प्रविधिको युगमा हरेक क्षेत्रमा डिजिटल प्रभाव बढ्दै गइरहेको छ। त्यसको महत्त्वपूर्ण पाटो सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग पनि हो। जसमा नेपालले अपेक्षाकृत काम गर्न सकेको छैन।
नेपाल जस्तो देश जहाँ सार्वजनिक यातायात लाखौँ मानिसको दैनिक आवश्यकता हो, त्यहाँ डिजिटल प्रणाली लागु गर्नु समयको मागमात्र होइन आवश्यकता नै बनिसकेको छ।
सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोगले यात्रुलाई मात्र होइन, सरकार र सेवा प्रदायकहरूलाई पनि फाइदा पुर्याउँछ। यसले सेवा सरल, पारदर्शी र सुरक्षित बनाउँछ। नेपालले डिजिटल भुक्तानीलाई सहजरुपमा अपनायो भने यातायात क्षेत्रको आधुनिकीकरणमा उल्लेखनीय फड्को मार्न सकिन्छ।
डिजिटल भुक्तानीले यात्रुलाई सवारी चढ्दा छिटो र सरल माध्यम प्रदान गर्नुका साथै बढी भुक्तानी गर्नुपर्ने बाध्यताबाट पनि छुट्कारा दिन्छ। फिर्ता रकमको झन्झट सहनुपर्ने वा टिकट काट्न लामो लाइनमा बस्नुपर्ने समस्यासमेत डिजिटल माध्यमको प्रयोगबाट हटाउन सकिन्छ।
नगद कारोबारमा अपारदर्शिता र भ्रस्टाचारको सम्भावना पनि डिजिटल कारोबारबाट हटाउन सकिन्छ। सबै लेनदेन डिजिटल हिसाबमा सुरक्षित भएर रहने भएकाले ट्र्याक गर्न पनि सजिलो हुन्छ। सरकार तथा यातायात कम्पनीले आफ्नो आम्दानी र खर्च पारदर्शी बनाउने अवसर पनि यसबाट पाउँछन्।
डिजिटल प्रणालीले कुन मार्गमा कति यात्रु छन्, कुन समयमा बढी चाप हुन्छ भन्ने तथ्यांक संकलन गर्न पनि सजिलो बनाउँछ। यसका आधारमा यातायात सेवा प्रदायकले समय व्यवस्थापन, गाडीको संख्या, सेवाको स्तरजस्ता पक्षहरूमा सुधार गर्न सक्छन्।
डिजिटल भुक्तानी प्रणालीले सहरलाई स्मार्ट बनाउने प्रक्रियामा पनि ठूलो टेवा पुर्याउँछ। अन्य मुलुकका सहरहरूमा सफलतापूर्वक लागु भएको यस्तो प्रणाली नेपालका प्रमुख सहरहरूमा पनि कार्यान्वयन गर्न सकिन्छ। यसले देशको समग्र यातायात प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउन सहयोग गर्नेछ।
अनुमानित आँकडा हेर्ने हो भने डिजिटल भुक्तानी नहुँदा हरेक दिन काठमाडौंमा मात्र कम्तीमा १० लाख रुपैयाँको गडबडी भइरहेको छ। बढी भुक्तानी गर्नुपर्ने बाध्यतामा यात्रुहरू परिरहेका छन्।
हरेक दिन काठमाडौंमा मात्र सार्वजनिक यातायातमा कम्तिमा पनि २० लाख ट्रिप हुन्छ। ५० प्रतिशत यात्रुसँग खुजुरा रकम नभएर एक रुपैइाँमात्र पनि बढी तिर्दा हरेक दिन १० लाख रुपैयाँभन्दा बढी यात्रुबाट उठाइन्छ। यो रकम सानो होइन।
सार्वजनिक यातायात भनेको संसारभर नाफा कमाउने व्यवसाय होइन। तर हामीकहाँ व्यवसायीलाई तिमीहरु नै लगानी गर तिमीहरु नै नाफा गर भनेर छोडेको अवस्था छ। अहिले १९, २३, ३३, रुपैयाँ भाडा तिर्दा कसरी तिर्ने? न गाडीवालासँग चानचुन छ न यात्रुसँग। त्यसकारण यो अलि गाह्रो अवस्था हो। गाडीको भाडा विद्युतीय माध्यम प्रयोग गरी तिर्न मिल्ने व्यवस्था अपनाउन ढिलो गर्नु हुँदैन। कार्ड सिस्टम लागु गरेर अगाडि नबढ्दासम्म यो समस्या रहिरहने देखिन्छ।
अहिलेको समस्यामा चानचुन पैसा नबोक्ने अवस्था पनि कारण हो। चानचुन पैसाको व्यवस्था गर्नै नसकिने भन्ने चाहिँ होइन। गाडीमा हरेक दिन चानचुन पैसा चाहिन्छ भन्ने थाहा हुँदैहुँदै पनि व्यवस्थापन गर्ने काममा व्यवसायीहरू चुकिरहेका छन्। त्यसको अपवादका रुपमा टेम्पो चालकहरूलाई लिन सकिन्छ। टेम्पोमा भने चालकहरूले चानचुन पैसा राखेर यात्रु सेवा दिइरहेका देखिन्छन्।
यातायात व्यवसायीले चानचुन पैसाको व्यवस्था नगर्दा यात्रुलाई धेरै घाटा भइरहेको अवस्था छ। यो व्यवसायीको पनि बदमासी हो। हरेक दिन व्यवसायीले एक हजारको सिक्का साटेर राख्ने हो भने नपुग्ने भन्ने नहोला। नपुगे दुई हजारको पनि सिक्का साट्न सकिन्छ नि।
चालक र सहचालकहरूले कतिपय अवस्थामा यात्रुलाई नै चानचुन पैसाको व्यवस्थापन गर्न भनिरहेका पनि देखिन्छन्। तर त्यो व्यवहारिक कुरा होइन। जसको जे काम हो त्यसमा राम्ररी ध्यान दिनुपर्छ। उसो भए त भाटभटेनीजस्ता सुपरमार्केटले पनि उपभोक्तालाई सिक्का बोकेर आऊ भन्नेत? यसको समाधान भनेकै सार्वजनिक यातायातमा डिजिटल सिस्टममा जाने हो।
सार्वजनिक यातायातमा डिजिटल कार्डकै व्यवस्था गर्न पनि गाह्रो छैन। यसमा मोबाइलको कार्ड बोके जस्तै हो। प्रिपेड कार्ड यात्रुले किनेर बोक्ने हो। त्यसो गर्दा कार्डबाट पैसा तिर्न सहज हुन्छ। यसमा यात्रुको पैसा धेरै जाने भन्ने पनि भएन। गाडीवालाले पैसा छोड्नुपर्ने भन्ने पनि भएन। यसमा एउटा गाडीमा एउटा डिभाइस राख्ने अनि कार्ड डिभाइसमा राखेर पैसा कटाउन सकिन्छ।
यसमा साझा यातायातबाट सुरु गरेर उदाहरणीय काम देखाउन सकिन्छ। यो सफल भएपछि ६ महिनामा अन्य सञ्चालकलाई पनि लागु गर्न लगाउन सकिन्छ। काठमाडौंबाट सफल प्रयोग गरेर त्यसपछि अन्य सहरहरुमा सुरु गर्न सकिन्छ।
