काठमाडौं- पछिल्लो आठ दशकदेखि विश्व शक्तिमा रहेको र पछिल्लो चार दशकदेखि विश्वकै एक्लो ध्रुवका रुपमा रहँदै आएको सयुक्त राज्य अमेरिकालाई पछिल्लो समय नेपालकै उत्तरी छिमेकी चीनले चुनौति दिन थालेको छ।
परम्परागत आर्थिक शक्तिका स्रोतहरू परिवर्तन हुन थालेसँगै शक्तिका नयाँ स्रोतयमाथि चीनले पकड बढाउँदै गएर कतिपय क्षेत्रमा अमेरिकालाई चुनौति दिने अवस्थामा चीन पुगेको छ। शक्तिको स्रोतका रुपमा उदाएको भनेको प्रविधि हो।
एआई, रोबोटिक्स, अन्तरिक्ष अनुसन्धान, नयाँ ऊर्जामा आधारित यातायात। परम्पारगत आर्थिक स्रोत परिवर्तन भएसँगै नयाँ स्रोतको उदय भएको छ। यी स्रोतमा पकड जमाउनका लागि बिरासतभन्दा नयाँ सोच र तदारुकता चाहिन्छ जुन चीनले राम्रोसँग पकड्यो।
पछिल्लो समय चीनले पश्चिमा प्रतिबन्धका बाबजुद एआई तथा प्रविधिमा जुन आविष्कार गरिरहेको छ यसले गर्दा झन प्रतिस्पर्धा तीव्र बनेको छ। जुन एआईका लागि धनी मुलुकहरू प्रतिस्पर्धा गरिरहेका छन् उनीहरूका लागि यो विश्वमा नियन्त्रण र धनार्जनको साधन हो तर यही उत्पादनप्रति उनीहरूको देशभन्दा गरिब मुलुकमा भरोसा धेरै देखिएको छ।
पछिल्लो समयको एउटा अनुसन्धानले एआई आएपछि आफूहरूको कल्याण हुने विश्वास धनीभन्दा उदीयमान र विकाशशील मुलुकमा धेरै देखिएको पाइएको छ। विकसित राष्ट्रहरूभन्दा उदीयमान अर्थतन्त्रका जनताले एआईप्रति बढी विश्वास देखाएका छन् र यसबाट हुने फाइदाप्रति उत्साहित र आशावादी छन्। यद्यपि यो दौडमा रहेको चीन आफैमा विकसित मुलुक भने होइन।
युनिभर्सिटी अफ मेलबर्न र केपीएमजीले सयुक्त रुपमा गरेको एउटा अध्यनमा ४७ देशका ४८ हजार सहभागीलाई प्रश्न सोधिएको थियो। यसमा ६० प्रतिशत उदीयमान अर्थतन्त्रका उत्तरदाताले विश्वास देखाएका थिए। त्यस्तै ८३ प्रतिशतले लाभदायक ठानेका थिए। तर विकसित मुलुकका ४० प्रतिशतलेमात्र विश्वास व्यक्त गरेका थिए।
सीप, अवसर र सहभागीतालाई अझै लचिलो बनाउने भएकाले उदीयमान देशका जनताले एआईप्रति भरोसा धेरै गरेका छन्।
एआईबाट नोक्सानीभन्दा लाभ धेरै
पछिल्लो समय एआईलाई मान्छेको बैरीका रुपमा व्याख्या गर्न पनि थालिएको छ। रोजगारी खाइदिने, प्रदूषण बढाउने एउटा थप क्षेत्रका रुपमा कतिपयले व्याख्या गर्दै आएका छन्। तर पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको एउटा अध्ययनले भने वास्तविकतामा यो लाभदायक धेरै भएको निष्कर्ष निकालेको छ।
एआईका कारणलेमात्र सन् २०२५ देखि २०३० को अवधिमा विश्वको कूल गार्हस्थ उत्पादनमा ०.५ प्रतिशतले बढाउन योगदान गर्ने उक्त अध्ययनको निष्कर्ष छ। यद्यपि एआईको व्यापक प्रयोगले ऊर्जाको खपत भने बढाउनेछ।
एआईको जटिल संरचना सञ्चालनका लागि ऊर्जाको माग धेरै बढ्नेछ। सन् २०३० सम्म अहिलेको भारतको ऊर्जा खपत जति एआईकै लागि ऊर्जा चाहिने अनुमान गरिएको छ।
बढ्दो बिजुलीको मूल्य र हरितगृह ग्याँस उत्सर्जनसँग सम्बन्धित चुनौतीहरू हुँदाहुँदै पनि, एआईबाट हुने विश्वव्यापी आर्थिक वृद्धिले उत्सर्जनको थप लागतभन्दा बढी लाभ दिन सक्ने सम्भावना यो अध्ययनले देखाएको छ।