आइतबार, भदौ २३ गते २०८१    
images
images

अपारदर्शी निगम : कार्यकारी अध्यक्ष अधिकारीको वित्तीय अराजकतामा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म मौन

वित्तीय विवरणदेखि खरिदको सूचना गायब, तथ्यतथ्यांक नियाल्दा देखिन्छ बिघटनको संघार

images
आइतबार, जेठ ६ २०८१
images
images
अपारदर्शी निगम : कार्यकारी अध्यक्ष अधिकारीको वित्तीय अराजकतामा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म मौन
images
images

काठमाडौं- गएको वर्ष पुसमा नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलको हस्ताक्षरसहितको एउटा विज्ञप्ति जारी भयो। विज्ञप्तिमा उल्लेख गरिएको थियो २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा निगमको आम्दानी १ सय ४४ प्रतिशतले वृद्धि भयो।

images
images
images

आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८ सय ४५ र २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३ सय ३३ रुपैयाँ आम्दानी गरेकोमा २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको विवरण सार्वजनिक गरिएको थियो।

तर त्यसबेला निगमको खर्च विवरण सार्वजनिक भएन। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने विषयमा अध्ययन थालेसँगै नेपाल एयरलाइन्सले झुटो विवरणको प्रचार सुरु गरेको थियो। सोही विषयमा अध्ययन नै नगरी राष्ट्रिय स्वतन्त्त्र पार्टीले समेत निगमको बचाउमा विज्ञप्ति जारी गरेको थियो। 

पुसमै झुटो आम्दानी विवरण सार्वजनिक गरेको निगमले चालु आवको १० माहिना पूरा भइ ११ महिना लागिसक्दा पनि गत आर्थिक वर्ष २०७९/०८० को खर्च तथा नाफा घाटाको विवरण सार्वजनिक गर्न सकेको छैन। 

images

निगम प्रवक्ता पौडेलसँग आम्दानी सँगै खर्चको विवरणबारे सोध्दा बेला आएपछि सार्वजनिक हुने मात्रै बताइरहेका छन्। तर गत आर्थिक वर्षको कुनै विवरण सार्वजनिक भएको छैन। गत आवको १० महिनामा निगमले १६ अर्ब ९६ करोड रूपैयाँको आम्दानी गरेर १९ अर्ब १३ करोड रूपैयाँ खर्च गरेको छ।

सोही आधारमा निगमको गत आवमा ३ अर्बभन्दा बढी घाटा छ। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। वित्तीय विवरण लुकाउन वाइडबडी जहाज खरिदमा भ्रष्टाचार आरोपसहित मुद्दा झेलिरहेका निगमका तत्कालीन अर्थ विभाग प्रमुख उमेश पौडेलले साथ दिएका थिए।

जहाज खरिदमा लिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकमसमेत आंशिक रुपमा मात्रै तिर्ने काम भएको छ। दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी जहाज खरिदमा लिएको ऋण बढेर ४४ अर्बको हाराहारीमा पुगिसकेको छ।

निगमले २०७१ सालमा दुईवटा न्यारोबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषसँग १० अर्ब र २०७४ सालमा दुईवटा वाइडबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको २४ अर्ब रुपैयाँसहितको ऋण २०८१ सालमा आइपुग्दा ४४ अर्बको हाराहारीमा पुगेको छ। तर निगमको व्यापार र बजार हिस्सा भने घटेको घट्यै छ।

निगम कार्यकारी अध्यक्षको मनपरी र अराजकतामा पूर्वपर्यटनमन्त्री प्रेम आले र सुदन किरातीले साथ दिएका थिए। सुरुवाती चरणमा सहयोग गरेपनि आलेले जाने बेलामा भने अधिकारीलाई बर्खास्तसम्म गरेका थिए। तर अधिकारीले सर्वोच्चबाट अन्तरिम आदेश ल्याएर अहिले सेटिङमा पेसी सार्दै पदमा बसिरहेका छन्। अहिले पनि अधिकारीकै कारण निगममा वित्तीय अराजकता बढेको छ।

कुनै पनि खरिद सम्झौता पारदर्शी छैन। वर्तमान पर्यटनमन्त्री हितबहादुर तामाङले समेत अधिकारीलाई केही कारबाही गर्न सकेका छैनन्। अधिकारी समक्ष सबै मुकदर्शक बन्ने गरेका छन्। अधिकारीले निगममा सेटिङको आतंक नै खडा गरेका छन्। 

yubraj.jpg

न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा अधिकारीको लापरबाही

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी जहाज उडाइरहेको छ। २०२१ को डिसेम्बरदेखि निगममा न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडाको खेल सुरु भइसकेको थियो।

यो खेलबाट निगमले ६ अर्बभन्दा बढी आम्दानी गुमाइसकेको छ।  त्यति मात्रै नभइ इन्जिन मर्मतमा दुई अर्बभन्दा बढी खर्च गरिसकेको छ। तीनवटा इन्जिन मर्मत भइसकेको छ भने एउटा इन्जिन २०२३ को नोभेम्बर ३० देखि बिग्रिएर बसेको छ। तर इन्जिन कहिले बन्छ निगमलाई नै थाहा छैन।

पछिल्लो पटक २०२३ को जुन २० मा बिग्रिएको न्यारोबडी जहाजको इन्जिन २०२४ को अप्रिल २८ मा मर्मत भयो। त्यसपछि २०२३ को नोभेम्बर ३० देखि ग्राउन्डेड जहाज एउटा भाडाको इन्जिन प्रयोग गरेर उडानमा छ।  

निगमको नाइन एन एकेडब्लू जहाज २०२१ को डिसेम्बर २७ मा कतारमा अवतणपछि पार्किङ-वे मा लैजाँदै गर्दा इन्जिनमा समस्या देखियो। जहाजको इन्जिन मर्मत नगरी उडान गर्न नमिल्ने भयो।

त्यो जहाजको इन्जिनमा समस्या आउँदै छ भनेर निगमको इन्जिनियरिङ विभागले समस्या आउनुभन्दा ६ महिना अगाडि नै व्यवस्थापनलाई जानकारी गराउँदै इन्जिन मर्मत तथा भाडामा लिने कम्पनी छनोट गर्न सुझाव दिएको थियो। तर अध्यक्ष अधिकारीको टिमले कुनै तयारी गरेन। जहाज २०२१ को डिसेम्बरदेखि कतारमै ग्राउन्डेड भयो। जहाज २०२२ को मार्च ५ बाट भाडाको इन्जिन राखेर उडानमा आयो।

इन्जिन बल्लबल्ल मर्मतका लागि पठाइयो। जहाज उडेपनि नउडेपनि दैनिक २ हजार डलरसँगै प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर तिर्ने गरी इन्जिन भाडामा लिएर नाइन एकेडब्लू 'सगरमाथा' जहाज उडानमा आएको थियो। तर यही जहाजमा पुन: २०२२ को जुलाई १७ मा अर्को इन्जिनमा समस्या आएर ग्राउन्डेड भयो। मार्चमा मर्मतका लागि पठाइएको इन्जिन मर्मत भएको थिएन।

दैनिक २ हजार डलर खर्च गर्दै जहाज २०२२ को सेप्टेम्बरसम्म ग्राउन्डेड भयो। सेप्टेम्बरमा २०२१ को डिसेम्बरमा बिग्रिएर मार्चमा मर्मतका पठाइएको इन्जिन मर्मत गरेर जहाज उडानमा आयो। यो बीचममा जहाज साढे २ महिना ग्राउन्डेड भयो। तर जहाजमा प्रयोग भएको इन्जिनको भाडामा भने दैनिक २ हजार डलर खर्च भइरह्यो। 

२०२२ को सेप्ट‍ेम्बर ३० देखि जहाज उडानमा आयो। उक्त इन्जिन २०२३ को अगस्टमा मर्मत भयो। भाडाको इन्जिन २०२३ को अगस्ट १२ मा प्रयोग भयो। ९० दिनका लागि भनेर भाडामा लिएको इन्जिन भने जहाजबाट २० महिनापछि झिकियो।

२० महिनाको इन्जिन भाडाबापत मात्रै निगमले ३७ करोड ७७ लाख भुक्तानी दिएको विवरण बिजनेस न्युजले प्राप्त गरेको थियो। यो दुईवटा इन्जिन बनाउन निमगले करिब १ करोड डलर खर्चसमेत गरेको छ।

जुन रकम अस्वभाविक भएको निगमकै इन्जिनियरिङ विभागका कर्मचारीहरू बताउँछन्। 

तर यही बीचमा निगमको अर्को न्यारोबडी जहाज नाइन एन एकेएक्स इन्जिनकै कारण ग्राउन्डेड भइसकेको थियो। जहाज २०२३ को जुन २० देखि ग्राउन्डेड थियो।

यही बीचमा सेटिङमा कार्यकारी अध्यक्ष अधिकारीले इजरायलको आईएआईसँग नै इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने  सम्झौता गरेका थिए। २०२३ जुन २० मा ग्राउन्डेड जहाज सेप्टेम्बर २८ मा भाडाको इन्जिन हालेर उडानमा आयो। इन्जिन ६५ दिनभित्रै मर्मत गर्ने र लागत ५१ लाख डलर लाग्ने अनुमान सहित इजरायलमा निगमले इन्जिन छोडेर आयो।

सेप्टेम्बर २८ बाट भाडाको इन्जिन राखेर जहाज उडानमा आयो।  फेरि २०२३ को  नोभेम्बर ३० मा त्यही जहाजको अर्को इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। सेप्टेम्बर ३० मा मर्मतका लागि इजरायल छोडिएको इन्जिन मर्मत भएको भए जहाज ग्राउन्डेड हुने थिएन। तर कम्पनीले समयमा नै इन्जिन मर्मत गरेन। इन्जिन मर्मत नगर्नुको कारण त्यो जहाजमा प्रयोग भएको भाडाको इन्जिन पनि जुन कम्पनीलाई इन्जिन मर्मत गर्न दिइएको थियो उसकै थियो।

उसलाई इन्जिन भाडाबापतको रकम आइरहेको थियो भने निगम कार्यकसरी अध्यक्ष अधिकारी तथा उच्च व्यवस्थापनलाई पनि भाडाबसपतको रकमबाट कमिसन आइरहेको थियो। इन्जिन मर्मत समयमा नै नगरेको कम्पनीले जहाज उडानका लागि भाडाको इन्जिनसमेत उपलब्ध गराएन। ग्राउन्डेड जहाजको विषयमा प्रश्न उठन थाल्यो। अधिकारीले जनवरी ११ मा जहाज इजायल नै पठाइदिए। 

जहाज इजायलमा ४ महिनासम्म रोकियो। सेप्टेम्बरमा मर्मतका लागि पठाइएको इन्जिन २०२४ को अप्रिलमा २८ मा मर्मत भयो। मर्मत इन्जिन २०२३ को नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकर त्यसको ठाउँमा प्रयोग गरियो। सेप्ट‍ेम्बर ३० देखि लिएको भाडाको इन्जिन राखेर जहाज उडानमा आयो।

अहिले निगमको दुईवटै न्यारोबडी जहाज उडानमा छन्। तर नाइन एन एकेएक्स जहाजमा भने एउटा इन्जिन भाडाको प्रयोग भइरहेको छ। इन्जिन भाडामा दैनिक २ हजार डलर, प्रतिसाइकल २ सय ३९ डलर र प्रतिघण्टा २ सय ७८ डलर खर्च भइरहेको छ। 

नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मत अझै सुरु भएको छैन। मर्मतको जिम्मा पाएको कम्पनीले इन्जिन मर्मतको लागत नै पठाएको छैन। सेप्टेम्बरमा मर्मतका लागि ५१ लाख डलर लागत अनुमानसहित पठाएको इन्जिनको बील भने ७४ लाख डलर पठाएपछि निगमका खैलाबैला भएको थियो।

जहाज ग्राउन्डेड भएपछि आम्दानी गुमेको विषय उठेपछि त्यसलाई थामथुम पार्न अध्यक्ष अधिकारी अध्ययन कमिटी गठनको नाटक मञ्चन गरिरहेका छन्।  

नाइन एन एकेएक्स जहाज ग्राउन्डेड हुँदा मात्रै निगमले ३ अर्ब रुपैयाँ गुमाएको निगम स्रोतको दाबी छ। निगम व्यवस्थापनले अहिलेसम्म इन्जिन मर्मत तथा भाडामा भएको खर्चको विवरण सार्वजनिक गरेको छैन।

खरिदका सबै सूचना वेबसाइटबाट गायब, प्रगतिको छैन अत्तोपत्तो

निगम कार्यकारी अध्यक्ष अधिकारीले सबै खरिद सेटिङमा गरिरहेका छन्। कुनै पनि खरिद समय हुँदा नै नगर्ने र अन्तिम समयमा गर्ने गरेको देखिन्छ। जसमा सेटिङको कम्पनीबाट सामान खरिद गरिरहेका छन्। निगमको कुनै पनि खरिद प्रक्रिया पारदर्शी छैन। निगमले दसैँ बिदाको समयमा तीनवटा स्टल उडानका लागि जहाज खरिदको टेन्डर गरेको थियो। 

निगमले २०८० को कात्तिक ५ गते तीनवटा जहाज खरिदका लागि टेन्डर गरेको थियो। जुनदिन दसैँको अष्टमी थियो। यसरी भएको टेन्डर प्रक्रिया कहाँ पुगेको छ भन्नेमा निगमले कुनै जानकारी गराएको छैन। मात्रै मूल्यांकनको चरणमा छ भनिरहेको छ। जहाज खरिदका लागि सार्वजनिक भएको ट‍ेन्डर सूचना निगमको आधिकारी वेबसाइटबाट हटाइसकेको छ। 

२०८० कै माघ २३ गते दुईवटा न्यारोबडी जहाज भाडामा लिने भन्दै गरेको टेन्डरको सूचनासमेत वेबसाइटबाट लुकाइसकेको छ। जहाज भाडामा लिन प्रक्रिया कहाँ पुगेको छ, कुन-कुन कम्पनीले प्रस्ताव गरेका छन् भन्ने कुनै जानकारी निगमले दिएको छैन। प्रवक्ता तथा सूचना अधिकारी आफूहरूलाई सूचना प्राप्त नभएको मात्रै जानकारी गराइरहेका छन्।

यसैगरी तीनवटा वाइ १२ र २ वटा एमए ६० जहाज व्यवस्थापनका लागि गरिएका सार्वजनिक सूचनाहरू समेत वेबसाइटबाट लुकाइएको छ। जहाज व्यवस्थापनको विषयमा भएको कुनै विषय बाहिर आएको छैन। वाइडबडी ३३० को सीचेकका लागि भएका यसअघिका दुईवटै सूचना लुकाइएको छ। १५ दिनको समय दिएर जेठ ४ गते गरिएको सूचनामात्रै सार्वजनिक गरिएको छ।  

साथै १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लगानीका लागि माग गरिएको सूचना समेत वेबसाइटमा लुकाइएको छ। यस विषयमा जानकारी माग्दा अध्ययनकै चरणमा रहेको मात्रै निगमले सूचना दिने गरेको छ। यी त उदाहरण मात्रै हो। निगमले अधिकांश खरिदका सूचना वेबसाइटबाट लुकाउने गरेको छ। यसको एउटै रहस्य सबै खरिद सेटिङमा हुने गरेको छ। 

खरिद सम्झौताका कुनै सूचना प्रकाशन हुँदैन। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिदका प्रक्रिया सबै सूचना सार्वजनिक हुनुपर्छ। तर निगमको जिम्मेवारीमा अधिकारी आएपछि खरिदका लागि टेन्डर हुँदा सूचना जारी गरेपनि कम्पनी छनोट र रकमको विवरण खुलेको कुनै पनि सूचना निगमको आधिकारिक वेबसाइटमा आउँदैन।

किनकि निगमको खरिद प्रक्रियामा ब्रम्हलुट छ। अधिकारको लुट रजगजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत साथ दिएको छ। निगम अध्यक्ष अधिकारीले संसदीय समितहरूले मागेको विवरण अपूरोमात्रै दिने गरेको छन्। विभागीय मन्त्रालयल  निगमको लुटतन्त्रको साक्षी मात्रै छ।

अब वाइडबडी ग्राउन्डेडको च्रक सुरु हुँदै, सेटिङको कम्पनी छनोटका लागि तेस्रोपटक सूचना

२०२१ को डिसेम्बरदेखि निगमको न्यारोबडी जहाज ग्राउन्डेड चक्र सुरु भएको थियो। यो चक्र भाडाकै इन्जिन प्रयोग गरेर भएपछि २०२४ को अप्रिल २८ बाट सकिएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा उच्च व्यवस्थापनको लापरबाहीका कारण जुन २५ देखि निगमको एउटा वाइडबडी र जुलाई २४ देखि अर्को जहाज ग्राउन्डेड हुने भएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटै वाइडबडीको सम्पूर्ण जाँच हुने 'सी चेक'को तेस्रो पटकको समय आइसकेको छ। तर सी चेकका लागि कम्पनी छनोट भएको छैन। कम्पनी छनोटका लागि जेट ४ गते तेस्रोपटक १५ दिनको समय दिएर सूचना प्रकाशन गरेको छ। 

अब सबै प्रक्रिया पूरा गरेर कम्पनी छनोट गर्न थोरैमा साढे दुई महिना समय लाग्छ। त्यसमा निगमको विगतलाई हेर्न हो भने तीन महिना अगाडि कम्पनी छनोट हुने छैन। निगमको वाइडबडी नाइन एन एएलवाई जुन २५ र नाइन एन एएलजेटको अनिवार्य सी चेक समय जुलाई २४ हो। अहिलेसम्म यसका लागि कम्पनी छनोट भएको छैन।

यी जहाज सी चेकका लागि जाने समय दुई वर्षअगाडि नै थाहा थियो तर निगम व्यवस्थापनले १८ महिनसम्म जहाजको सी चेकका लागि कम्पनी छनोट प्रक्रिया सुरु गरेन। निगम व्यवस्थापनले अन्तिम समयमा टेन्डर गरेर हतार हतारमा आर्थिक लाभ लिने र कम्पनी छनोट प्रक्रिया सुरु गरेको थियो।

कम्पनी छनोटका लागि पहिलो पटक भएको टेन्डर तथा दोस्रो पटक १५ दिनको थप समयमा प्रस्ताव पेस गरेका कम्पनी अयोग्य भएसँगै पुन: तेस्रो पटक टेन्डर सूचना प्रकाशन भएको छ। अहिले जसरी काम भइरहेको छ सोही हिसाबले हेर्ने हो भने जुन २५ होइन जुलाई २४ सम्म पनि जहाज सी चेकका लागि कम्पनी छनोटको सम्भावना छैन।

त्यसका पनि वाइडबडी जहाज खरिदमा सहभागी हुँदा कर्मचारीलाई समेत भ्रष्टाचारको मुद्दा दर्ता गरेका कारण खरिद प्रक्रियामा कर्मचारीहरू सहभागी हुन डराइरहेका छन्। निगम स्रोतका अनुसार माथिबाट सेटिङमा कम्पनी छनोट हुने प्रक्रियमा सहभागी भएर जागिर धरापमा राख्न कोही पनि कर्मचारी तयार छैनन्।

निगमले जहाज सी चेकका लागि भन्दै कम्पनी छनोट प्रक्रिया २०२४ को फेब्रुअरी १४ बाट सुरु गरेको थियो। सुरुमा ४५ दिनको समय दिएर कम्पनी छनोटका लागि प्रस्ताव माग गरिएको थियो।

उक्त समयमा एउटा मात्रै कम्पनीको आवेदन आएपछि पुन मार्च ३० मा १५ दिनको समय थप गरिएको थियो। थप भएको समयमा समेत गरी दुईवटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्ट्राटेजिक एभिएसन र एटिटेक एस.पी.ए. कम्पनीले प्रस्ताव पेस गरेका थिए। एटिटेक एसपीए नामको इटालियन कम्पनीलाई ठेक्का दिने सेटिङ अध्यक्ष अधिकारीले गरेका थिए।

तर मूल्यांकन कमिटीले प्रस्ताव पेस गर्ने दुईवटै कम्पनी अयोग्य ठहर गरिदिएका छन्। अधिकारीले पहिले नै एटिटेकलाई सी चेकको काम दिने गरी काम गरेका थिए। मूल्यांकन कमिटीको कारण अधिकारीलाई धक्का लागेको छ। फेरि  भइको टेन्डर मार्फत त्यही कम्पनीले काम पाउने छ। 

त्यसका पनि ठूलो खरिद भएका कारण कम्पनी छनोटको विषय संसदीय समितिसम्म पुगेको अवस्थामा झन ढिला हुने छ। जसका कारण निगमको वाइडबडी जहाज ग्राउन्डेडको च्रक सुरु हुने छ।

जहाज समयमा नै सी चेक गर्न नसकेको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अवस्थाको विश्लेषणपछि केही समय थप गर्न सकिने व्यवस्था भएपनि त्यसका लागि अनुरोध गर्ने समय समेत गइसकेको छ। जसका कारण निगमका दुईवटै वाइडबडी ग्राउन्डेड हुने भएको छ।

एउटा वाइडबडी ग्राउन्डेड हुँदा निगमले दैनिक साढै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने छ। यसका लागि निगमले एक वर्ष अगाडि नै कम्पनी छनोट प्रक्रिया सुरु गर्नु पर्ने थियो।

जहाज यो मितिमा सी चेकमा पठाउनु पर्ने निश्चित हुँदा पनि कम्पनी छनोट नगरेर निगमलाई घाटा गराउने खेल अध्यक्ष अधिकारीबाट भएको निगम स्रोतको दाबी छ।

दुई करोड गायबमा छैन मतलब

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीको लापरबाहीका कारण ह्याकरले दुई करोड रुपैयाँ लगेको ९ महिना भइसकेको छ। तर रकम फिर्ता भएको छैन। रकम गायब बनाउने कर्मचारीलाई समेत कुनै कारबाही भएको छैन। अहिले रकमको विषयमा जानकारी लिन जाने भन्दै कर्मचारीलाई दुबई घुम्न जाने कारण बनेको छ।

केही साता अगाडि पनि दुईजना कर्मचारी यही विषयमा अध्ययनका लागि दुबई गएर आएका छन्।  तर अहिलेसम्म निगमले रकम फिर्ता ल्याउन सकेको छैन। निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण ह्याकरले करिब दुई करोड रूपैयाँ लगेको हो। कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रूपैयाँ ह्याकरले लगेको थियो।

ह्याकरले निगमको दुबई स्टेसनको ईमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको हो। ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीनपटकसम्म गरी दुई करोड रकम हालेकी हुन्। सुवेदीलाई अहिले काठमाडौं तानिएको छ।

गल्ती गर्ने कर्मचारीलाई निलम्बन गरेर छानबीन गर्नुपर्ने भएपनि कुनै कारबाही नगरी कार्यकारी अध्यक्ष युवराज अधिकारीले जिम्मेवारीमा नै काम गराइरहेका छन्। अस्मिता सुवेदीले २०२३ को अगस्ट १ मा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ मा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ मा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा रकम हालेकी थिइन्।

तत्कालीन सयममा प्रति एक दिराम बराबर ३६ रूपैयाँको हिसाबमा ५ लाख ३५ हजार ८ सय ५५ दिराम बराबर १ करोड ९२ लाख ९० हजार ७ सय ८० रूपैयाँ ह्याक भएको हो। उक्त रकम अहिलेसम्म पनि फिर्ता आउन सकेको छैन।

रकम ह्याक भएको विषय संसदीय समितिमा समेत उठिसकेको छ। कार्यकारी अध्यक्ष अधिकारीले सबैलाई रकम आउने बताएपनि अहिलेसम्म रकम निगमको खातामा आएको छैन। निगम सञ्चालकहरूले समेत अधिकारीलाई बारम्बार यो विषयमा प्रश्न गरिरहेको एक सञ्चालकले बताए। तर कार्यकारी अध्यक्ष अधिकारीले रकम आउँछमात्रै भन्दै त्यसबाहेक कुनै विवरण बोर्डमा दिएका छैनन्।  

इतिहासमै सबैभन्दा बढी घाटा ब्यहोर्दै

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा मासिक ४५ करोड रुपैयाँसम्म आम्दानी गुमेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन मसान्तसम्ममा निगमले जम्मा सवा १० अर्ब रुपैयाँ आम्दानी गरेको छ।

जुन अति नै न्यून हो। निगम स्रोतमा अनुसार खर्च भने विगतका वर्षहरूमा भन्दा बढी छ। तर आम्दानी घट्दो छ। निगमको आम्दानी न्यारोबडी जहाज ग्राउन्डेड हुँदा घटेको निगम प्रवक्ता रमेश पौडेल बताउँछन्।

आम्दानी घटेपनि खर्च रकममा भने समस्या नरहेको उनको तर्क छ। अहिलेसम्मको आम्दानीलाई हेर्दा यो पटक निगम इतिहासमै सबैभन्दा बढी नोक्सानीमा जाने छ। तर निगमले गत आर्थिक वर्ष २०७९/०८० मा कति घाटामा गएको हो तथ्यांक भने सार्वजनिक गरेको छैन। गत आवको साउनदेखि बैशाखको १० महिनाकै अवधिमा निगमले २ अर्ब १६ करोड नोक्सानी ब्यहोरेको थियो। 

निगम स्रोतका अनुसार गत आवमा निगमले ३ अर्बको हाराहारीमा नोक्सानी ब्यहोरेको थियो। यसअघि निगमले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष निगमले ४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो। उक्त वर्ष बढी नोक्सानी हुनको प्रमुख कारण कोराना महामाहरी थियो।

चालु आवमा ८ महिनाको व्यापार हेर्दा निगमले अब बाँकी ४ महिनामा ५ देखि ६ अर्ब आम्दानी गर्ने छ। ६ अर्ब आम्दानी गरेको अवस्थामा निगमले सवा १६ अर्ब आम्दानी पुर्‍याउने छ।

तर गत आवको १० महिनामै निगमले १६ अर्ब ९६ करोडको आम्दानी गर्दा पनि खर्च २ अर्ब १६ करोडले बढी थियो, यही हिसाबमा निगमले चालु आवमा ५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्ने अवस्था देखिएको छ।  चालु आवको ८ महिनामा सबैभन्दा बढी आम्दानी भएको महिना कात्तिक हो।

कात्तिकमा निगममा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ४ वटै जहाज (२ वटा वाइडबडी र २ वटा न्यारोबडी) उडानमा थिए। उक्त महिना निगमले १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर अन्य कुनै पनि महिना निगमको ४ वटै जहाज एकसाथ उडानमा छैन।

असोज २० गतेबाट मंसिरको १४ गतेसम्म  निगमका ४ वटै जहाज उडानमा थियो। सोही कारण चालु आवको कात्तिकमा निगमले सबैभन्दा बढी १ अर्ब ६५ करोड ७७ लाखको आम्दानी गरेको थियो। मंसिरको १४ दिन पनि ४ वटै जहाज उडानमा थियो। जसकारण मंसिरमा कात्तिकको तुलनामा १५ करोडमात्रै कम आम्दानी गरेको थियो।

मंसिरमा भने १ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो।  यसैगरी असोजमा पनि २० दिन निगमका ४ वटै जहाज उडानमा थिए। जसका कारण निगमको आम्दानी कात्तिकको तुलनामा १९ करोड रुपैयाँले मात्रै घटेको थियो। मंसिर १४ गतेदेखि निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएसँगै निगमले माघमा ५१ करोड र फागुनमा ४८ करोड रुपैयाँ आम्दानी गुमाएको छ।

निगमले चैतमा झन बढी आम्दानी गुमाउने छ। चैत पर्यटकीय सिजन हो। पर्यटकीय सिजनमै निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड थियो।  पुस र माघको तुलनामा थोरै आम्दानी बढनुको कारण पर्यटकीय सिजन सुरु भएसँगै टिकटको मूल्य केही बढ्नु हो। माथिको विवरणलाई हेर्दा निगमको एउटै न्यारोबडी जहाजको मासिक आम्दानी ३० करोडदेखि ४५ करोड रुपैयाँसम्म देखिएको छ। टिकटको मूल्य र अकुपेन्सी दरमा निगमको आम्दानी केही तलमाथि भइरहेको छ। 

२५ प्रतिशतबाट निगमको बजार हिस्सा १२ प्रतिशतमा झर्‍यो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बजार हिस्सा निरन्तर रुपमा ओरालो लागिरहेको छ। निगमको बजार हिस्सा घट्दा विदेशी वायुसेवा कम्पनीको उपस्थिति बढ्दो छ। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको सन् २०२४  पहिलो ३ महिनाको तथ्यांकअनुसार निगमको बजार हिस्सा १२.१२ प्रतिशतमा झरेको छ।

सन् २०२३ को अन्त्यसम्ममा निगमको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। निगमको एउटा न्यारोबडी जहाज ग्राउन्डेड भएसँगै निगमको बजार हिस्सा झन घटेको हो। निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीको टिम आएसँगै निगमको बजार हिस्सा घटेको घट्यै छ।  सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्‍याएको निगम सन् २०२३ मा १०.७९ प्रतिशत बिन्दुले खस्किएको थियो।

सन् २०२३ को कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। सन् २०२४ को ३ महिनामा निगमको बजार हिस्सा २ प्रतिशतभन्दा बढीले घटेको छ। निगमको बजार हिस्सा मात्रै घटेको छैन मासिक आम्दानी पनि ४० देखि ५० करोड रुपैयाँले घटेको छ। 

६ वर्षमा निगमको घाटा साढे १५ अर्बभन्दा बढी

नेपाल वायुसेवा निगम पछिल्लो ६ वर्षदेखि निरन्तर घाटामा छ। निगमले लामो दुरीका गन्तव्यमा उडान गर्ने वाइडबडी ल्याएदेखि निगम निरन्तर घाटामा गएको हो।

निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन कार्यदलले दिएको तथ्यांकअनुसार निगमले पछिल्लो ६ वर्षमा १५ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी घाटा बेहोरिसकेको छ। कार्यदलले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको रिपोर्टमा आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा निगमको घाटा १५ अर्ब ५५ करोड रूपैयाँ छ।

जसमा पछिल्लो आर्थिक वर्ष २०७९/०८० को साउनदेखि बैशाखसम्मामात्रै २ अर्ब १६ करोड रूपैयाँ घाटामा रहेको छ। त्सपछिको विवरण निगमले कुनै विवरण सार्वजनिक गरेको छैन। घाटा झन चुलिदो छ। आर्थिक वर्ष २०७४/०७५ मा निगमले ९ करोड ३३ लाख नोक्सानी बेहोरेको थियो। उक्त वर्ष निगमले कुल ११ अर्ब २० करोडको आम्दानी गर्दै ११ अर्ब २९ करोड रूपैयाँ खर्च गरेको थियो।

यसैगरी निगमलाई आर्थिक वर्ष ०७५/०७६ मा २ अर्ब ६३ करोड नोक्सानी भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ मा ३ अर्ब ७६ करोड नोक्सानी भएको थियो। यसैगरी २०७७/०७८ मा ४ अर्ब ४० करोड, ०७८/०७९ मा १ अर्ब ७० करोड र २०७९/०८० को १० महिनामा २ अर्ब १६ करोड नोक्सानी निगमले बेहोरेको छ। 

सधैँ नाफा कमाउनेमा ग्राउन्ड ह्यान्डलिङ सेवामात्रै

पछिल्लो ६ वर्षको अविधिमा निगमको निरन्तर नाफामा भइरहेको स्रोत गाउन्ड ह्यान्डलिङ मात्रै हो। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्मको अवधिमा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाबाट ५ अर्ब ७० करोड ७० लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ।

रिपोर्टको तथ्यांकअनुसार निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनबापत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब २५ करोड रूपैयाँ नाफा गरेको छ। यसैगरी ०७५/०७६ मा १ अर्ब ३१ करोड, ०७६/०७७ मा ९४ करोड ९३ लाख, ०७७/०७८ मा ४३ करोड ३७ लाख, ०७८/०७९ मा ९८ करोड ७० लाख र ०७९/०८० को १० महिना ६६ करोड ७२ लाख नाफा गरेको छ।

६ वर्षमा न्यारोबडी जहाज उडानबाट १ अर्ब ८० करोड नाफा

निगमले पछिल्लो ६ वर्षमा न्यारोबडी जहाज उडानबाट पनि पौने २ अर्ब रूपैयाँ नाफा गरेको छ। कोभिडको समयमा २ वर्ष घाटा बेहोरे पनि अन्य वर्षहरूमा भने न्यारोबडी जहाज उडानबाट निगमले केही रकम नाफा गरेको छ। ६ वर्षको अवधिमा निगमले न्यारोबडी जहाज उडानबाट १ अर्ब ८० करोड रूपैयाँ नाफा गरेको छ।

आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा भने न्यारोबडी जहाज उडानबाट पनि निगमलाई घाटा भएको थियो। कोभिडका कारण यो २ वर्ष जहाज उडान नै हुने सकेको थिएन। त्यसबाहेक २०७४/०७५ पछिका अन्य वर्षहरूमा न्यारोबडी जहाज उडानबाट निगमले नाफा नै गरिरहेको छ।

निगमले न्यारोबडी जहाज उडानबाट आर्थिक वर्ष २०७५/०७५ मा ४३ करोड, ०७५/०७६ मा १९ करोड, ०७८/०७९ मा ८७ करोड ३४ लाख र ०७९/०८० मा ९५ करोड ७८ लाख रूपैयाँ नाफा गरेको छ। तर न्यारोबडी उडानबाट नै निगमले आर्थिक वर्ष ०७६/०७७ मा ११ करोड ४८ लाख र २०७७/०७८ मा ५४ करोड १३ लाख रूपैयाँ नोक्सानी बेहोरेको थियो। 

टि्वनअटर उडानबाट २ अर्ब ७२ करोड नोक्सानी

निगमले अहिले आन्तरिक उडानमा २ वटा टि्वनअटरबाट सेवा दिँदै आएको छ। निगमसँग ३ वटा टि्वनअटर भए पनि एउटा ट्‍विनअटर जहाज २०६९ सालदेखि उडानमा छैन। उडानमा रहेको २ वटामा पनि एउटा मात्रै फूलफेजमा उडान भइरहेको छ। आन्तरिकमा १९ वटा गन्तव्यमा उडान गरिरहेको छ।

तर उडानबाट निगमलाई पछिल्लो ६ वर्षमा कुनै पनि वर्ष नाफा भएको छैन। आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्ममा निगमलाई टि्वनअटर जहाज उडानबाट अर्ब ७२ करोड रूपैयाँ नोक्सानी भइसकेको छ।

निगमले टि्वनअटर जहाज उडानबाट आर्थिक वर्ष २०७४/०७५ मा २० करोड १७ लाख, ०७५/०७६ मा ४२ करोड ८७ लाख, ०७६/०७७ मा ४६ करोड ६ लाख, ०७७/०७८ मा ५६ करोड ४८ लाख, ०७८/०७९ मा ५५ करोड ९४ लाख र २०७९/०८० को १० महिनामा ५० करोड ९९ लाख रूपैयाँ नोक्सानी बेहोरेको छ।

वाइडबडी उडानबाट निगमले गुमायो १९ अर्ब, आगामी पाँच वर्षमा थप १० अर्ब नोक्सानीको आँकलन

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अहिले अन्तर्राष्ट्रिय उडानमा २ वटा वाइडबडी जहाज उडान गरिरहेको छ। निगमले २०७५ को असार १४ मा पहिलो वाइडबडी र साउन १० मा दोस्रो वाइडबडी नेपाल ल्याएको थियो।

नेपाल ल्याएको क्रमश: ३३ र ९९ दिनपछि जहाज व्यावसायिक उडानमा आएको थियो। यसरी उडानमा आएको जहाज अहिलेसम्म पनि फुल फेजमा सञ्चालन हुन सकेको छैन। जहाजको सरदर उडान क्षमताको ६५ प्रतिशत मात्रै उपभोग भएको  छ। तर अहिले त पाइलट अभावले ५० प्रतिशत मात्रै उपभोग भएको छ। जहाज सञ्चालनमा व्यवस्थापकीय कमजोरी बढी  छ।

निगमलाई ६ वर्षमा वाइडबडी सञ्चालनबाट मात्रै १९ अर्ब १४ करोडको नोक्सानी भएको  छ। अध्ययन समितिले दिएको रिपोर्टमा वाइडबडी सञ्चालनबाट आर्थिक वर्ष २०७४/०७४ मा १ अर्ब ५३ करोड ५१ लाख र आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब ५९ करोड रूपैयाँ नोक्सानी भएको  छ।

०७६/०७७ मा ४ अर्ब १ करोड, ०७७/०७८ मा ३ अर्ब ७३ करोड, ०७८/०७९ मा ३ अर्ब र ०७९/०८० मा ३ अर्ब २८ करोड रूपैयाँ वाइडबडी सञ्चालनबाट निगमलाई घाटा छ।

अबको पाँच वर्षमा निगमले वाइडबडी सञ्चालनबाट नाफा लिन नसक्ने समेत सरकारी रिपोर्टमा नै उल्लेख छ। जसमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ६६ करोड, २०८१/०८२ मा २ अर्ब ८९ लाख, २०८२/०८३ मा २ अर्ब ३४ करोड, २०८३/०८४  मा १ अर्ब ७१ करोड र ०८४/०८५ मा ९७ करोड ७४ लाख रूपैयाँ नोक्सानी बेहोर्ने रिपोर्टमा उल्लेख छ।

निगमले अहिले पनि लामो दुरीको गन्तव्य पाउन सकेको छैन। सातामा दुईवटा जापानको नारिता उडान गरिरहेको छ। यो नै वाइडबडीले पाएको सबैभन्दा लामो दुरीको गन्तव्य हो। नत्र वाइडबडी जहाजले न्यारोबडी जहाजबाट हुनसक्ने गन्तव्यमा नै उडान गरिरहेको छ। सवा १ घण्टाको गन्तव्यमा समेत वाइडबडी उडान भइरहेको छ।


प्रकाशित : आइतबार, जेठ ६ २०८११७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend