मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो

बिहीबार , पुस १८ २०८१
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो

कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै गत हप्ताको बिहीबारबाट सेयर कारोबार रोक्का गरिएको छ। राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि कर्णाली डेभलपमेन्ट बैंकको सीईओ नीरजविक्रम शाह फरार रहेको बताइएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली डभेलपमेन्ट बैंकलाई समस्यग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएसँगै बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिएको छ। कर्णाली डेभलपमेन्ट बैंकका १६ वटा शाखाबाट सर्वसाधारणको बचत फिर्ता सुरु गरिएको बैंकले जनाएको छ।

सुरुवातमा बिरामी, वृद्ध र बालकनलिकलाई औषधिउपचार प्रयोजनका लागि आवश्यक कागजात पेस गरेको अवस्थामा प्रतिशाखा ५० जनालाई अधिकतम २५ हजार रूपैयाँका दरले निक्षेप फिर्ता गर्न थालिएको कर्णाली डेभलपमेन्ट बैंकले जनाएको छ। बचतकर्ताको भुक्तानी कार्य बुधबार बिहान ११ बजेबाट सुरु गरिएको हो। बैंकमा तरलता व्यवस्थापन हुँदै जाने आधारमा यसलाई क्रमश: बढाउँदै लैजाने बैंकले जनाएको छ। 

भुक्तानी गर्ने शाखाहरुमा केन्द्रीय कार्यालय, नेपालगञ्ज, बाँके, तुल्सीपुर शाखा, दाङको लमही शाखा, बर्दियाको गुलरिया, बाँसगढी, राजपुर, ठाकुरद्वार शाखा, दाङको घोराही शाखा, बाँकेको कोहलपुर, खजुरा, भालुवाङ्ग, गडवा, नारायणी शाखा र सिसनिया शाखा रहेका छन्। 

गएको हप्ता राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै राष्ट्र बैंकले कर्णाली विकास बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ।

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी सम्हालिसकेको छ।

व्यवस्थापन समूहले सर्वसाधारणको हित तथा अधिकारको संरक्षण गर्दै बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता राख्ने बताइएको छ।

यस्तै बैंकको 'डियु डेलिजेन्स' सम्पन्न गराउन आवश्यक कार्य गर्नुका साथै वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी प्रक्रियामा ल्याउने बताइएको छ।

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्क्रिय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेको थियो। जसले गर्दा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही प्रक्रिया मंसिर ११ गते अगाडि बढाएको थियो।

कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै गत हप्ताको बिहीबारबाट सेयर कारोबार रोक्का गरिएको छ। राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि कर्णाली डेभलपमेन्ट बैंकको सीईओ नीरजविक्रम शाह फरार रहेको बताइएको छ।

कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर' कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर'

समस्याग्रस्त घोषणा भएसँगै नेप्सेले रोक्यो कर्णाली डेभलपमेन्ट बैंकको कारोबार समस्याग्रस्त घोषणा भएसँगै नेप्सेले रोक्यो कर्णाली डेभलपमेन्ट बैंकको कारोबार


प्रकाशित : बिहीबार , पुस १८ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend