मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

६ दशकको विरासत बोकेको जनकपुर चुरोट कारखाना व्यवस्थापन प्रक्रिया सुरु, सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता खोज्दै सरकार

शुक्रबार, असार ६ २०८२
६ दशकको विरासत बोकेको जनकपुर चुरोट कारखाना व्यवस्थापन प्रक्रिया सुरु, सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता खोज्दै सरकार

२०६८ चैतदेखि उत्पादन बन्द भएको कारखाना २०७० असार २० देखि पूर्णरूपमा बन्द भयो।

काठमाडौं- बन्द रहेको जनकपुर चुरोट कारखाना व्यवस्थापनका लागि सरकारले प्रक्रिया थालेको छ। गएको १२ वर्षयता बन्द रहेको चुरोट कारखानामा उत्पादन बन्द भएको त १४ वर्ष पुगिसकेको छ। 

अर्थ मन्त्रालयले चुरोट कारखानाको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट गर्न आवेदन मागेको छ। मन्त्रालयले आशयपत्र पेस गर्नका लागि असार २३ गतेसम्मको समय दिएको छ। चासो देखाउने कम्पनीहरूको प्रस्ताव सोही दिन खुलाइनेसमेत मन्त्रालयले जनाएको छ।

चुरोट काराखाना व्यवस्थापनका लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदको बैठकले सहमतिसमेत दिइसकेको छ। मन्त्रिपरिषदको सहमतिलगत्तै अर्थ मन्त्रालयले कारखानाको मूल्यांकन प्रक्रिया थालनी गरेको हो।

२०६८ चैतदेखि उत्पादन बन्द भएको कारखाना २०७० असार २० देखि पूर्णरूपमा बन्द भयो। खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेसँगै उद्योग पूर्णरुपमा बन्द छ। त्यसयता माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला कारखाना सञ्चालनको लागि केही प्रयास भएको थियो। 

कारखानाको सुरुवाती चरणमा अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो। चुरोट कारखाना २०२१ सालको पुसमा सञ्चालनमा आएको थियो। कारखाना ३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको छ।

जनकपुर चुरोट कारखानाले सुरुवाती चरणमा देउराली, याक र गैंडा गरी तीन प्रकारका चुरोट उत्पादन गरेको थियो। जुन बजारमा लोकिप्रिय भएको थियो। 


प्रकाशित : शुक्रबार, असार ६ २०८२११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend