बिहीबार , असोज ३ गते २०८१    
images
images

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालामाथि संकट गहिरिँदै, डीसीईओ सर्जु थापाले छाडे साथ

images
बुधबार, भदौ २६ २०८१
images
images
माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालामाथि संकट गहिरिँदै, डीसीईओ सर्जु थापाले छाडे साथ

सन्तोष कोइरालाले बैंकको प्रमुख कार्यकारी अधिकृत भएर बैंकको वित्तीय अवस्था सुधारमा खासै ध्यान दिएको देखिँदैन। कोइरालाको कार्याकालमा बैंकले आफ्नो वित्तीय स्थितिमा उल्लेखीय प्रगति गर्न सकेको छैन।

images
images

काठमाडौं- माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बैंकभित्र एक्लिन थालेका छन्। उनलाई साथ दिने व्यक्तिहरू नै पछिल्लो समय बैंकबाट बाहिरिन थालेका छन्। 

images
images
images

महतो परिवारसँगको घनिष्टता र गभर्नर महाप्रसाद अधिकारीसँगको निकट सम्बन्धका आधारमा दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कोइरालासँग बैंकको सञ्चालक समितिको गम्भीर असन्तुष्टि छ। 

कोइरालाको कामप्रति असन्तुष्टि जनाएकै कारणले बैंकका अध्यक्ष रोशन केसीले आफ्नै सहपाठी प्रसिद्धराज आर्याललाई कोइरालाको उत्तराधिकारीको रुपमा अगाडि ल्याएका छन्। 

बैंकमा दुई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुँदाहुँदै केसीले वरिष्ठ डीसीईओ बनाएर ल्याएपछि बैंकभित्रको विवाद सतहमा आएको छ। अर्याल बैंकमा भित्रिएको दुई महिना नबित्दै बैंकका एक डीसीईओ सर्जुकुमार थापाले बैंक छाडेपछि त्यहाँ रहेको असन्तुष्टिलाई पुष्टि गर्ने आधार थप मजबुत भएको छ।

images

थापाले माछापुच्छ्रे बैंकको डीसीईओ पद छाडेर सानिमा बैंकमा एक पद घटेरै भएपनि सहायक कार्यकारी अधिकारी पदमा नियुक्ति लिएका छन्। ६ महिनासम्म सोही पदमा जान नमिल्ने राष्ट्र बैंकको कुलिङ अवधिलाई कारण एक पद घटेरै भएपनि सानिमा बैंकमा प्रवेश गरेको उनको दाबी छ। यद्यपी थापाले ६ महिनासम्म कुर्न नसक्नु र हतारमा एक पद घटेर भएपनि सानिमा बैंक प्रवेश गर्नुलाई भने निकै अर्थपूर्णरुपमा हेरिएको छ।

कोइराला र थापाबीच विगतमा निकै राम्रो सम्बन्ध रहेको बताइन्छ। सन्तोष कोइराला र सर्जुकुमार थापा सानिमा बैंकमा लामो समय काम गरेर एकैसाथ माछापुच्छ्रे बैंकमा आएका थिए। 

बैंक अफ काठमाण्डुबाट बैंकिङ करियर सुरु गरेका थापासँग सानिमा बैंकमा लामो अवधि काम गरेका अनुभव छ। कोइरालाले सानिमा बैंक छोडेर माछापुच्छ्रे बैंकमा आएको ६ महिनापछि नै थापाले सानिमा बैंक छोडेर माछापुच्छ्रे बैंकमा नियुक्ति लिएका थिए। 

प्रसिद्धराज अर्याल बैंकमा दोस्रो वरियतामा आएसँगै  थापा कोइरालासँग असन्तुष्ट रहेको बैंक स्रोतको दाबी छ। 

'माछापुच्छ्रे बैंकमा कोइरालापछि थापालाई उत्तराधिकारीको रुपमा हेरिएको थियो। तर कोइरालासँग बैंकको सञ्चालक समिति असन्तुष्ट भएर दोस्रो वरियतामा प्रसिद्धराज अर्याल ल्याएपछि सर्जुकुमार थापाको कोइरालासँग विवाद बढेको थियो। कोइरालासँगको विवादकै कारण थापाले एक पद घटेरै भएपनि सानिमा बैंकको नियुक्ति लिएको चर्चा बैंकभित्रै हुने गरेको छ', स्रोतले बतायो।

सर्जुकुमार थापाले बिजनेस न्युजसँग कुरा गर्दै आफूले बैंककै जागिर छाडेर जलविद्युत आयोजना सञ्चालनतर्फ लाग्ने विगतको योजनास्वरुप काम गरेको बताए। तर जलविद्युत आयोजनाविरुद्ध मुद्दा परेपछि सानिमा बैंकले नै आफूलाई जागिरको अफर गरेको उनको भनाइ छ। कोइरालासँग विवाद नरहेकोसमेत उनले प्रस्ट पार्न चाहे। 

'विगतदेखि नै मेरो योजना बैंक छाडेर जलविद्युत आयोजना सञ्चालन गर्ने भन्ने थियो। जलविद्युत आयोजनामा विवाद भएपछि सानिमा बैंकबाट जागिरको अफर आयो। विगतमा पनि काम गरेको बैंक भएकाले सानिमा बैंकमा जागिर सुरु गरेँ। राष्ट्र बैंकको ६ महिना कुलिङ अवधिका कारण सहायक कार्यकारी अधिकृत पदमा नियुक्ति लिएको हो' थापाले भने। 

सन्तोष कोइरालाले बैंकको प्रमुख कार्यकारी अधिकृत भएर बैंकको वित्तीय अवस्था सुधारमा खासै ध्यान दिएको देखिँदैन। कोइरालाको कार्याकालमा बैंकले आफ्नो वित्तीय स्थितिमा उल्लेखीय प्रगति गर्न सकेको छैन। उनको कार्य सम्पदानमाथि प्रश्न उठेपनि गभर्नर महाप्रसाद अधिकारीसँगको पारिवारिक निकट सम्बन्ध र महतो परिवारको साथमा कोइरालाले दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको नियुक्ति लिएको बताइन्छ। 

अध्यक्ष रोशन केसीसहित बैंकको सञ्चालक समिति उनीप्रति असन्तुष्ट रहेपनि नेपाली कांग्रेसका नेताहरूसँगको निकटता देखाएर कोइरालाले बैंकको पद नछोडेको बताइन्छ। 

औषत बैंक सञ्चालनका लागि राजनीतिक दलका नेताहरूको फेरो समान्त नपर्ने भएपनि कोइरालाले नेपाली कांग्रेसका नेताहरूसँग रहेको निकटतालाई देखाएर सञ्चालक समितिलाई तर्साउने गरेको आरोपसमेत लाग्ने गरेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेलगत्तै कोइरालाले मन्त्री क्वार्टर नै पुगेर बधाई दिएका थिए। महासेठ उपेन्द्र महतोका बहिनी ज्वाँइ हुन्।

यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग मित्रवत सम्बन्ध रहेको दाबी गर्ने कोइरालाले कांग्रेसका उपसभापति धनराज गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटको तस्बिर फेसबुकमा सार्वजनिक गरेका थिए। यस्तै उनले बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको भन्दै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलसँगको तस्बिर पोस्ट गरेका छन्। यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्ह्यारक्याल लामासँग भेट गरेको तस्बिर पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

कोइरालाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूबाट पनि उनले विभिन्न पारिवारिक, व्यावसायिक र राजनीतिक सम्बन्धका आधारमा बैंकको सञ्चालक समितिमा दबाब दिइरहेको पुष्टि हुन्छ। जुन स्तरमा उचो कद देखाउन उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार गरिरहेका छन्, त्यो स्तरमा बैंकको वित्तीय विवरण भने सन्तोषजनक देखिँदैन।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले बैंकको खस्किँदो वित्तीय स्थितिलाई देखाएको छ। गत आर्थिक वर्ष बैंक १ अर्ब २५ करोड खुद नाफामा सीमित हुँदै सबैभन्दा कम नाफा गर्ने वाणिज्य बैंक भएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा यस बैंकको खुद नाफा २३ प्रतिशतले घटेको छ। 

खराब कर्जा बढेसँगै नियामकीय प्रोभिजनिङहरू बढेकोले बैंकको नाफा घटेको हो। गत आर्थिक वर्ष बैंकको खराब कर्जा ६०.६१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २.२६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.६३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष बैंकले निजी क्षेत्रतर्फ १ अर्बमात्रै कर्जा विस्तार गर्न सकेको छ।

गत आर्थिक वर्ष २ खर्ब ५० अर्बभन्दा बढी कर्जा प्रवाह भएकोमा बैंकले १ अर्बमात्रै कर्जा विस्तार गर्नुले बैंक औषतभन्दा निकै कमजोर रहेको देखिन्छ। बैंकको व्यवसाय विस्तार नहुनुमा सञ्चालक समिति र बैंकको सीईओबीच भएको द्वन्द्वलाई प्रमुख कारणको रुपमा हेरिएको छ। ग्राहकतर्फ गएको कर्जा अघिल्लो आर्थिक वर्षसम्म २ खर्ब २६ अर्ब रहेकोमा गत आर्थिक वर्ष १ खर्ब २७ अर्बमा सीमित भएको छ।

बैंकको व्यवसाय विस्तार हुन नसकेकाले पनि बैंकले नाफा बढाउन नसकेको हो। व्यवसाय विस्तार गर्न नसक्नुमा कोइरालाको उदासिनता प्रमुख कारण रहेको सञ्चालक समितिले दाबी गर्दै आएको छ। 

३ अर्ब ७६ करोड निक्षेप संकलन गरेर १ अर्बको हाराहारीमा मात्रै कर्जा लगानी गरेकाले बैंकले आफ्नो वित्तीय विवरणमा सुधार गर्न नसकेको हो। निक्षेपको तुलनामा कर्जा लगानी करिब ३ गुणाले कम हुँदा बैंकको लागत बढेको हो। गत आर्थिक वर्षसम्म बैंकको कुल निक्षेप संकलन १ खर्ब ५७ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षसम्म बैंकको यस्तो निक्षेप संकलन १ खर्ब ५४ अर्ब १७ करोड रहेको थियो। 

निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम हुँदा बैंकको ब्याज आम्दानी १३.७९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७९/८० बैंकको ब्याज आम्दानीमा १९ अर्ब २८ करोड रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ६१ करोड कायम भएको छ।

ब्याज आम्दानीसँगै बैंकले ब्याज खर्च कम देखाएकाले बैंकको खुद ब्याज आम्दानी करिब ३७ करोडले घटेको छ। गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब रहेकोमा अघिल्लो आर्थिक वर्ष ५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। बैंकको ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेको छ। 

बैंकले स्प्रेड दर (निक्षेप र कर्जाको ब्याजअन्तर) बढाएपछि गत आर्थिक वर्ष १ अर्ब २५ करोड नाफा भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षकै हाराहारीमा स्प्रेडदर कायम राख्ने हो भने बैंकको नाफा १ अर्ब २५ करोडभन्दा कम हुने निश्चित छ। अघिल्लो वर्ष बैंकको स्प्रेडदर ३.९५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ३.९८ प्रतिशत रहेको छ।  

गत पुस ५ गते दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कोइरालासँग बैंक सञ्चालक समितिसहित केसी समूह असन्तुष्ट रहँदै आएको छ। २०८० मंसिर ७ गते उपेन्द्र महतोले बैंकको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिएपछि कोइरालामाथि नयाँ सञ्चालक समिति असन्तुष्ट रहँदै आएको छ।

महतोले राजीनामा दिएसँगै रोशन केसी बैंकका अध्यक्ष छन्। यसअघि पनि केसी २०१७ देखि २०१९ सम्म बैंकको सञ्चालक समितिको अध्यक्ष थिए। पोखरा स्थायी ठेगाना भएका केसीको आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनामा लगानी रहेको छ।

उपेन्द्र महतोले सञ्चालन गर्दै आएको सम्पूर्ण व्यवसायमा समस्या देखा पर्न थालेपछि र राष्ट्र बैंकको सुपरिवेक्षणका क्रममा कर्जाको दुरुपयोग गरेको भेटिएपछि उनी अध्यक्ष पदबाट हटेको बताइन्छ। मेडिसिटी अस्पताललगायतका क्षेत्रमा कर्जा लिएर गरेको लगानीले प्रतिफल दिन नसकेपछि महतो परिवार आफ्नो सेयर बिक्री गरेर बैंकबाट बाहिरिने तयारीमा छ।

उपेन्द्र महतोका भाइ वीरेन्द्रप्रसाद महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरिसकेको छ। अध्यक्षबाट हटेको एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने राष्ट्र बैंकको व्यवस्थाका कारण उपेन्द्र महतोले सेयर बिक्री गर्न पाएका थिएनन्। उक्त कुलिङ पिरियड पनि समाप्त भइसकेको छ।

माछापुच्छ्रे बैंकको सेयर बिक्री गरेरै भएपनि आफ्नो कर्जा सेटलमेन्ट गर्ने पक्षमा उपेन्द्र महतो रहेको बताइन्छ। बैंकबाट लगभग बाहिरिसकेको महतो परिवारको आडमा कोइरालाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति लिएकाले पनि केसी परिवार असन्तुष्ट देखिएको हो।

पुँजीकोषका कारण दबाबमा परेको माछापुच्छ्रे बैंकले २०७८/८९ को नाफाबाट लाभांश वितरण गर्न नपाएपछि तत्कालीन अध्यक्ष महतोले गत आर्थिक वर्ष सबैभन्दा पहिले लाभांश घोषणा गरेर बैंकबाट बाहिरिएका थिए। उनी बैंकबाट बाहिरिँदा आफ्नो परिवारमा रहेको सेयर करिब १३ प्रतिशतले बढाएर बाहिरिएका थिए। 

गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत भएपनि लाभांश प्रस्ताव गर्ने तयारीमा सीईओ कोइराला रहेको बताइन्छ। यसरी फेरि पनि महतोको ५ प्रतिशत सेयर बढाउन कोइरालाले भूमिका खेल्ने बताइएको छ। उक्त लाभांश घोषणा गरेसँगै महतोले बैंकको छाडेको एक वर्षको कुलिङ अवधि पनि सकिने र सेयर बिक्रीको प्रकृया अगाडि बढाउने तयारी रहेको बैंक स्रोतको दाबी छ।

सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व 


प्रकाशित : बुधबार, भदौ २६ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend