बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिसो बढेर पानी जम्न थाल्यो तर अझै परेन हिउँ, स्थानीयलाई कृषि उत्पादन घट्ने चिन्ता

आइतबार, पुस ७ २०८१
चिसो बढेर पानी जम्न थाल्यो तर अझै परेन हिउँ, स्थानीयलाई कृषि उत्पादन घट्ने चिन्ता

स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

मनाङ- हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ। हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ।

यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन। मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन्। स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका याङदुङ गुरुङ भन्छन्, 'हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ। हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती। खै, के भएर होला! आजकल समयमा हिउँ पर्न छोड्यो।'

समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ। 'हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन। किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो', उनले सुस्केरा हाल्दै भने।

केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे। पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे। अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन्।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ परेपछि चकित छन्। हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ।

'जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन। जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन्। अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ', आचार्यले भने।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउँछन्। यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ।

'हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो। प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला!', उनले गुरुङले जिज्ञासा राखे।

स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेका छन्। उनी भन्छन्, 'यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो। खै! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ। यो त अचम्मै भयो।' रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend