चितवन- धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित बनेका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकन कर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेकाछन्।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए। कोभिड अगाडिको मूल्यांकन र कोभिड पछाडिको मूल्यांकनमा २ तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ। ‘यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्यांकन गर्ने÷नगर्ने भन्ने विषय अन्योल हुन्छ’ उनले भने।
अहिले देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्यांकनकर्ताहरूलाई बैंकहरूले कालोसूचीमा राख्न नहुने बताएका छन्। केन्द्रीय सल्लाहाकार इन्जियर लक्ष्मणबाबु सेढाईँले आफूहरूले बैंक र बैंकका ग्राहकबीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए।
उनी भन्छन्, ‘बैंकहरूले मूल्यांकनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ।’ अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैंकहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए।
यस्ता गतिविधिले इन्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ। एसोसिएसनका कोशी प्रदेश अध्यक्ष इन्जिनियर आमोदराज आचार्य कालोसूचीमा राख्ने कानूनी मान्यता नरहेको भएपनि बैंकहरूले कारबाही गर्ने गरेको बताउँछन्। पहिलोपटक गरेको मूल्यांकनको २ तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ।
एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्यांकनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैंक हरूले गरेको उल्लेख गरे। बैंकहरूले दोस्रो पटक मूल्यांकन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ।
चितवन च्याप्टरका संस्थापक अध्यक्ष इन्जिनियर श्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्यांकनकर्ताहरूमा समस्या आउन थालेको बताए। नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैंकहरूले बुझ्नुपर्ने जनाएका छन्। नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनमा अहिले ४ हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन्। रासस