पर्सा- वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्छन्। १४ वर्षदेखि डढेलोबाट जोगाउँदै आएको मुलुकभरकै उत्कृष्ट सामुदायिक वनलाई यस वर्ष पनि कसरी जोगाउने भन्ने चिन्ताकै कारणले उहाँ थप जिम्मेवारी बढेको अनुभव गर्छन्।
'वसन्त ऋतु आयो कि त हामीलाई हाम्रो सामुदायिक वन कसरी जोगाउने भन्ने चिन्ताले सताउने गर्छ,' उनले भने, 'अहिलेसम्म त उपभोक्ता समूहका सदस्य र वन हेरालुको संयुक्त प्रयासकै कारण सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेका छौँ ।'
अध्यक्ष मोक्तानले जनज्योति सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध ४५९ जना सदस्यमध्ये हिउँद्यामको तीन महिना दैनिक १५ जनालाई आलोपालो गरेर गरेर वन जोगाउनका लागि खटाउँदै आइरहेका छन्।
त्यति मात्रै होइन, सब-डिभिजन वन कार्यालय निजगढ र उपभोक्ता समूहले राखेका अन्य आठ कर्मचारी पनि वन जोगाउन अहोरात्र खटिँदै आइरहेका छन्।
'सामुदायिक वनमा आबद्ध प्रत्येक घरधुरीबाट आलोपालो रुपमा मान्छे आएर सामुदायिक वनमा अग्निरेखा ‘फायरलाइन’ बनाउनेदेखि वनको चोरी-तस्करी नियन्त्रणमा सहयोग गर्दै आइरहनुभएको छ,' अध्यक्ष मोक्तानले भने, 'मेरो एक्लो प्रयासले मात्रै त ३८७ हेक्टर क्षेत्रफलको वन जोगाउन कहाँ सकिन्थ्यो होला र! सबैको सहयोग र सद्भावको कारणले मात्रै यो सम्भव भएको हो।'
वन तथा भूसंरक्षण विभागले २०८१ साउन २५ गते सामुदायिक वन दिवसका अवसरमा मुलुकभर रहेका सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्ने उपभोक्ता समूहमध्येबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पनि यस वन उपभोक्ता समूहले एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो।
उपभोक्ता समितिमा आबद्ध सदस्यले अपनत्व लिएकै कारणले अहिलेसम्म सामुदायिक वनलाई डढेलोबाट जोगाउँदै आइरहेको अध्यक्ष मोक्तान बताउँछन्। 'अहिलेसम्म उपभोक्ता सदस्यहरुले निकै माया गरेर डढेलोबाट जोगाउँदै आइरहनुभएको छ,' उनले भने, 'वनको गौंडागौंडामा समूहमा आबद्ध भएका स्थानीयको सुरक्षा दस्ता खटाएर अहिलेसम्म वन जोगाउँदै आइरहेका छौँ।'
निजगढ सब-डिभिजन कार्यालयका प्रमुख निरज पोखरेल समुदायले वन संरक्षणमा सक्रियता देखाएकै कारणले वनजंगल संरक्षणमा सहजता आएको बताउँछन्। ‘समुदायले चाहने हो भने नसिकिने केही नहुँदो रहेछ,’ उनले भने, ‘यहाँको संरक्षणका उपाय अन्य सामुदायिक तथा साझेदारी वनले अपनाउँदा राम्रो हुने गर्छ।’
जनज्योति सामुदायिक वन तीन सय ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँका समुदायले सकेसम्म वनजंगलमा आगजनी हुनै नदिने, यदि भइहालेमा पनि तत्कालै आगो निभाएर वन संरक्षणमा ध्यान दिने योजनासहित काम गर्दै आइरहेको छ।
डढेलोबाट जोगाउन थालियो पूर्वतयारी
मधेस प्रदेशमा आगजनी तथा डढेलोबाट वनजंगल जोगाउनका लागि पूर्वतयारी थालिएको छ। हिउँदमा सम्भावित आगजनी तथा डढेलोबाट वनजंगल जोगाउनका लागि पूर्वतयारीको कामलाई तीव्रता दिँदै आइरहेको छ।
मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले हिउँद्याममा सम्भावित वन डढेलो तथा आगजनीबाट जोगाउन पूर्वतयारीका काम अघि बढाइएको जानकारी दिए।
'हिउँद्याममा मधेस प्रदेशका वनजंगलमा डढेलो तथा आगजनीका दुःखद घटना हुँदै आइरहेका छन्। आगजनीको कारणले नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गरेका छन्,' उनले भने, 'विगतका डढेलोका घटनाको पाठ सिक्दै यो वर्ष हामीले मधेस प्रदेशमा डढेलोबाट वनजंगल जोगाउनका लागि पूर्वतयारीका कामलाई द्रूत गतिमा अघि बढाउँदै आइरहेका छौँ।'
प्रदेश वन निर्देशक जयसवालले यस वर्ष डढेलो नियन्त्रणका लागि संघीय र प्रदेश सरकार दुवैको समन्वयमा पूर्वतयारीको काम भइरहेको जानकारी दिए।
'संघीय सरकारले ‘रेड’ कार्यान्वयन र समृद्धिका लागि वन कार्यक्रमले पनि सम्भावित डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था मिलाउनुभएको छ,' उनले भने, 'प्रदेश सरकारले पनि वार्षिक स्वीकृत बजेट तथा कार्यक्रममा राखेर डढेलो नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आइरहेको छ।'
मधेस प्रदेशको करिब दुई लाख दुई हजार २०२ हेक्टर क्षेत्र वनले ओगटेको छ। जुन प्रदेशको कुल क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वन क्षेत्रले ओगट्ने गर्छ। कुल वन क्षेत्रमध्ये ७१ हजार ३६९ हेक्टर क्षेत्रमा ५०४ वटा सामुदायिक वन रहेका छन्।
त्यस्तै, ४० हजार ९१२ हेक्टर वन क्षेत्रमा १६ वटा साझेदारी वन क्षेत्र पर्दछ। निर्देशक जयसवालले वन क्षेत्रको मुख्य विनाशको कारकका रुपमा आगजनी, अतिक्रमण र चरिचरन रहेको बताए। 'जब जंगलमा आगजनी हुने गर्छ। तब जंगलमा भर्खरै उम्रेका नयाँ पालुवाहरु सबै डढेर नष्ट हुने गर्छ,' उनले भने।
त्रिभुवन विश्वविद्यालय वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वनजंगलमा भएका सुकेका काठदाउरा, पत्करको उचित व्यवस्थापन नहुँदा वनजंगलमा आगजनी हुने बताउँछन्।
'वनजंगलमा भएका सुकेका काठदाउराको समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ,' उनले भने, 'तिनै सुकेका रूख, काठ, पत्कर, झाडीले झनै आगोलाई प्रज्वलनशील बनाउन मद्दत पुर्याउने काम गर्छ। त्यसैले वनजंगलमा हुने पत्कर तथा सुकेका काठलाई तत्कालै हटाउनुपर्ने हुन्छ।'
संघीय सरकारले पनि हिउँद्याममा वनजंगललाई डढेलोबाट जोगाउनका लागि रेड कार्यान्वयन केन्द्र काठमाडौंबाट प्रत्येक जिल्लामा पाँचजना वन कर्मचारीलाई करिब रु १८ हजार दिएर आगो निभाउने दस्ताका रुपमा परिचालन गरेको बताइएको छ।
‘समृद्धिका लागि वन’ कार्यक्रमले पनि आगजनी नियन्त्रण र न्यूनीकरणका लागि विभिन्न स्थानमा आगो निभाउनका लागि ट्र्याक्टर, टिलर समेतको ट्याङ्करको पनि व्यवस्था गरेको छ। केन्द्रबाट पनि कुनै पनि ठाउँको वनजंगलमा आगजनी भएको खण्डमा तत्कालै सूचना सम्प्रेषण गर्ने प्रणालीको पनि विकास गरेको छ। सो जानकारीका आधारमा तत्कालै वन डढेलो रोकथाम गर्न सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ।
निर्देशक जयसवालले वनजंगलमा हुने डढेलो तथा आगजनी नियन्त्रणमा खटिने सुरक्षाकर्मी, वनरक्षक, वनहेरालुलगायत सबै कर्मचारीको बिमाको समेत प्रबन्ध मिलाइएको जानकारी दिए।
'मधेस प्रदेश सरकारले पनि वार्षिक स्वीकृत कार्यक्रम पनि डढेलो नियन्त्रण सम्बन्धित कार्यक्रम समावेश गरेको छ,' उनले भने, 'प्रदेश सरकार आफैँले पनि अग्नि नियन्त्रकका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान तथा उपकरण उपलब्ध गराउँदै आइरहेको छ।' गत वर्ष सबैभन्दा धेरै आगजनी महोत्तरी र सर्लाही जिल्लामा भएको थियो।
डढेलोबाट जोगाउन पूर्वसतर्कता अपनाइँदै
मधेस प्रदेशको आठ जिल्लामध्ये पर्साले पनि डढेलोजन्य विपद्बाट जोगाउनका लागि पूर्वतयारीको काम अघि बढाउँदै आइरहेको छ। डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले कार्यालयले भर्खरै बढ्नियारमा दुईदिने डढेलो नियन्त्रण र व्यवस्थापनसम्बन्धी तालिम गरेको बताए।
'डिभिजन वन कार्यालयका वनरक्षक, वनहेरालु, रेञ्जर, फरेष्टरलगायत ५०/६० सहभागी राखेर तालिम दिइसकेका छौँ,' उनले भने, 'वनजंगलमा आगजनी भइहालेको खण्डमा तत्कालै नियन्त्रण गर्नका लागि सहज हुने आशा गरेका छौँ।'
डिभिजन वन कार्यालय पर्साले रेञ्जरको नेतृत्वमा १० सदस्यीय दू्रत वन दस्ता ‘र्यापिड रेस्पोस्ड टिम’ बनाएर तयारी अवस्थामा राखेका छ। सो दस्तालाई पर्साको रङ्गपुर सब-डिभिजन वन कार्यालयमा राखिएको छ।
'पर्सा जिल्लाको वनमा रहेका वनपथहरुलाई सफा गर्ने र छुट्याउने काम काम भइरहेको छ,' उनले भने, 'आगजनी हुनु अगावै वनपथ क्षेत्र सफा गर्दा पनि धेरै हदसम्म आगजनी नियन्त्रण गर्न सहयोग पुग्छ।'
डिभिजन वन कार्यालयले वनजंगल आसपासका स्थानीय समुदायमा पुगेर आगजनीबाट हुने क्षति र नोक्सानीको विषयमा पनि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको जनाएको छ। रासस