नेपाल चीन र भारतको बीचमा अवस्थित छ। तीनतर्फ भारत र एकतर्फ चीन रहेको नेपालको लम्बाइ ९०० किलोमिटर र चौडाइ १५० किलोमिटर छ। जहाँ तीन मुख्य भौगोलिक क्षेत्रहरू छन्। उत्तरमा अग्ला हिमाल र पहाडहरू छन्, त्यहाँबाट दक्षिणतिर जाँदा उपत्यकाहरू छन् र बाँकी समथर मैदान छन्।
उर्वर जमिन र घना जंगल भएको हाम्रो देशमा मुख्य पेशा कृषि हो। कृषिसँगै अन्य क्षेत्र पनि अगाडि बढ्दै गएका छन्। पहाडी र हिमाली क्षेत्र धेरै भएकोले नेपालका लागि उड्डयन अत्यावश्यक सेवा हो।
नेपालमा ५५ वटा आन्तरिक विमानस्थल छन्। तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्। आन्तरिकतर्फ समथर क्षेत्रमा १० विमानस्थल र हिमाली क्षेत्रमा ३३ विमानस्थल छन्।
धेरै ठाउँमा अझै पनि राम्रो सडक विस्तार हुन सकेको छैन। अझै गुणस्तरीय सडक सञ्जाल नहुँदा हवाई यातायात नै पहिलो सर्त हो।
धेरै स्थानमा विद्यार्थीहरूका लागि पुस्तकदेखि घरको भान्सामा चाहिने नुन र अत्यावश्यक लत्ताकपडामा पनि जहाजकै भर पर्नुपर्ने बाध्यता छ। त्यसैले अरु देशका लागि उड्डयन रमाइलो र सौखको विषय हुन सक्छ तर नेपालको लागि यो आधारभूत जीवनरेखा हो। यो यातायातको भरपर्दो माध्यम हो।
नेपालमा अहिले वार्षिक झन्डै १० लाखभन्दा बढी यात्रुहरूले वार्षिक रुपमा सेवा लिने गरेका छन्। नेपालको पहाडी, हिमाली उच्च भागमा विमानस्थलहरू रहेका छन्। उचाइ र त्यस्तै स्थानमा रहेका रनवेका साथै अप्रत्याशित मौसमका कारण क्यानडा र युरोपका जहाज निर्माताहरूले अधिकतम १२ हजार फिट उचाइमा जानेगरी साना जहाजहरू नेपालमा पठाइरहेका छन्। जसले नेपालको उच्च भागको उडानमा सहजता आएको छ।
नेपालको पहाडमा साँघुरो उपत्यकाहरू बीचमा विमान उडाउनुपर्ने बाध्यता रहेको छ। विमानको दुबै छेउमा अग्ला पहाडहरू छन्। विमान पहाडमुनि परेजस्तो भान हुन्छ। यही भौगोलिक अवस्था नेपालका लागि ठूलो चुनौती हो। यही कठिनाइका कारण अधिकांश मौसम पूर्वानुमानहरू नमिल्ने भएकोले नेपालको हिमाली क्षेत्रको उडानमा केही जोखिमसमेत हुने गरेको छ।
एक वा दुई मिनेटपछिको मौसम फेरिँदा यकीन गर्न मुस्किल हुन्छ। दुई सेकेन्डपछि बादल आएर ढाक्ने कुरा पूर्वानुमानभन्दा बाहिरको हुने गर्दछ।
नेपाल जलवायु परिवर्तनमा सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ। दुई विशाल छिमेकी चीन र भारतका कारण पनि नेपालले जलवायु परिवर्तनमा असर खेप्नु परेको छ। नेपालको सेतो हिउँका पहाडहरू कालो ढुङ्गामा परिणत भइरहेका छन्। बाह्र महिना बग्ने नदीहरू घट्दै गएका छन्। बाढी, हिमपहिरो, तालहरू फुट्ने घटनाहरू बढ्दो छ।
जलवायु परिवर्तन एक ठूलो समस्या बन्दै गएको छ। यो नेपालका लागि मात्रै समस्या होइन। जसका कारण अन्य देशका नदीहरू पनि सानो हुँदै गइरहेको छ। अन्य देशका सागर पनि संकुचित हुँदैछ। यसकारण एउटा महत्त्वपूर्ण चुनौतीको सामनाको चरणमा हामी छौँ।
नेपालको लागि जलवायु परिवर्तन एउटा महत्वपूर्ण मुद्दा हो र नेपालले यसलाई सबै अर्थमा न्यूनीकरण गर्नुपर्छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई सहयोग आवश्यक रहेको छ। नेपालले दुःख पाउँदा जलवायुका समस्यामा बाँकी संसारले पनि दुख भोग्नु पर्दछ।
सानो देश र आर्थिक रूपमा सक्षम नभएकाले नेपालका लागि जनशक्तिको पनि चुनौती छ। कामको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ।
नेपालमा लगानीका प्रमुख क्षेत्रहरू पर्यटन, जलविद्युत र उड्डयन रहेको छ। नेपालमा प्रशस्त हिमताल छन्। सर्वोच्च शिखर सगरमाथा मात्र होइन नेपालमा ठूला हिमालहरू दर्जनौँ छन्। पर्वतारोहण, पदयात्रा, साहसिक पर्यटन जस्तै प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइडाइभिङको विकास बढ्दै गएको छ। हिमाल र पहाडमा पर्यटनको सम्भावना बढ्दो छ।
घना जङ्गलहरू र धेरै राष्ट्रिय निकुञ्जहरूसमेत नेपालमा रहेको छ। एकसिङे गैंडा, हात्ती र लोपोन्मुख अन्य जनावर र पक्षीहरू रहेका छन्।
नेपालमा अहिले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको अवस्था छ। नेपालमा विमानस्थल पूर्वाधार तयार छ। नेपाललाई अहिले एयरलाइन्समा थप लगानी चाहिएको छ। होटेल, रेस्टुरेन्टलाई चलायमान बनाउँदै नेपालमा पर्यटन हब बनाउनका लागि विदेशी एयरलाइन्सहरुको सिधा उडान आवश्यक पर्दछ। त्यसैले पर्यटनमा लगानीको अवसर छ। नेपालमा लगानीमैत्री नियमावली, कानूनी प्रावधान, भिसा प्रणाली सबै लगानीमैत्री छ।
नेपालमा अर्को महत्त्वपूर्ण ठाउँ गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो। विश्वभरका लाखौँलाख बौद्ध धर्मावलम्बीहरू लुम्बिनी भ्रमणमा जाने गरेका छन्। लुम्बिनीमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेर सञ्चालनमा रहेको छ। बौद्ध धर्मावलम्बीहरूलाई प्रत्यक्ष रूपमा भगवान बुद्धको जन्मस्थलसँग जोड्न थप कामहरू गर्नुपर्ने आवश्यकता रहेको छ। जसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक छ।
नेपालमा लगानीका लागि अर्को उपयुक्त क्षेत्र जलविद्युत पनि हो। जहाँ ८३ हजार मेगावाट क्षमता जलविद्युतमा छ। त्यो बिजुलीबाट उद्योग, विमानस्थल आदि चलाउन सकिन्छ।
नेपालमा दिगो ऊर्जामा पनि ठूलो सम्भावना छ। कृषिमा काम गर्नका लागि पनि नेपालमा धेरै उर्वर भूमिहरू छन्। जैविक फलफूल, जैविक तरकारीहरूतर्फ बढ्नको लागि धेरै सम्भावना रहेको छ।
(नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले साउदी अरेबियाको रियादमा जारी 'फ्युचर एभिएसन फोरम २०२४' मा राखेको विचारको सम्पादित अंश।)