बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग-व्यवसायको खरानीमाथि सुनौलो भविष्य कोर्ने अठोट

आइतबार, भदौ २९ २०८२
उद्योग-व्यवसायको खरानीमाथि सुनौलो भविष्य कोर्ने अठोट

नेपालमा उद्यमशील यात्राको सुरुवात कुनै ठूलो पुँजी वा विशेष पूर्वाधारबाट होइन। तर सपना, अठोट र श्रमबाट भएको हो भन्ने कुरा मेरा व्यक्तिगत अनुभवले स्पष्ट पारेको छ।

नेपालमा उद्यमशील यात्राको सुरुवात कुनै ठूलो पुँजी वा विशेष पूर्वाधारबाट होइन। तर सपना, अठोट र श्रमबाट भएको हो भन्ने कुरा मेरा व्यक्तिगत अनुभवले स्पष्ट पारेको छ। आफ्नो माटोमै केही गर्ने हुटहुटी, निरन्तरता र इमान्दारिता नै उद्यमी सफलताको आधार बन्ने रहेछ। विगत चार दशकको यात्रा त्यही जगमा निर्माण भएको छ। जसले एउटा सानो व्यावसायिक गोरेटोलाई आज फराकिलो राजमार्गमा परिणत गरेको छ।

हामीले विस्तार गरेका उद्योग-व्यवसायले केवल रोजगारी सिर्जना मात्र गरेका छैनन्, मुलुकमा साझेदारी र सेवाको संस्कृतिलाई समेत बढावा दिएका छन्। स्थानीय समुदायलाई सेयरमार्फत् सहभागी गराउने मोडेल, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने अभ्यासले निजी क्षेत्रलाई सर्वसाधारणको अपनत्वसँग जोडेको छ।

आज २० हजारभन्दा बढी नेपाली प्रत्यक्षरूपमा हाम्रो व्यवसायसँग आबद्ध छन्। लाखौंले अप्रत्यक्ष रोजगारी पाएका छन्। यस यात्रामा विदेशमा रोजीरोटीकै लागि पुगेका श्रमिकको मेहनत र आशीर्वाद विशेष महत्वपूर्ण छ। उनीहरूको पसिनाबाट संचित रकमलाई औपचारिक माध्यमबाट सुरक्षित ढंगले घर-परिवारसम्म पुर्‍याउने सेवाबाट सुरु भएको व्यवसाय आजको संरचनामा विकसित हुन पुगेको छ।

तर, पछिल्लो भदौ २३ र २४ गतेको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई गम्भीर आघात पुर्‍याएको छ। सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा भएको घुसपैठले मुलुकभर उद्योग, व्यवसाय र निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। हजारौं रोजगारी संकटमा परेको छ, अर्बौं लगानी धरापमा परेको छ। दशकौंको संघर्षपछि उठ्दै गरेको मुलुक फेरि असुरक्षाको वातावरणमा धकेलिएको छ।

मुलुकको अर्थतन्त्रलाई चलायमान राख्ने इन्जिन निजी क्षेत्र हो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत योगदान दिने, ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने यो क्षेत्रलाई कमजोर बनाइएमा मुलुकको समृद्धि सम्भव हुँदैन । यही कारणले अहिले निराशा होइन, दृढता र पुनर्निर्माणको संकल्प आवश्यक छ।

भूकम्प, नाकाबन्दी, महामारी जस्ता चुनौतीका बीच पनि निजी क्षेत्र पटक-पटक उठेको छ। यो पटक पनि खरानी टक्टकाएर उठ्नैपर्छ। क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माण, थप लगानी र नयाँ रोजगारी सिर्जना नै हाम्रो एक मात्र बाटो हो। चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्दा मात्र मुलुकको आर्थिक सुधार सम्भव छ।

निजी क्षेत्र मुलुक निर्माणको सहयात्री हो भन्ने सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ। उद्यमशीलता भनेको रोजगारी सिर्जना गर्ने माध्यम हो, राज्यलाई राजस्व उपलब्ध गराउने स्रोत हो, र दीर्घकालीन समृद्धिको आधार हो। भावी पुस्ताले रोजगारी खोज्दै विदेशिनु नपरोस्, उनीहरूको जीवन कठिन परिस्थितिमा नपरोस् भन्ने लक्ष्यसहित हामीलाई काम गर्नुपर्नेछ।

अहिले उद्योगी-व्यवसायीहरूले भौतिक सम्पत्ति मात्र गुमाएका छैनन्। आफ्नो सपना र समर्पणमाथि समेत चोट पाएका छन्। तर, श्रम, हौसला र आत्मबल भने कहिल्यै खेर जान्न। यी नै तत्वले फेरि नयाँ निर्माण सम्भव बनाउने छन्।

यसकारण सबै उद्यमी-व्यवसायीलाई आग्रह छ-आफूलाई कहिल्यै एक्लो नठानी, सामूहिक प्रयासमा होमिऔँ, अझ सबल भएर अघि बढौँ। विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ। हाम्रो साहस र आत्मबलले भविष्यको पुस्तालाई प्रेरणा दिनेछ। निजी क्षेत्रको सामूहिक प्रयासले सुनौलो नेपालको मार्गचित्र कोर्ने विश्वास सहित अब पुनर्निर्माणको यात्रामा अघि बढौँ।

(चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्)


प्रकाशित : आइतबार, भदौ २९ २०८२०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend