बिहीबार , असोज ३ गते २०८१    
images
images

सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति

images
बिहीबार , साउन २४ २०८१
images
images
सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति
images
images

काठमाडौं- माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिबीचको मतभेदको असर बैंकको वित्तीय विवरणमा देखिन थालेको छ। गत आर्थिक वर्षको वित्तीय विवरणमा माछापुच्छ्रे बैंक वाणिज्य बैंकहरूमध्ये नाफा कमाउनेमा सबैभन्दा पुछारमा छ।

images
images
images

राष्ट्र बैंकका कर्मचारीको खाता रहेको माछापुच्छ्रे बैंकले आफ्नो वित्तीय विवरणमा खासै फड्को मार्न सकेको छैन। सीईओ कोइरालाले आफ्नो पहिलो कार्यकालमा बैंकलाई उचाइमा पुर्‍याउन खासै उपलब्धीमूलक काम गर्न सकेका छैन।

कार्यसम्पादन कमजोर भएपनि उनी दोस्रो कार्यकालमा सीईओ दोहोरिँदा धेरै बैंकर्स आश्चर्यमा परेका थिए। बैंकको प्रमुख लगानीकर्ता र सञ्चालक समिति उनीविरुद्ध भएपनि कोइरालाले कसरी दोस्रो कार्यकाल थप गर्न सफल भए भन्ने विषयमा धेरै बैंकर्सको ध्यान खिचेको थियो।

गभर्नर महाप्रसाद अधिकारी र महतो परिवारको आडमा दोस्रो कार्यकालका लागि सीईओ बनेका कोइरालालाई वर्तमान सञ्चालक समितिले रुचाएको छैन। गभर्नर महाप्रसाद अधिकारीसँगको पारिवारिक सम्बन्ध र बैंकबाट बाहिरिने तयारीमा रहेका उपेन्द्र महतोको जोडबलमा दोस्रो कार्यकाल सीईओ बनेका कोइरालासँग बैंकको सञ्चालक समिति सन्तुष्ट छैन। 

images

रारा चाउचाउ उत्पादक केसी परिवारबाट रोशन केसी बैंकको अध्यक्ष बनेदेखि नै सीईओ कोइरालालाई दोस्रो कार्यकालका लागि नदोहोर्याउने पक्षमा थियो। तर सीईओ कोइरालाले शक्तिकेन्द्रको आडमा दोस्रो कार्यकाल सीईओ भएका छन्। सञ्चालक समितिको असहमतिको बाबजुत गभर्नर अधिकारी र उपेन्द्र महतो रजाएर उनी गत पुस ५ गते बैंकको सीईओ बन्न सफल भएका हुन्। 

कोइराला सीईओ भएदेखि नै उनको कार्य क्षमतामाथि प्रश्न उठ्दै आएको छ। कोइरालाले बैंकको व्यवसाय विस्तार गर्न नसकेपनि राष्ट्र बैंक, महतो परिवार र नेपाली कांग्रेससँगको निकटतालाई प्रमुख हतियार बनाएर सञ्चालक समितिलाई दबाब दिएर कार्यकाल थपेका हुन्। त्यसैले कोइरालाको कार्यक्षेत्र खुम्चाउने गरी सञ्चालक समितिले बैंकका दुई डेपुटी सीईओहरूभन्दा माथि अर्को डेपुटी सीईओ प्रसिद्धराज अर्याललाई पहिलो नम्बरको डीसीईओ बनाएको छ। डीसीईओ अर्याल र बैंकका अध्यक्ष रोशन केसीबीच मित्रवत सम्बन्धसमेत रहेको बताइन्छ।

कोइरालालाई अप्ठ्यारो पार्ने गरी सञ्चालक समितिले भावी सीईओको रुपमा अर्याललाई बैंकमा भित्र्याएको हो। अर्यालसँगै सुवास जमरकट्टेललाई समेत नायव महाप्रबन्धकको रुपमा भित्र्याइएको छ। यस नियुक्तिपछि कोइराला थप सशंकित भएको बैंक स्रोतको दाबी छ।

गभर्नर अधिकारीको कार्यकाल सकिनासाथ सीईओ कोइरालालाई बैंकबाट हटाउने तयारी सञ्चालक समितिको रहेको बैंक स्रोतले जनाएको छ। गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २५ गते सकिँदै छ। 

'अधिकारी राष्ट्र बैंकको गभर्नर पदबाट हट्नासाथ सञ्चालक समितिले अर्याललाई बैंकको अध्यक्ष बनाउने तयारी छ', बैंक स्रोतले बतायो।

माछापुच्छ्रे बैंकबाट महतो परिवार सेयर बिक्री गरेर निस्कने तयारीमा छ।

उपेन्द्र महतोका भाइ वीरेन्द्रकुमार महतोको नाममा रहेको संस्थापक सेयर कर्मचारी सञ्चयकोषले खरिद गरिसकेको छ। रोशन केसी बैंकको अध्यक्ष भएर आउनुभन्दा अगाडि उपेन्द्र महतो बैंकको अध्यक्ष थिए। व्यवसायिकरुपमा उच्च घाटामा रहेको र कर्जाको साँवाब्याज भुक्तानी गर्न नसकेकाले महतो माछापुच्छ्रे बैंकको सेयर बिक्री गरेर आफ्नो कारोबार मिलाउने प्रयासमा छन्।

बैंकको अध्यक्षबाट हटेको एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने राष्ट्र बैंकको व्यवस्थाका कारण महतोले आफ्ना भाइ वीरेन्द्र महतोको नाममा रहेको सेयर बिक्री गरेर कारोबार मिलाएका छन्। 

अध्यक्षबाट बाहिरएको एक वर्ष पुग्नासाथ महतो आफ्नो नाममा रहेको सेयरसमेत बिक्री गर्ने तयारीमा छन्। महतोको नाममा रहेको सेयर खरिद गर्न खरिदकर्ता समेत तयार भइसकेको बताइएको छ। 

सीईओ र सञ्चालकबीचको द्वन्द्वले खस्किँदो वित्तीय विवरण

सीईओ कोइराला र सञ्चालक समितिबीचको द्वन्द्वले बैंकको वित्तीय विवरण खस्किँदै गएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले बैंकको खस्किँदो वित्तीय स्थितिलाई देखाएको छ।

गत आर्थिक वर्ष बैंक १ अर्ब २५ करोड खुद नाफामा सीमित हुँदै सबैभन्दा कम नाफा गर्ने वाणिज्य बैंक भएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा यस बैंकको खुद नाफा २३ प्रतिशतले घटेको छ। 

खराब कर्जा बढेसँगै नियामकीय प्रोभिजनिङहरू बढेकोले बैंकको नाफा घटेको हो।

गत आर्थिक वर्ष बैंकको खराब कर्जा ६०.६१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २.२६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.६३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष बैंकले निजी क्षेत्रतर्फ १ अर्बमात्रै कर्जा विस्तार गर्न सकेको छ।

गत आर्थिक वर्ष २ खर्ब ५० अर्बभन्दा बढी कर्जा प्रवाह भएकोमा बैंकले १ अर्बमात्रै कर्जा विस्तार गर्नुले बैंक औषतभन्दा निकै कमजोर रहेको देखिन्छ। बैंकको व्यवसाय विस्तार नहुनुमा सञ्चालक समिति र बैंकको सीईओबीच भएको द्वन्द्वलाई प्रमुख कारणको रुपमा हेरिएको छ। ग्राहकतर्फ गएको कर्जा अघिल्लो आर्थिक वर्षसम्म २ खर्ब २६ अर्ब रहेकोमा गत आर्थिक वर्ष १ खर्ब २७ अर्बमा सीमित भएको छ।

बैंकको व्यवसाय विस्तार हुन नसकेकाले पनि बैंकले नाफा बढाउन नसकेको हो। व्यवसाय विस्तार गर्न नसक्नुमा कोइरालाको उदासिनता प्रमुख कारण रहेको सञ्चालक समितिले दाबी गर्दै आएको छ। 

३ अर्ब ७६ करोड निक्षेप संकलन गरेर १ अर्बको हाराहारीमा मात्रै कर्जा लगानी गरेकाले बैंकले आफ्नो वित्तीय विवरणमा सुधार गर्न नसकेको हो। निक्षेपको तुलनामा कर्जा लगानी करिब ३ गुणाले कम हुँदा बैंकको लागत बढेको हो। गत आर्थिक वर्षसम्म बैंकको कुल निक्षेप संकलन १ खर्ब ५७ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षसम्म बैंकको यस्तो निक्षेप संकलन १ खर्ब ५४ अर्ब १७ करोड रहेको थियो। 

निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम हुँदा बैंकको ब्याज आम्दानी १३.७९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७९/८० बैंकको ब्याज आम्दानीमा १९ अर्ब २८ करोड रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ६१ करोड कायम भएको छ।

ब्याज आम्दानीसँगै बैंकले ब्याज खर्च कम देखाएकाले बैंकको खुद ब्याज आम्दानी करिब ३७ करोडले घटेको छ। गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब रहेकोमा अघिल्लो आर्थिक वर्ष ५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। बैंकको ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेको छ। 

बैंकले स्प्रेड दर (निक्षेप र कर्जाको ब्याजअन्तर) बढाएपछि गत आर्थिक वर्ष १ अर्ब २५ करोड नाफा भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षकै हाराहारीमा स्प्रेडदर कायम राख्ने हो भने बैंकको नाफा १ अर्ब २५ करोडभन्दा कम हुने निश्चित छ। अघिल्लो वर्ष बैंकको स्प्रेडदर ३.९५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ३.९८ प्रतिशत रहेको छ।  

साधारण जगेडाकोष, विदेशी विनियमय जगेडा र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जाने रकम छुट्याएर बैंकसँग नियामकीय समायोजनभन्दा अगाडि नाफा १ अर्बमात्रै रहेको छ। 

नियामकीय समायोजनपछि बैंकसँग वितरणयोग्य नाफा ४६ करोड ६४ लाखमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड वितरणयोग्य नाफा रहेकोमा गत आर्थिक वर्ष घटेर ४६ करोड ४६ लाखमा सीमित भएको हो। 

गत आर्थिक वर्षकको नाफाबाट बैंकले प्रतिकित्ता ४ रुपैयाँ मात्रै लाभांश वितरण गर्न सक्छ। अघिल्लो आर्थिक वर्षको नाफाबाट माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गरेको थियो। 

आर्थिक वर्ष २०७८/७९ मा बैंकले न्यीनतम पुँजीकोष अनुपात पुर्‍याउन नसकेको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। उक्त आर्थिक वर्ष लाभांश वितरण गर्न नपाएपछि गत आर्थिक वर्ष सबैभन्दा चाँडो साधारणसभा गर्दै बैंकले लाभांश घोषणा गरेको थियो।

लाभांश घोषणा गरेसँगै उपेन्द्र महतोले बैंकको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। गत आर्थिक वर्ष वीरेन्द्र महतोले १३.३ प्रतिशतले सेयर बढाएर सेयर बिक्री गर्न सफल भएका थिए। महतो परिवारलाई फाइदा पुग्नेगरी वित्तीय विवरण तयार पार्न कोइरालाले भूमिका खेलेको बताइन्छ।

गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा वाणिज्य बैंकहरूको खुद नाफामा सामान्य सुधार, नबिल पहिलो हुँदा माछापुच्छ्रे पुछारमा


प्रकाशित : बिहीबार , साउन २४ २०८११७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend