मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ जहाजले पूरा गर्‍यो ७० हजार उडान साइकल

मंगलबार, भदौ २५ २०८१
एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ जहाजले पूरा गर्‍यो ७० हजार उडान साइकल

उडानमा आफ्नो पूर्ण समय दिएको ‘नाइन एन-एआईएन’ जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ भएको पहिलो जहाज पनि हो।

काठमाडौं-  बुद्ध एयरको एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ जहाजले ७० हजार उडान साइकल पूरा गरेको छ। 

नेपाली आकाशमा उडान सुरु गरेको १६ वर्षपछि जहाजको ‘उडान साइकल’ समाप्त भएको हो। नेपालमा यो जहाजको पहिलो र अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ। ‘नाइन एन-एआईएन’ले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट पूरा गरेको छ। 

बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्याण्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेर बलियो आकृति बनाएको जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ। (एक टेकअफ र एक ल्याण्डिङबराबर एक उडान साइकल हुन्छ।)

उडानमा आफ्नो पूर्ण समय दिएको ‘नाइन एन-एआईएन’ जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ भएको पहिलो जहाज पनि हो।  

एटीआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च-इटालियन जहाज निर्माता कम्पनी हो। एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ ट्वीन टर्बोप्रप जहाज हो। ४७ जना यात्रु क्षमता रहेको यो जहाजमा ठूला ओभरहेड बिन्सका साथै आरामदायक क्याबिन रहेको छ। 

१० मिनेटभन्दा कम समयमा १५ हजार फिटबाट १७ हजार फिटको उचाइमा जान सक्ने यो जहाज शक्तिशाली जहाज मानिन्छ। उत्कृष्ट टेकअफ र सिंगल इन्जिन पर्फरमेन्स जुन ‘हट एण्‍ड हाई कन्डिसन’ मा पनि साथ दिने हुँदा यो जहाज राम्रो मानिन्छ। यसमा ‘सर्ट फिल्ड पर्फरमेन्स’ र ‘स्टेप एप्रोच क्यापाबिलिटी’ पनि उत्कृष्ट मानिन्छ।    

9n ain buddha air.jpg

यस्तै सुविधा रहेको एटीआर ‘नाइन एन-एआईएन’ सन् १९९७ डिसेम्बर २८ बाट उडानमा आएको जहाज हो। फ्रान्सेली क्षेत्रमा पर्ने टापु न्यू क्यालेडोनियाको एयर क्यालेडोनियाले सबैभन्दा पहिले यो जहाज उडान गरेको थियो।

बुद्ध एयरले उक्त ‘नाइन एन-एआईएन’ जहाज सन् २००८ को सेप्टेम्बरमा नेपाल ल्याएको थियो। सेप्टेम्बर ७ बाट यो जहाजले माउन्टेन उडानबाट नेपाली आकाशमा व्यावसायिक उडान सुरु गरेको थियो। 

नेपाली आकाशमा ४० हजार उडान साइकलमार्फत उडान गरेको ‘नाइन एन-एआईएन’ जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल उडान गरेको थियो। नियमित जाँच र मर्मतसम्भार गर्ने हो भने जहाज पुरानो हुँदैन र पूरा उडान समयसम्म सेवा दिन सक्छ भन्ने विषय यही जहाजले बुद्ध एयरमार्फत प्रमाणित गरेको छ।  

सुरक्षित उडानका लागि आवश्यक पर्ने सम्पूर्ण जाँच र मर्मतमा बुद्ध एयरले ध्यान दिएकै कारण ‘नाइन एन-एआईएन’ को सुखद अन्तिम बिदाइ हुँदै छ। यो जहाज अब फायर फाइटर तथा रेस्क्यू टिमलाई विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि हस्तान्तरण गरिने बुद्ध एयरले जनाएको छ। 

७० हजार उडान साइकलपछि ‘महाप्रस्थान’ हुन लागेको जहाज ७० हजार उडान साइकलपछि ‘महाप्रस्थान’ हुन लागेको जहाज


प्रकाशित : मंगलबार, भदौ २५ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend