काठमाडौं- तामाकोशी पाँचौँ आयोजनाअन्तर्गत 'इलेक्ट्रो-मेकानिकल'को ठेक्कामा जालझेल गर्न पटक-पटक ठेक्का आह्वानलाई संशोधन गराएको पाइएको छ। एउटा कम्पनीलाई ठेक्का दिलाउन पहिले राखिएको सर्तलाई पाँच पटकसम्म संशोधन गर्दै म्याद थप गरिएको छ।
नेपाल विद्युत प्राधिकरणकै लगानीमा निर्माण भइरहेको आयोजनामा सिभिल संरचनाको ठेक्का भने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पीरेसनले पाएको छ।
९९.८ मेगावाट क्षमताको आयोजनाका लागि गतवर्ष फागुनमै खोलिएको ठेक्का पाएर चिनियाँ कम्पनी सिनो हाइड्रोले अहिले निर्माण कार्य सुरू गरिसकेको छ। योसँगै सुरू भएको 'इलेक्ट्रो-मेकानिकल'तर्फको ठेक्का भने पटक-पटक रद्द गरेर आयोजनाको निर्माण कार्य नै ढिला गर्ने काम भएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तामाकोशी पाँचौँ जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिनोद भण्डारीकै मिलोमतोमा पाँच पटकसम्म ठेक्काको म्याद सारिएको पाइएको छ। तामाकोशी जलविद्युत कम्पनी लिमिटेडअन्तर्गतको तामाकोशी पाँचौँको सञ्चालक समितिमा घिसिङ र सीईओ भण्डारी हुन्।
'कुनै नजिकका कम्पनीको आवेदन नमिलेपछि पटक-पटक ठेक्का रद्द र खुलाउने तथा म्याद थप गर्ने काम भइरहेको छ,' विद्युत प्राधिकरण स्रोतले भन्यो।
स्रोतका अनुसार कार्यकारी घिसिङ र सीईओ भण्डारीले चिनियाँ कम्पनी चोङनान-सीडब्लूटीडब्लू कम्पनीलाई ठेक्का दिलाउनका लागि पाँचौँ पटकसम्म बोलपत्रको सूचना संशोधन भएको हो।
पटक-पटक बोलपत्र संशोधन गराएर चोङनान-सीडब्लूटीडब्लूलाई मात्रै अहिले प्राविधिक रूपमा पास गरिएको छ। दुई महिनाको अवधि दिएर निकालिएको बोलपत्रको सूचना ५ पटक म्याद थप र संशोधन गरेर ५ महिनाभन्दा बढी समय लगाएर एउटामात्र कम्पनीको प्राविधिक प्रस्ताव अघि पारेर आर्थिक प्रस्तावको समेत सूचना जारी गरिसकिएको छ। यसरी घिसिङ र भण्डारीकै मिलोमतोमा एउटामात्रै कम्पनीलाई ठेक्दा दिलाउन जोडबल गरेको पाइएको छ।
'चिनियाँ कम्पनीलाई जसरी पनि ठेक्का दिलाउन पटक-पटक संशोधन गरिएको हो,' स्रोतले भन्यो।
तीन अर्बभन्दा बढी लगानी लाग्ने सो इलेक्ट्रो-मेकानिकलको ठेक्काका लागि तामाकोशी पाँचौँ परियोजनाले पहिलोपटक २०२४ मे ३० मा बोलपत्रको सूचना प्रकाशित गरेको थियो। मुख्य सर्तहरूमा टर्वाइनको हाइड्रोलिक मोडल टेस्टिङ र सीएफडी मोडलिङको इन-हाउस फ्यासिलिटी हुनुपर्ने अनिवार्य भनिएको थियो। तर चोङनान-सीडब्लूटीडब्लूको जेभीसँग नमिल्ने भएपछि उसैलाई ठेक्का दिन तीन महिनापछि सो सर्त एकाएक संशोधन गरेर हटाइएको थियो।
बोलपत्रको सूचनामा प्रतिस्पर्धामा भाग लिनका लागि ३५ मेगावाट वा सोभन्दा बढीका दुईवटा फरक-फरक हाइड्रोपावर परियोजनामा कम्तिमा दुई वर्ष सञ्चालनको काम गरिसकेको हुनुपर्ने सर्त थियो। टर्वाइन-जेनेरेटरमा काम गरेकोमा एक देशभित्र र अर्को देशबाहिर अनिवार्य रुपमा काम गरिसकेको हुनुपर्ने अनिवार्य सर्त थियो। तर यसलाई दोस्रो संशोधनमा हटाएर ३५ मेगावाटको ठाउँमा २५ मेगावाट टर्वाइन-जेनेरेटर हुनुपर्ने भनी उल्लेख गराउने काम भयो।
त्यस्तै बोलपत्रमा प्रतियुनिट जेनेरेटर ४० एमभीए वा सोभन्दा बढी हुनुपर्ने र २ वर्षभन्दा बढीदेखि सफलतापूर्वक सञ्चालन गरेको हुनुपर्ने उल्लेख थियो। तर चोङनान-सीडब्लूटीडब्लूलाई ठेक्का दिलाउन सो सर्तलाई संशोधन गरि ३२ एमभीएमा झारिएको थियो।
तेस्रोपटक २०२४ अक्टोवर २ मा गरिएको बोलपत्र संशोधनमा टर्वाइनको क्षमता हिसाब गर्ने सूत्रसमेत परिवर्तन गरी सूचना प्रकाशित गरियो। यसमा प्रत्यक्ष रुपमा टर्वाइनको क्षमता घटाएर तल्लोस्तरको कम्पनीको टर्वाइन खरिद गर्ने नियत राखियो भने यो चोङनान-सीडब्लूटीडब्लू जेभीसँग मिल्दो बनाएर गरिएको थियो।
'प्रिबिड' बैठकमा जगदम्बा इन्टरप्राइजज नेपाल, वान वल्ड कर्पोरेशन प्रालि, पावर चाइना चोङनान इन्जिनियरिङ कम्पनी लिमिटेड, सीडब्लूटीडब्लू, आइसीटीसी, आईएमपीएसए अर्जेन्टिनाको पनि सहभागिता रहेको थियो।
सिनो हाइड्रोले ११ अर्ब ४१ करोड रूपैयाँमा आयोजनाको सिभिलतर्फको जिम्मा पाएको छ। सिनोको नेपाली कम्पनी कुमार श्रेष्ठ निर्माण सेवासँग जोईन्ट भेन्चर रहेको छ।
आयोजनाले इन्जिनियर प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो। आयोजना निर्माणका लागि १८ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। सिनोको आर्थिक प्रस्ताव रद्द भएर एक वर्ष पर धकेलिँदा लागत बढेर २१ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी रहने मोडालिटी रहेको छ। जसमध्ये १३ अर्ब रुपैयाँ कर्मचारी सञ्चयकोषले ऋण लगानी गरेको छ। १० प्रतिशत माथिल्लो तामाकोशी आयोजनाले पनि लगानी गर्दैछ। यस्तै सर्वसाधारण र जिल्लावासीको सेयर लगानीसमेत हुने आयोजनाको योजना रहेको छ।
यो आयोजनाले माथिल्लो तामाकोशी आयोजनाकै संरचना प्रयोग गर्नेछ। तामाकोशी पाँचौँ माथिल्लो तामाकोशी आयोजनाकै क्यासकेड आयोजना हो।
यो आयोजनाको मुख्य काम ८ किलोमिटर सुरुङ र भूमिगत विद्युतगृह निर्माण हो। माथिल्लो तामाकोशी आयोजनाको टेलरेसकै पानी प्रयोग हुने भएकाले बाँधस्थल, पानी थिग्राउने पोखरी अर्थात डिसेन्डर र हेर्डवक्स यो आयोजनामा निर्माण गर्नुपर्दैन। सिधै टेलरेसको पानी तामाकोशी पाँचौँको सुरुङमा प्रवेश गराइने गरी डिजाइन तयार पारिएको छ।
माथिल्लो तामाकोशीमा सञ्चालक समितिको अनुमतिबिनै सिनो हाइड्रोलाई ६ अर्ब रूपैयाँ भुक्तानी गरिएको खुलासा
जनता र राज्यको अर्बौँ लगानी जोखिममा राखेर कुलमान घिसिङ अध्यक्ष रहेको अपर तामाकोशीमा मनपरी खर्च
माथिल्लो तामाकोशीमा प्रतिमेगावाट ३६ करोड खर्च हुने रोल्वालिङ मिसाएर जनताको लगानीमा कुलमानको बेइमानी