काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा वस्तु आयात ७.१ प्रतिशतले बढेको छ।
पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको यसै अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
यस्तै वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। गत वर्षको यसै अवधिमा करिब ७५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
गत वर्ष पुस मसान्तसम्ममा आयात ३.१ प्रतिशत र निर्यात ७.२ प्रतिशतले ऋणात्मक रहेको थियो।
गएको पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब ५२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पुसको एकै महिनामा ठूलो परिमाणमा आयात भएको देखिएको हो।
चालु आर्थिक वर्षको ५ महिना (मंसिर मसान्तसम्ममा) ६ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा पुस एकै महिनामा देखिएको वृद्धिले ६ महिनामा ८ खर्ब २२ अर्बको आयात भएको हो।
चालु आर्थिक वर्ष मंसिरपछि पुसमा सबैभन्दा धेरै वस्तु आयात भएको हो। मंसिरमा करिब १ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। विगत २ वर्षदेखि आयात अपेक्षितरुपमा बढ्न नसक्दा अर्थतन्त्रले गति लिन सकिरहेको छैन।
आयातमा आएको कमीले बैंक वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएको छ भने बैंक ब्याजदर न्युनतम विन्दुमा आएको छ। यस्तै विदेशी मुद्रा संञ्चिति राष्ट्र बैंकमा थुप्रिएकाले अर्थतन्त्र चलायमान हुनसकेको छैन।
अर्थतन्त्रले अपेक्षित गति लिन नसक्दा सरकारी राजस्व लक्ष्य अनुरुप संकलन हुन सकेको छैन। लक्ष्य अनुसार राजस्व नउठ्दा सरकारी विकास निर्माणको कामले गति लिन सकेको छैन। विकास निर्माणको काम नहुँदा अर्थतन्त्रको रोजगारीदेखि माग पक्ष प्रभावित भएको छ।
जसको असर उद्योग व्यवसाय, निर्माण क्षेत्र, निर्माण सामाग्री उत्पादक, ढुवानी व्यवसायीसम्मलाई परेको छ। यद्यपी पछिल्लो समय आयातमा भइरहेको बृद्धिलाई अर्थमन्त्रालयले सकारात्मक ढंगले लिएको छ।