मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

न्यारोबडी सी-चेकको समय नजिकिँदै, कम्पनी छनोटमा ढिलासुस्तीसँगै सेटिङको खेल सुरु

नाइन एन एकेडब्लूको उडान आवर अब एक हजार घण्टामात्रै

मंगलबार, भदौ ११ २०८१
न्यारोबडी सी-चेकको समय नजिकिँदै, कम्पनी छनोटमा ढिलासुस्तीसँगै सेटिङको खेल सुरु

काठमाडौं- नेपाल वायुसेवा निगमले आन्तरिक उडानका प्रयोग गरिरहेको दुईवटा न्यारोबडी ए ३२० जहाज सी-चेक समय नजिकिँदै छ। 

निगमसँग रहेको दुईवटा न्यारोबडी जहाजमध्ये कलसाइन नाइन एन एकेडब्लूको सी-चेकमा जाने समय दुई महिना बाँकी छ। यो जहाजको उडान घण्टा निगमका स्रोतका अनुसार एक हजार घण्टामात्रै बाँकी छ।

सरदर १५ घण्टाको दरमा उडान हुँदा अब दुई महिनामात्रै उडान हुन सक्छ। तर अझै पनि जहाज सी-चेकका लागि कम्पनी छनोट हुन सकेको छैन। 

सी-चेक कम्पनी छनोटमा ढिला गर्ने र अन्तिम समयमा छोटो समयको सूचना प्रकाशन गरी सेटिङको कम्पनी ल्याउने खेल भएको छ। 

यसैगरी निगमसँग नै रहेको नाइन एन एकेएक्स जहाज चाहिँ गत वर्ष इजरायलमा पाँच महिना ग्राउन्डेड हुँदा सी-चेक गर्नुपर्ने समय केही पर थकेलिएको छ।

१८ महिना अगाडि नै  जहाज २०२४ को नोभेम्बर र फेब्रुअरीमा सी-चेकमा लैजानु पर्ने जानकारी निगम व्यवस्थापन तथा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गराइएको थियो। तर अधिकारीले कमिसनका लागि कम्पनी छनोटमा ढिलासुस्ती गरिरहेका छन्।

अधिकारीले कमिसन बढी मिलाउन कम्पनीसँग सेटिङ फिक्स नहुँदासम्म टेन्डर गरेका छैनन्। सी-चेकका लागि कम्पनी छनोट नभएपछि अधिकारीले जहाजको घण्टा जोगाउन उडान तलिकामा समेत व्यापक कटौती गरेका छन्। 

दुबईमा सातामा ७ वटै उडान हुने गन्तव्यमा अहिले ४ वटा र मलेसियामा पनि ४ वटामात्रै उडान एयर बस ३२० न्यारोबडीबाट गराइरहेका छन्। जसको प्रत्यक्ष असर आम्दानीसँगै यात्रुमा पनि परेको छ।

अधिकारीले वाइडबडीको सी-चेकका लागि कम्पनी छनोटमा पनि ढिलासुस्ती गर्दै अन्तिम समयमा सेटिङमा इटालियन एटिटेकलाई छनोट गरेका थिए।

३० दिनमा जहाज दिने सर्तमा जहाज काठमाडौंबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिबेगर जहाज जुन २३ मा इटाली पुगेको थियो।

विवादपछि प्राधिकरणले सबै सर्त पूरा गराउँदै र अधिकारीलाई एकाउन्टेबल म्यानेजर पदमा निलम्बित गराउँदै जहाज सी-चेकका लागि छनोट भएको कम्पनीलाई जुन २७ मा नै अनुमति दिएको थियो। तर दुई महिना भइसक्दा पनि जहाज सी-चेक भएर नेपाल आएन सकेको छैन।

स्रोतका अनुसार सेप्टेम्बर १० भित्र जहाज नआउने निश्चित भएको छ। तर अधिकारी भने दिनदिनै जहाज आउने समय लम्बाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा मन्त्रालयसमक्ष झुट बोलिरहेका छन्।

यसैबीच तीन सय घण्टा सयम थप भएको अर्को वाइडबडी पनि बुधबार इटाली जाँदै छ। जसका कारण निगमको उडान अस्तव्यस्त भएको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend