काठमाडौं- माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको कार्य सम्पादनको विषयलाई लिएर बैंकभित्रको विवाद उत्कर्षमा पुगेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको पारिवारिक सम्बन्ध र बैंकबाट बाहिरिने क्रममा रहेका उपेन्द्र महतो परिवारको आडमा कोइराला बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दोहोरिएको भन्दै केसी परिवार असन्तुष्ट बनेको हो।
बैंकको प्रमुख लगानीकर्ता रारा चाउचाउ उत्पादक (हिम श्री फुड्स प्रा.लि) सुर्यबहादुर केसी परिवार नै प्रमुख कार्यकारी अधिकृत कोइरालासँग असन्तुष्ट रहेको बताइन्छ।
गत पुस ५ गते दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कोइरालाको कामबाट असन्तुष्ट बन्दै केसी समूहले कोइरालालाई व्यवस्थापन समितिमा अप्ठ्यारो बनाउने गरी एक डेपुटी प्रमुख कार्यकारी अधिकृत र एक नायव प्रबन्धक भित्र्याएको छ।
सन्तोष कोइरालाको उत्तराधिकारीको रुपमा प्रसिद्धराज अर्याललाई बैंकमा ल्याइएको बताइएको छ। यसअघिका दुई डेपुटी सीईओहरू सर्जकुमार थापा र विश्वभर न्यौपानेभन्दा माथिल्लो वरियतामा अर्याललाई राखिएको छ।
डीसीईओ अर्याल र बैंकका अध्यक्ष रोशन केसी कुनै समयका सहपाठी हुन्। उनीहरूबीच मित्रवत सम्बन्ध रहेको छ।
अर्यालसँग २० वर्ष बैंकिङ क्षेत्रको अनुभव छ। उनीसँग यसअघिको सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेको अनुभव छ। अर्यालसँग कर्जा, ट्रेजरी, शाखा सञ्चालन र लघुवित्तलगायतका क्षेत्रमा काम गरेको अनुभव छ।
यस्तै नायव महाप्रबन्धक सुभास जमरकट्टेल पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले आफ्नो बैंकिङ करियरको अधिकांश समय माछापुच्छ्रे बैंकमा रहेर काम गरेका छन्। सन् २०१० मा बैंकिङ करियर सुरु गरेका जमरकट्टेल सन् २०११ बाट माछापुच्छ्रे बैंकमा कार्यरत छन्।
सञ्चालक समितिमा केसी समूहको बहुमत भएपनि कोइरालालाई गभर्नर अधिकारीको जोडबलमा बैंकको प्रमुख कार्यकारी नियुक्त गरेपछि उनलाई दबाब दिनकै लागि अर्याल र जमरकेट्टललाई व्यवस्थापन समितिमा ल्याइएको बैंककै एक कर्मचारीले बताए।
‘बैंकको सञ्चालक समिति कोइरालाको कामबाट सन्तुष्ट छैन। यसअघिका अध्यक्ष उपेन्द्र महतो र गभर्नर महाप्रसाद अधिकारीको जोडबलमा सञ्चालक समिति कोइरालालाई सीईओमा दोहोर्याउन बाध्य भएको थियो। अर्याललाई अहिले व्यवस्थापन समितिमा ल्याएर यसअघिका नायव प्रबन्धकहरूभन्दा माथि राख्नुले पनि कोइरालाप्रति बैंकका सञ्चालकहरू सन्तुष्ट नरहेको सन्देश दिन सञ्चालक समितिले दिएको छ’, ती कर्मचारीले बताए।
गभर्नर अधिकारीसँग सीईओ सन्तोष कोइराला यति नजिक छन् कि कोइरालाले गभर्नर अधिकारीलाई ‘भेनाजु’ भनी सम्बोधन गर्छन्। राष्ट्र बैंक स्रोतका अनुसार कोइरालाले गभर्नर अधिकारीकी श्रीमतीसँग भाइटीका लगाउँछन्। ‘गभर्नर अधिकारी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाबीच पारिवारिक सम्बन्ध नै छ। गभर्नर अधिकारीको म्याडमले तिहारमा टीका लगाउने भाइ हुन् कोइराला’, ती सञ्चालकले भने।
२०८० मंसिर ७ गते उपेन्द्र महतोले बैंकको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिएका थिए। उनी हटेसँगै रोशन केसी अध्यक्ष बनेका हुन्। यसअघि पनि केसी २०१७ देखि २०१९ सम्म बैंकको सञ्चालक समितिको अध्यक्ष थिए। पोखरा स्थायी ठेगाना भएका केसीको आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनामा लगानी रहेको छ।
उपेन्द्र महतोले सञ्चालन गर्दै आएको सम्पूर्ण व्यवसायमा समस्या देखा पर्न थालेपछि र राष्ट्र बैंकको सुपरिवेक्षणका क्रममा कर्जाको दुरुपयोग गरेको भेटिएपछि उनी अध्यक्ष पदबाट हटेको बताइन्छ। मेडिसिटी अस्पताललगायतका क्षेत्रमा कर्जा लिएर गरेको लगानीले प्रतिफल दिन नसकेपछि महतो परिवार आफ्नो सेयर बिक्री गरेर बैंकबाट बाहिरिने तयारीमा छ।
उपेन्द्र महतोका भाइ वीरेन्द्रप्रसाद महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरिसकेको छ। अध्यक्षबाट हटेको एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने राष्ट्र बैंकको व्यवस्थाका कारण उपेन्द्र महतोले सेयर बिक्री गर्न पाएका थिएनन्। उक्त कुलिङ पिरियड पनि समाप्त भइसकेको छ।
माछापुच्छ्रे बैंकको सेयर बिक्री गरेरै भएपनि आफ्नो कर्जा सेटलमेन्ट गर्ने पक्षमा उपेन्द्र महतो रहेको बताइन्छ। बैंकबाट लगभग बाहिरिसकेको महतो परिवारको आडमा कोइरालाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति लिएकाले पनि केसी परिवार असन्तुष्ट देखिएको हो।
केसी परिवारले आफूमाथि दिइरहेको दबाब कम गर्न कोइरालाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएर ती तस्बिरहरू सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेलगत्तै कोइरालाले मन्त्री क्वार्टर नै पुगेर बधाई दिएका थिए। महासेठ उपेन्द्र महतोको बहिनी ज्वाँइ हुन्।
यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग मित्रवत सम्बन्ध रहेको दाबी गर्ने कोइरालाले कांग्रेसका उपसभापति धनराज गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटको तस्बिर फेसबुकमा सार्वजनिक गरेका थिए। यस्तै उनले बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको भन्दै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलसँगको तस्बिर पोस्ट गरेका छन्।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्ह्यारक्याल लामासँग भेट गरेको तस्बिर पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
कोइरालाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूबाट पनि उनले विभिन्न पारिवारिक, व्यावसायिक र राजनीतिक सम्बन्धका आधारमा बैंकको सञ्चालक समितिमा दबाब दिइरहेको पुष्टि हुन्छ। जुन स्तरमा उचो कद देखाउन उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार गरिरहेका छन् त्यो स्तरमा बैंकको वित्तीय विवरण भने सन्तोषजनक देखिँदैन।
उपेन्द्र महतो सञ्चालक समितिबाट बाहिरिने तयारी भइरहेको समयमा उनकै चाहानाबमोजिम बैंकको नाफाबाट करिब १३ प्रतिशत लाभांश पारित गर्न कोइरालाले भूमिका खेलेका थिए। सबैभन्दा पहिले लाभांश घोषणा गरेको सन्देश प्रवाह गराएपनि उनले महतो परिवारको सेयर संख्या बढाउनका लागि भूमिका खेलेका थिए।
अघिल्लो वर्ष प्राथमिक पुँजीकोषमा दबाब परेर लाभांश बाँड्न नसकेको माछापुच्छ्रे बैंकले आफ्नो वित्तीय विवरणलाई थप बलियो बनाउनुको सट्टा उपेन्द्र महतोको सम्पत्ति वृद्धिमा साथ दिएर बैंकलाई संकटतर्फ धकेल्ने काम गरेको देखिन्छ।
राष्ट्र बैंकले २०७८ मा सेयर कर्जा, रियल स्टेट कर्जा, हायरपर्चेज कर्जा, ओभरड्राफ्ट लगायतका कर्जाको जोखिम भार बढाएसँगै माछापुच्छ्रे बैंक प्राथमिक पुँजीकोष (टायरवान क्यापिटल) को दबाबमा फसेको थियो। माछापुच्छ्रे बैंकले प्राथमिक पुँजीकोष नपुर्याएकाले नै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो।
कोइराला अहिले दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भए पनि बैंकको कार्य सम्पादनमा कुनै पनि सुधार देखिएको छैन।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाखले ऋणात्मक छ। बैंकको खराब कर्जा बढेर ३.६८ प्रतिशत पुगेको छ। खराब कर्जा बढेकाले गत वर्ष करिब ५५ करोड हाराहारीमा रहेको बैंकको इम्पियरमेन्ट चार्ज बढेर करिब १ अर्ब पुगेको छ।
गत वर्षको ९ महिनासम्म बैंकको लोन लस प्रोभिजनिङ १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। जसले गर्दा बैंकको प्राथमिक पुँजीकोषमा उच्च दबाब देखिएको छ। माछापुच्छ्रे बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकको प्राथमिक पुँजीकोष ८.७९ प्रतिशत कायम भएको छ। यद्यपी बैंकले प्रस्तुत गरेको पुँजीकोषमाथि विश्वास गर्ने पर्याप्त आधार भने भेटिँदैन।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक भएपनि बैंकले पुँजीकोष गणना गर्दा अपरिष्कृत नाफाको रुपमा १४ करोड ७० लाख रुपैयाँ मात्रै ऋणात्मक देखाएको छ।
अवास्तविक वासेल रिपोर्ट प्रस्तुत गरेर आगामी आर्थिक वर्ष लाभांश वितरणको सम्भावनालाई जीवित राख्ने र लगानीकर्तामाथि आउने दबाब कम गर्ने पक्षमा कोइराला देखिन्छन्। तर बैंकको वितरणयोग्य नाफा यसअघि नै ऋणात्मक भइसकेकाले सेयरधनीलाई लाभांश वितरण गर्ने अवस्थामा कोइराला छैनन्। बैंकको खस्किँदो अवस्थाका कारण आगामी समयमा कोइरालामाथि थप दबाब बढ्ने देखिन्छ।