काठमाडौं- क्षेत्रीयस्तरका वित्तीय विवरण खराब भएका बैंकहरूबाट निक्षेप झिक्ने क्रम बढेको छ। राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै निक्षेपकर्ताहरू क्षेत्रीयस्तरका विकास बैंकबाट निक्षेप झिकेर सुरक्षित हुन खोजेका छन्।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेपछि विकास बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्यमा तीव्ररुपमा गिरावट आइरहेको छ।
गत बुधबार कर्णाली डेभलमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि बिहीबारबाट नेप्सेमा विकास बैंक र वित्त कम्पनीहरूको सेयर मूल्यमा उच्च गिरावट आइरहेको छ।
कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको रकम दुरुपयोग भएको र निक्षेपकर्तालाई फिर्ता गर्ने पैसासमेत नभएको समाचारहरू सञ्चार माध्यममा आएपछि सर्वसाधारणहरूले खराब कर्जा उच्च रहेका विकास बैंक र फाइनान्स कम्पनीबाट नगद झिक्ने क्रम बढेको हो।
सर्वसाधारणसँगै बैंकका संस्थापक निक्षेपकर्ताहरूले समेत ती वित्तीय संस्थाहरूबाट नगद झिक्ने क्रम बढेको एक बैंकरले बताए।
'खराब भनेर प्रचार भइरहेका क्षेत्रीयस्तरका विकास बैंक र केही फाइनान्स कम्पनीहरूबाट संस्थगत निक्षेपकर्ताहरूले निक्षेप झिक्ने क्रम तीव्र भएको छ। उक्त वित्तीय संस्थाहरूको निक्षेप वाणिज्य बैंकतर्फ जान थालेको छ। सहकारी संस्थाहरूमा समस्या आउँदासमेत वाणिज्य बैंकहरूमा निक्षेप गएको थियो। पछिल्लो समय निक्षेप बढ्नुमा सहकारी संस्थाहरूमा देखिएको समस्या पनि हो। अब क्षेत्रीयस्तरको विकास बैंकको निक्षेप पनि वाणिज्य बैंकका आउने भएको छ', ती बैंकरले भने।
अधिकांश वित्तीय संस्थागत निक्षेपकर्ताको रुपमा नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष, बीमा कम्पनीहरू, सामाजिक सुरक्षाकोष रहेका छन्। यस्ता संस्थाहरूले ठूलो मात्रामा मुद्दती निक्षेपमा लगानी गरेका हुन्छन्। संस्थागत निक्षेप बढी रहेका संस्थाहरूमा उनीहरूले निक्षेप झिक्नासाथ बैंकको तरलतामा समस्या आउने गर्दछ।
नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, गोर्खाज फाइनान्सलगायतका आधा दर्जन वित्तीय संस्थाहरूमा निक्षेप झिक्ने क्रम तीव्र भएको हो।
उक्त बैंकहरूको तरलता अनुपात (एलडी रसियो) २० प्रतिशतबाट तल आउन थालेको बताइएको छ। कारोबार फछ्यौटका लागि नेपाल क्लियरिङ हाउसमा राखेको निक्षेप धमाधम घट्न थालेपछि उक्त बैंकहरू समस्यामा पर्ने निश्चित भएको छ।
कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्यो 'टेकओभर'