मंगलबार, जेठ २६ गते २०८३    
मंगलबार, जेठ २६ २०८३

खुला सिमानाको असर : लक्ष्य घटाएर पनि राजस्व जुटेन, तस्करी नियन्त्रणमा असफल

आइतबार, साउन १८ २०८२
खुला सिमानाको असर : लक्ष्य घटाएर पनि राजस्व जुटेन, तस्करी नियन्त्रणमा असफल

गत आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज भन्सारलाई दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर कार्यालयले ८०.३५ प्रतिशत मात्र लक्ष्य पुरा गर्दै एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गर्न सक्यो।

वीरगञ्ज- भारतसँगको खुला सीमा, स्थानीय प्रशासन र सुरक्षानिकायको समन्वय अभाव तथा प्रभावकारी अनुगमन नहुँदा वीरगञ्जका दुई प्रमुख भन्सार कार्यालयले राजस्व लक्ष्य घटाइए पनि अपेक्षाअनुसारको संकलन गर्न सकेनन्।

पर्सामा करिब १०७ किलोमिटर खुला सिमानाका छन्। यहीँबाट दैनिक रूपमा अत्यावश्यक उपभोग्य वस्तुहरू सीमापारि भारतबाट आउजाउ हुन्छन्। उपभोक्तादेखि व्यापारीसम्मले भारतीय बजारबाटै किनमेल गर्ने प्रवृत्तिले वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय दुवैको राजस्व संकलनमा असर पारेको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज भन्सारलाई दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर कार्यालयले ८०.३५ प्रतिशत मात्र लक्ष्य पुरा गर्दै एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गर्न सक्यो। अघिल्लो वर्ष लक्ष्य दुई खर्ब ४५ अर्ब थियो भने संकलन एक खर्ब ५७ अर्बमै सीमित भएको थियो। सुक्खा बन्दरगाहको संकलन पनि पछिल्लो वर्ष ६० अर्बको लक्ष्यमा ४९ अर्बमै अडियो।

भन्सार प्रमुख दीपक लामिछानेले खुला सिमानाका कारण चोरी पैठारी र निकासी नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। उनले सीमावर्ती जनताले घरायसी उपभोगका सामग्री अनौपचारिक रूपमा ल्याउने, रोटीबेटीको सम्बन्धका नाममा आवागमन खुला रहने भएकाले राजस्व असहज भएको बताए।

उनको दाबी अनुसार लक्ष्य घटिए पनि भन्सार राजस्व संकलन अघिल्लो वर्षभन्दा १२ प्रतिशतले वृद्धि भएको हो। आर्थिक गतिविधि बढेका कारण आयातको आकार बढे पनि औपचारिकतामा कमीले समस्या देखिएको उनले बताए।

भन्सार छली र अवैध सामान आयात गर्ने काम जिल्लाभरि नियन्त्रणमा छैन। जिल्ला प्रहरी कार्यालयले एक वर्षमै ५२ करोडको मालबाहक सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरीले मात्रै ४० करोड ९१ लाखको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ। यसमध्ये २८ करोड मूल्यका सामान वीरगञ्ज भन्सारमा दाखिला गरिएका छन् भने ११ करोड ९९ लाखका सामग्री पथलैयास्थित कार्यालयमा बुझाइएको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नीतिगत कमजोरी र वैध कारोबारभन्दा अवैध कारोबार सहज हुनुको असर नै राजस्व संकलनमा देखिएको बताए। उनले औपचारिक आयातलाई प्रोत्साहन गर्ने नीति नहुँदा उद्योगी व्यवसायीको मनोबल गिरेको र राजस्व संकलन प्रभावित भएको बताए।

वीरगञ्जको सहरी क्षेत्रदेखि ग्रामीण भूभागसम्म लत्ताकपडा, मोटर पार्ट्स, हार्डवेयर, इलेक्ट्रिक सामान, गुट्खा, भैँसी, कुखुराको चल्ला र ड्राइफ्रुट्सजस्ता सामग्री अनौपचारिक रूपमा भित्रिन्छन्। सशस्त्र प्रहरीका गुल्म र युनिटहरूले सातामा औसत दुईपटक छापा मारेर सात लाखदेखि १५ लाखसम्म मूल्यका अवैध सामान नियन्त्रणमा लिइरहेका छन्।

सशस्त्र प्रहरी बलको नम्बर १३ गणले सीमाक्षेत्रमा तस्करी नियन्त्रण प्रयास गरिरहेको जनाएको छ। नायब उपरीक्षक पुरुषोत्तम भण्डारीका अनुसार विशेष सूचनाका आधारमा गोदाम छापा र अनुगमन तीव्र पारिएको छ। तर खुला सिमानाका फाइदा उठाएर हुने तस्करीका गतिविधि अझै नियन्त्रणबाहिर छन्।

सुरक्षानिकायको सक्रियता, स्थानीय प्रशासनको अनुगमन र नीति सुधार नहुँदासम्म खुला सिमानाबाट हुने अवैध कारोबार नियन्त्रणमा पर्ने सम्भावना टाढा देखिन्छ। राजस्व संकलन घट्नुको मूल कारण पनि यही हो। रासस


प्रकाशित : आइतबार, साउन १८ २०८२०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend