काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको साझेदार नेपाली कांग्रेसको प्रस्तावअनुसार डा. गुणाकर भट्टलाई राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त गर्न तयार भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले अघि सारेका डा. भट्टको नाममा ओली तयार भएको देउवा निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच यसअघि नै डा. भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको भए पनि पछिल्लो समय सरकार ढल्ने चर्चा चुलिएपछि प्रक्रिया केही समय रोकिएको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा र सभापति देउवाको थाइल्याण्ड भ्रमणअघि नै ओली पक्षबाट सहमति जनाइए पनि राजनीतिक परिस्थितिका कारण औपचारिक निर्णयमा ढिलाइ भएको थियो।
बैंकक भ्रमणबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवा दम्पतीले सरकार ढल्ने हल्ला निराधार रहेको प्रस्ट पारे। सभापति देउवाले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्दै 'गठबन्धन अगाडि बढ्छ' भनेका थिए। परराष्ट्रमन्त्री राणाले समेत सरकार परिवर्तनका लागि विदेश जानु नपर्ने बताउँदै 'मजाकका लागि हल्ला फैलाइएको' प्रतिक्रिया दिइन्।
यसैबीच प्रधानमन्त्री ओली र भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको थियो। भने प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सीमावर्ती क्षेत्र जम्मुकस्मिरमा भएको आतंकवादी आक्रमणबारे टेलिफोन संवाद भएको थियो। ओलीले भारतमा भएको आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध नेपाल भारतसँगै उभिएको सन्देश दिएका थिए।
नेपाल-भारत कूटनीतिक सम्बन्ध सुधारको संकेतस्वरूप आएको संवादपछि सरकार तत्काल नढल्ने संकेत देखिएको छ। यता माओवादी केन्द्रका महासचिव देव गुरुङले भने सरकार नढल्ने स्पष्ट संकेत दिँदै बारम्बारको सत्ता खेलले देश अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन्।
सरकार यथावत् रहने सुनिश्चितता बढेसँगै राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया पनि अघि बढ्ने भएको छ। स्रोतका अनुसार आगामी मन्त्रिपरिषद बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिने तयारी गरेको छ। केही दिनअघि समितिका सदस्य तथा पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका कारण समिति अपूर्ण बनेको हो। उनीको स्थानमा पूर्वगभर्नर डा. तिलक रावल वा डा. चिरञ्जीवी नेपालमध्ये एक जनालाई ल्याउने तयारी भइरहेको स्रोतको दाबी छ।
समितिले ३ जनाको नाम सिफारिस गर्नेछ, जसमा डा. भट्टको नाम अग्रपंक्तिमा रहेको बताइएको छ। उनीसँगै एक जना डेपुटी गभर्नरसमेत सिफारिस हुनेछन्। डा. भट्टको नाम नै सिफारिस भइ नियुक्तिका लागि अघि बढ्ने तयारी भएको देउवा पक्षको भनाइ छ।
भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दासम्बन्धी विषयमा पनि ओली र देउवाबीच छलफल भएको बताइएको छ। दुवै नेता राष्ट्र बैंक ऐनअनुसार डा. भट्टको नियुक्तिमा ठोस कानूनी अड्चन नरहेको निष्कर्षमा पुगेका छन्। साथै, नियुक्तिसम्बन्धी कुनै औपचारिक प्रक्रिया अघि नबढिसकेको अवस्थामा सर्वोच्च अदालतबाट तत्काल निर्णय नआउने विश्वास पनि उनीहरूले व्यक्त गरेको स्रोतको दाबी छ।
स्रोतका अनुसार, 'डा. भट्टलाई गभर्नर बनाउने सहमति पहिल्यै भइसकेको हो। बैंकक भ्रमणका कारण केही ढिलाइ भयो। सिफारिस समिति पूर्ण भएपछि आगामी साताभित्रै नियुक्ति हुने सम्भावना प्रबल छ।
यसैबीच, डा. भट्टले दिएको राजीनामा स्वीकृत हुने अन्तिम चरणमा पुगेको छ। कार्यवाहक गभर्नर नीलम ढुंगानाले स्वीकृति दिन आनाकानी गरिरहेको भए पनि राजनीतिक तहबाट दबाब सिर्जना भएपछि राष्ट्र बैंकभित्र राजीनामा स्वीकार्ने तयारी भएको स्रोतले जनाएको छ।
गभर्नर सिफारिस समितिको बैठक राख्न अर्थमन्त्री पौडेल नै बाधक, कामुकै भरमा राष्ट्र बैंक चलाउने प्रपञ्च
कायममुकायमको लज्जास्पद राजनीति : गभर्नर नियुक्तिमा अनावश्यक किचलो