काठमाडौं- नारायणी डेभलपमेन्ट बैंक गम्भीर आर्थिक संकटोन्मुख देखिएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वासेल रिपोर्ट सार्वजनिक गर्दै प्राथमिक पुँजीकोष अनुपात ऋणात्मक भएको विवरण सार्वजनिक गरेको छ।
क्षेत्रीयस्तरको विकास बैंकले ८.५ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात कायम गर्नुपर्ने भएपनि नारायणीको यस्तो अनुपात १.१४ प्रतिशतले ऋणात्मक भएको छ। अघिल्लो त्रैमासमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ०.३२ प्रतिशत रहेको थियो।
यस अवधिमा बैंकको सञ्चित नोक्सानी बढेर ४१ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यस्तो नोक्सानी चुक्ता पुँजीको करिब १.५८ गुणाले बढी हो।
यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा बढेर ४४.९६ प्रतिशत पुगेको छ। अघिल्लो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ४३.९६ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकको खुद नोक्सानी बढेर २ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीको प्रकृया अगाडि बढाउँदै निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक लगाइसकेको छ।
२०७७ साउन २१ गते समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाइएको भएपनि पटक-पटक निर्देशन उल्लघंन गरेको राष्ट्र बैंकको ठहर छ।
समस्याग्रस्त बैंकको सूचीबाट हटाउँदा दिइएको निर्देशनविपरीत काम गरेको भन्दै नारायणीलाई पटक-पटक लिखित चेतावनी दिइएको राष्ट्र बैंकले जनाएको छ।
बैंकले तोकिएको समयावधिभित्र पुँजीकोष अनुपात कायम गर्न नसकेकाले राष्ट्र बैंकले असार मसान्तभित्र पुँजीकोष सुधार गर्न अन्तिम निर्देशन दिएको छ। बैंकका सञ्चालक समितिलाई गल्ती दोहोर्याउन नहुने भन्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड (ग) बमोजिम लिखित निर्देशन दिएको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले विकास बैंक तथा फाइनान्स कम्पनीहरूमाथि तेस्रो त्रैमासमा गरिएको कारबाही विवरण सार्वजनिक गर्दै नारायणी डेभलपमेन्ट बैंकलाई पुनः समस्याग्रस्त सूचीमा समावेश गर्ने तयारी गरेको देखिन्छ।
राष्ट्र बैंकको दाबीअनुसार नारायणी बैंकले दुई वर्षभित्र चुक्ता पुँजी आवश्यकस्तरमा पुर्याउनुपर्ने निर्देशनको पालना नगरेको छ। त्यस्तै चुक्ता पुँजी १०० प्रतिशत नबढ्ने गरी निक्षेप संकलन गर्नुपर्ने सीमासमेत पालना नगरेको उल्लेख गरिएको छ।
राष्ट्र बैंकले एउटै ग्राहकबाट चुक्ता पुँजीभन्दा बढी निक्षेप संकलन गरेको तथा कर्जा प्रवाहमा पनि एकल ग्राहक कर्जा सीमाको उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो। नियमानुसार एक ऋणीलाई चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी कर्जा दिन मिल्दैन।
त्यस्तै न्यूनतम चुक्ता पुँजी कायम नगरेको, सर्वसाधारणबाट तोकिएको सीमाभन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा नाघ्दै वित्तीय स्रोत संकलन गरेको भन्दै राष्ट्र बैंकले गम्भीर आपत्ति जनाएको छ।
बैंकको वित्तीय स्थिति खराब नाजुक अवस्थामा पुगेपनि सेयर बजारमा भने यस कम्पनीको सेयर १ हजार ५ सय ४८ रुपैयाँमा कारोबार भइरहेको छ।
राष्ट्र बैंकले कुनै पनि समयमा समस्याग्रस्त घोषणा गर्न सक्ने नारायणी डेभलपमेन्ट बैंकको सेयर खरिदमा चलखेल हुँदासमेत नियामक धितोपत्र बोर्ड र नेप्से मौन देखिन्छन्।