टुंगो लाग्ला भन्ने विश्वास छ’ उनले भने। 

images
images
images

यस्तै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई नुन आयातको अनुमति दिन खोजेको नीतिगत निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारमा उल्टिएसँगै साल्ट ट्रेडिङ कर्पोरेशनमा नुनको विषयमा उत्साह छाएको पनि उनले बताएका छन्। 

४८ वर्षअघि स्थापना भइ निरन्तर काम गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनको नुन आयात गर्ने कामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नीजि क्षेत्रलाई दिन खोजेको थियो। सरकारको यो कदमको बिरोध भएपछि निर्णय प्रक्रिया धेरै अघि बढ्न सकेन। त्यसमा केही व्यापारिक समूहको स्वार्थले खेलेको भन्ने आरोप लाग्दै आएको छ। 

सरकार परिवर्तनसँगै अघिल्लो सरकारको तयारी उल्टिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनका नायव महाप्रवन्धक व्रजेश झाले दसैँको उपलक्ष्यमा यसवर्ष पनि नुनसहित विभिन्न खाद्यान्नमा विशेष छुट दिने बताएका छन्। मन्त्रालयबाट पत्र आएपछि मात्रै सरकारले तोकेअनुसार नै नुनमा छुट दिने र अन्य खाद्यान्नमा कर्पोरेशनले सकेजति सहुलियत दिने उनले बताए। 

images

उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नुनको अहिले सुखद् चर्चा छ, काम गर्न पनि सजिलो भएको होला? नुनको अवस्था अहिले ठ्याक्कै कस्तो छ?

निश्चय पनि सुखद छ। नुन नेपालमा वार्षिक रुपमा २ लाख १५ हजार मेट्रिक्टनको हाराहामीमा खपथ छ, र हाम्रो आफ्नो स्रोत छैन, नेपाल भित्र नुनको कुनै पनि स्रोत छैन, हामी टोटल्ली (पूर्णरुपमा) कि त दक्षिण राष्ट्रसँग निर्भर छौँ, कही मात्रामा हामी तिब्बतबाट पनि नुन ल्याउँछौँ, उत्तरी नाकाबाट पनि नुन ल्याउँछौँ, आफ्नो स्रोत नभएको कारणले यसको आपूर्तिको व्यवस्थापन त्यति सजिलो छैन, जुनसुकै अवस्थामा पनि साल्ट ट्रडिङ्गले सहज सुलभ रुपमै नुनको आपूर्ति गर्दै आइरहेको छ, चाहे त्यो २०४५ सालको भारतकोसँगको ट्रेड एण्ड ट्रान्जिट नभएको बेलाको होस्, नवीकरण नभएको बेला, वा ०४६ सालको जनआन्दोलनको बेला होस्, वा ०६३ को जनआन्दोलन होस्, वा पहिलो मधेश आन्दोलन होस्, भूकम्पले थलिएको बेला होस्,दोस्रो मधेश आन्दोलन र त्यो सँगसँगै अघोषित नाकाबन्दी, साल्ट ट्रेडिङले कहिले पनि आफ्ना उपभोक्तालाई नेपाली दाजुभाईहरुलाई नुनको अभाव हुन दिइएन, त्यसमा हामी गर्व गर्दछौँ।

वितरण कस्तो छ र कसरी गरिरहनुभएको छ?

कर्पोरेशन आफैँ पनि गर्व गरिरहेको छ, हाम्रो ९३ वटा कार्यालय मार्फत् ६ हजार डिलर नेटवर्क छ, त्यस मार्फत् हामीले नेपालको प्रत्येक नागरिकको भान्सामा पुगेको छ, सायद मलाई लाग्छ, नेपालका सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा धेरै जनतासँग पहुँच बनाएको संस्था हामी मात्रै छौँ जस्तो लाग्छ।

नुनको कारोबार, नुनकै आयात गरिरहँदा एक किसिमले विज्ञता पनि पाइसक्नुभयो, हामीले गर्ने वितरण प्रणाली र अरुले गर्ने वितरण प्रणालीमा के भिन्नता छ, के कारणले हामीलाई फरक बनाउँछ?

नेपाल सरकारको स्वामित्व भएको संस्था हो, साल्ट ट्रेडिङ। नेपाल सरकार र नेपाल सरकारको स्वामित्व भएको दुई वटै गरेर शेयर करिब २१.२६ प्रतिशत जति छ, बाँकी जम्मै ७८.७६ प्रतिशत जति पब्लिकको शेयर छ।

सरकारको पनि सेयर भएको हिसाबले हामीले कसैको लागि बढी पैसा लिने काम गर्न सक्दैनौँ, हाम्रो एउटा स्थिर मूल्य छ, सप्लाइमा कुनै पनि समस्या छैन, गुणस्तरमा जहिल्यै पनि हामीले उच्च गुणस्तरको नै दिएका छौँ, संस्थागत हिसावले गुणस्तरमा कुनैपनि बेला हामीले कम्परमाइज (कन्जुस्याँइ) गरेका छैनौँ, र सबैभन्दा ठूलो कुरा हामी ६ महिनाको न्यूनतम बफरस्टक हामीले जहिले पनि राखेका छौँ, बेलाबेलामा हामीसँग नेपाललाई १० महिना पुग्ने नुन पनि स्टकमा हुन्छ, जस्तै आषाढ मसान्तमा, असारपछि साउन र भदौमा वर्षाको समयमा नुन ल्याउन गाह्रो हुन्छ, ड्यामेज हुने चान्स बढी हुन्छ, असार मसान्तमा हामीसँगको स्टक हाइएस्ट हुन्छ, १०÷११ महिनासम्म पुग्ने स्टक पनि हुन्छ।

न्यूनतमा स्टक पनि हामीसँग छ, मूल्यमा एकरुपता छ, यी कारणले गर्दा बजारको अवस्था यदी हेर्दा साल्ट ट्रेडिङले जसरी नुनको सर्भिस पुर्याइरहेको छ, त्यसरी कुनै अन्य वस्तुको सेवा उपलब्ध छैन नेपालीहरुको बीचमा। चाहे चामल हेर्नुहोस् वा चिनी। चिनी हामीसँग आजको डेट (मिति) मा कम छ, बजार मूल्य सय रुपैयाँ पुगिसकेको छ, साल्ट ट्रडिङ्गले मार्केट इन्टरभेन्टको काम समेत गर्दै आइरहेको हुन्छ, यो अर्थमा हामी अन्य व्यापारी भन्दा फरक छौँ।

यसलाई अर्को पाटोबाट हेर्दा वितरण क्षमता, भण्डारणको क्षमताले गर्दा तपाइँहरुले गरिरहेको काम अरु कसैले गर्न सक्दैन भन्न मिल्छ होइन त?

हामीले गरिहरेको काम निश्चय पनि यसरी गर्न सक्दैन, हामी दुर्गम क्षेत्र होस्, तराईका भूभाग होस्, वा शहरी इलाका होस्,हामीले कुनैपनि ठाउँमा हाम्रा नेटवर्क छोडेका छैनौँ, हामी पुगेका छौँ, नेपालको प्रत्येक बजारमा साल्ट टे«डिङ्गको उपस्थिती छ, प्रत्येक उपभोक्ताको घरमा साल्ट ट्रडिङ्गको उपस्थिति छ, हामी हाम्रै गोदाम पनि लगभग १ लाख ७० हजार मेट्रिक्टन, क्यापासिटी (क्षमता) को छ, अधिराज्यव्यापी दिनुपर्ने हो भने, १ लाख ६९ हजार समथिङ्ग (लगभग) को छ। हामीले अन्य गोदामहरु पनि भाडामा लिएर लगभग सवा २ लाख मेट्रिक्टन क्षमताको गोदाम राखेका छौँ, यत्रो नेटवर्क कसैको छैन, त्यसै कारणले गर्दा पनि, जुन हिसावले सेवा पुर्याइरहेका छौँ, आम नेपाली उपभोक्ताहरुलाई अरुले सक्छन् जस्तो मलाई लाग्दैन।

यति हुँदाहुँदै देशको राजनीतिसँगै यसको पनि आफ्नो उत्तारचढाव छन्, पछिल्ला केही निर्णयले पनि उत्तारचढाव बनाएको छ, अब त्यति मनोबल गिर्ने गरी दुःख नपाइएला नि?

आश गरौँ, आश त जहिल्यै पोजेटिभ नै गर्नुपर्यो, हामी त सधैँ नेपाली जनतालाई गुणस्तरीय वस्तु उचित मूल्यमा सर्वसुलभ हुने हिसावले सेवा गर्न पाउने हामी चाहन्छौँ।

दसैँ नजिकिएको छ, सहुलियतका लागि के छ तयारी ?

यसवर्ष पनि मन्त्रालयबाट पत्र आएपछि हामी सहुलियत राख्छौँ, नुनमा नेपाल सरकारले भनेअनुसार छुट दिएर बिक्री गर्छौं, चिनीको स्टक हामीसँग छैन, हामीले खरिदको लागि धेरै अगाडिदेखि पहल गरिरहेको हो, चाँडै त्यसको पनि केही टुंगो लाग्ला भन्ने विश्वास छ, अन्य हामीले कारोवार गर्ने गेडागुडी, चामल, दाल, मसला, तेल यिनीहरुमा हाम्रो आफ्नो हिसावले कति छुट दिन सकिन्छ, त्यो दिएर कारोवार गर्दछौँ । 


प्रकाशित : बुधबार, भदौ ३० २०७८११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend