बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

कलैयाबाट ठूलो परिमाणमा म्याद गुज्रिएका पेप्सी र स्लाइस बरामद

images
आइतबार, साउन २० २०८१
images
images
कलैयाबाट ठूलो परिमाणमा म्याद गुज्रिएका पेप्सी र स्लाइस बरामद

स्टोरमा म्याद गुज्रेको पेय पदार्थ र म्याद भएको पेय पदार्थ एउटै ठाउँमा मिसाएर राखेको पाइएको प्रहरीले जनाएको छ।

images
images

बारा- कलैयाबाट प्रहरीले ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ पेप्सी र स्लाइस बरामद गरेको छ।

images
images
images

मिति गुज्रिएका पेय पदार्थ बजारमा बिक्रीवितरण भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराको निर्देशनमा प्रहरीले कलैया उपमहानगरपालिका वडा नंं १ राजदेवी टोलमा रहेको केसरी एण्ड सन्स जेनरल स्टोरमा शुक्रबार राति छापा मारेको थियो। सोक्रममा उक्त स्टोरबाट करीब ४ सयभन्दा बढी क्यारेट पेप्सी र स्लाइस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी दिए।

‘बजारमा छ्यापछ्याप्ती म्याद गुज्रेको पेय पदार्थ बिक्रीवितरण भएको गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको थियो,’ उनले भने, ‘बजार अनुगमनको क्रममा पाएको सूचनाको आधारमा छापा मारिएको हो।’

images

छापा मारिएको स्टोरबाट बरामद भएको क्यारेटलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको उनले बताए। बरामद पेय पदार्थबारे थप अनुसन्धान भइरहेको र अहिले यसबारे केही बोल्न नमिल्ने प्रहरी उपरिक्षक खडकाले बताए।

images

स्टोरमा म्याद गुज्रेको पेय पदार्थ र म्याद भएको पेय पदार्थ एउटै ठाउँमा मिसाएर राखेको पाइएको अनुगमनमा खटिएका प्रहरी अधिकारीले बताए। स्टोरका सञ्चालकले म्याद गुज्रेको पेय पदार्थ अलग भण्डारण गरी सम्बन्धित कम्पनीलाई फिर्ता पठाउनुपर्नेमा त्यसो नगरेको पाइएको प्रहरीले जनाएको छ।

म्याद गुज्रेको पेय पदार्थ बजारमा बिक्री वितरण भइरहेको गुनासो आएपछि आफूले नै बजार अनुगमन गर्न टोली पठाएको बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। ‘म्याद गुज्रेको पेय पदार्थ फेला परेपछि ती पेय पदार्थ सप्लाइ गर्ने जेनरल स्टोरसम्म अनुगमन टोली पुगेको थियो,’ उनले भने, ‘स्टोरमा पुग्दा ठूलो परिमाणमा म्याद गुज्रेको पेय पदार्थ बरामद गरिएको छ।’ यसबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए।

pepsi.jpg

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले म्याद गुज्रेको मालसामान भण्डारण गर्ने प्रक्रिया नमिलेको बताए। ‘म्याद गुज्रेको मालसामान सम्बन्धित कम्पनीमा समयमै पठाउनुपर्छ,’ उनले भने, ‘यदि विलम्ब भए त्यसलाई उचित व्यवस्थापन गरेर बोर्ड नै राखेर डम्पिङ गर्नुपर्छ।’

म्याद गुज्रेको जुनसुकै मालसामानलाई बिक्री कक्षभन्दा बाहिर हटाएर डम्पिङ गर्न, यस्ता सामग्रीले मानवमा हुने असरलाई मध्यनजर गर्दै व्यापारीको प्रतिष्ठाको समेत ख्याल गरी मालवस्तु बिक्री वितरण गर्न उनले सबै बिक्रेतासँग आग्रह गरेका छन।

स्टोरका उद्धव प्रसाद केसरी भने होली पर्वकै समयमा बजारमा पठाइएको पेप्सी र स्लाइस म्याद गुज्रेको अवस्थामा पुगेको बताउँछन्। ‘अहिले पनि बजारमा म्याद गुज्रेका पेप्सी र स्लाइस छन्,’ उनको दाबी छ, ‘हामीले म्याद गुज्रेको पेय पदार्थ फिर्ता ल्याउने र म्याद रहेको पेय पदार्थ वितरण गर्ने काम गरिरहेका छौँ।’

कम्पनीमा समेत यसको जानकारी गराइसकिएको उनले जानकारी दिए। साउन मसान्तको अन्ततिर म्याद गुज्रेको सबै पेय पदार्थ फिर्ता पठाउने प्रक्रिया सुरु गरेकै अवस्थामा प्रहरीले छापा मारेको उनले बताए।

कम्पनीले समय बढाउँदा म्याद गुज्रेको सामान स्टोरमा थुप्रिन गएको र यसको फाइदा व्यक्तिगत दुश्मनी भएका व्यक्तिले उठाएको उनले गुनासो गरे। आफूहरुले म्याद गुज्रेको सामान बजारमा नपठाएको उनको दाबी छ।


प्रकाशित : आइतबार, साउन २० २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend