आइतबार, वैशाख २३ गते २०८१    
images
images

'औद्योगिक सहर' को छायामा वीरगञ्जको पर्यटन, प्रचारप्रसारको कमीले पर्यटक भित्र्याउनै सकस

images
images
images
'औद्योगिक सहर' को छायामा वीरगञ्जको पर्यटन, प्रचारप्रसारको कमीले पर्यटक भित्र्याउनै सकस

भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केवल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन्। जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन्।

images
images

पर्सा- औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा पर्यटन क्षेत्रले आशातित विकास हुने अवसर पाएको छैन। वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन्।

images
images
images

एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छाया र अर्काेतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन्। सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन्। आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगञ्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन। जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ।

images

दियालो लडर्स प्लाजाका सञ्चालक अनिल रुगटा औद्योगिक तथा व्यापारिक नगरीको कारणले पनि वीरगञ्जको पर्यटन क्षेत्र ओझेलमा परेको बताउँछन्। 'वीरगञ्ज लामो समयदेखि औद्योगिक तथा व्यापारिक सहर भएपनि पर्यटन क्षेत्रको भने सोचेअनुसारको विकास हुन सकिरहेको छैन,’ उनले भने, 'सबै मिलेर वीरगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न आवश्यक भइसकेको महसुस  गरेका छौँ।'

images

उनका अनुसार वीरगञ्जमा पछिल्लो समय सुविधा सम्पन तारेहोटल होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन्। वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, मकालुलगायतका आधा दर्जनभन्दा धेरै रहेका छन्। वीरगञ्ज बजार क्षेत्रमा मात्रै सानाठूला गरेर ९० भन्दा धेरै होटल तथा लजहरु रहेका छन्।

images
images

होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका महासचिव माधव बस्नेत वीरगञ्जको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले जेनतेन चल्दै आइरहेको बताउँछन्।

'वीरगञ्जको पर्यटन क्षेत्र आन्तरिक र भारतीय पर्यटककै कारणले धानिँदै आइरहेको छ। यहाँ तेस्रो मुलुकका पर्यटक खासै आउँदैनन्', उनले भने, 'वीरगञ्जले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज ल्याएर आकर्षित गर्न जरुरी देखिन्छ। विभिन्न ब्राण्डका कम्पनी आफ्ना उत्पादनको प्रसारप्रसार गर्न वीरगञ्ज आउने भएकाले पनि वीरगञ्जलाई उत्पादककर्ता र क्रेताबीचको गन्तव्यको रुपमा विकास गर्न सके पर्यटन क्षेत्रले पनि लाभ लिन सकिने थियो कि।'

भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केवल बाटोका रुपमा मात्रै प्रयोग गर्दै आइरहेका छन्। जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन्। त्यही समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले अहिले भारतीय पर्यटकले वीरगञ्जलाई केवल नाका (बाटो) को रुपमा मात्रै प्रयोग गर्दै आइरहेकाले पनि कम्तीमा पनि वीरगञ्ज आसपासको क्षेत्रमा पर्यटकको दुई रात बसाइ कसरी लम्ब्याउने विषयमा गृहकार्य गर्दै आइरहेको बताए।

'वीरगञ्ज केवल औद्योगिक र व्यापारिक सहर मात्रै होइन। वीरगञ्जमा भोजपुरी कला संस्कृतिको धरोहरको रुपमा रहेका ऐतिहासिक तथा धार्मिक स्थल रहेका छन्। प्रचारप्रसारको अभावमा सबैलाई बुझाउन सकिरहेका छैनौँ,' नगरप्रमुख सिंहले भने, 'अब हामीले स्वदेशी तथा विदेशी पर्यटकलाई वीरगञ्जको वैभवको रुपमा रहेका धार्मिक स्थल तथा अन्य कला संस्कृति देखाएर पर्यटकको बसाइ बढाउने प्रयास गरिरहेका छौँ।'

महानगरकै अगुवाइमा गत चैत २९ देखि बैशाख १ गतेसम्म वीरगञ्जको आदर्शनगरमा रात्रिबजार कार्यक्रमसमेत आयोजना गरिएको थियो। महानगरका अनुसार विगतको तुलनामा अहिले  वीरगञ्जका सडक तथा धार्मिकस्थल सफा र सुग्घर भएकाले पनि पर्यटकको बसाइलाई अझै सहज र मनमोहक बनाउने कोसिस भइरहेको छ।

रात्रिकालीन समयमा वीरगञ्जका अधिकांश ऐतिहासिक तथा धार्मिकस्थल स्ट्रिप (रंगीचंगी लाइट) तथा स्ट्रिटलाइटले रङ्गीन र झिलीमिली पनि बनाइरहेका छन्। वीरगञ्जको घण्टाघर, शंकराचार्यगेट, गहवामाई मन्दिर, गीता मन्दिर, रामजानकी मन्दिर, पशुपतिनाथ मन्दिर मुख्य आकर्षणको केन्द्रबिन्दु रहेका छन्।

नगरप्रमुख सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन सक्रिय भएर लागेको बताएका छन्। 'वीरगञ्जमा गहवामाई मन्दिरको मात्रै प्रचारप्रसार भएको छ,' उनले भने, ‘गहवामाईको छ दिदिबहिनीहरूको शक्तिपीठको कुनै प्रचारप्रसार हुन सकिरहेको छैन। त्यसैले महानगरले धार्मिक पर्यटकीयस्थलको रूपमा अघि बढाउन खोजिरहेको छ।'  

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुवोधकुमार गुप्ता वीरगञ्जलाई औद्योगिक पर्यटन क्षेत्रको रूपमा विस्तार गर्न आवश्यक रहेको बताउँछन्। 'नेपालका अन्य सहरले प्राकृतिक सौन्दर्यतालाई देखाएर पर्यटकलाई आकर्षित गर्दै आइरहेका छन्। तर, हामीले वीरगञ्जलाई औद्योगिक तथा शैक्षिक हबको रुपमा पर्यटन क्षेत्रको विकास गर्न सके धेरै फाइदा लिन सक्नेछ', उनले भने, 'औद्योगिक गतिविधिसँगसँगै पर्यटन क्षेत्रको पनि विकास गरेर अर्थाेपार्जनमा टेवा पुर्‍याउन सकिन्छ।'

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगत पनि बारा र पर्सा जिल्लाले संयुक्त रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाउनुपर्ने बताउँछन्। 'बारा र पर्सामा पर्यटकीय सम्भावना भएका क्षेत्र धेरै छन्। तर, हामीले पर्यटकलाई आकर्षित गर्न भने चुकिरहेका छौँ', उनले भने, 'अब प्याकेज नै बनाएर यी दुई जिल्लाको पर्यटन उकास्ने काम गर्न जरुरी भएको छ।' 

सूचना अधिकारी भगतले निकुञ्ज क्षेत्रमा पर्यटकलाई आर्कषित गर्ने खालका पूर्वाधारमा निर्माणमा निजी क्षेत्र पनि अग्रसर हुने बेला आएको बताए। 'चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या निकै ठूलो छ। तर यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या ज्यादै न्यून छ। यहाँका पर्यटन व्यवसायीले पूर्वाधारको साथसाथै प्रचारप्रसारमा समेत ध्यान दिन जरुरी भइसकेको छ', उनले भने, 'पर्यटक क्षेत्रले एकैपटक प्रतिफल दिने काम गर्दैन। त्यसमा पर्यटकमैत्री पूर्वाधार र आतिथ्य सत्कारमा पनि उत्तिकै ध्यान दिन आवश्यक देखिन्छ।'

काठमाडौंबाट सिमरामा नियमितरूपमा हवाई सेवा सञ्चालन हुँदै आइरहेको छ। पर्यटन व्यवसायीले दुई दिनको प्याकेज बनाएर पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर र वीरगञ्ज आसपासका क्षेत्रलाई गन्तव्यको रूपमा विकास गर्न सके यहाँको पर्यटन क्षेत्रले पनि फड्को मार्ने थियो। पर्सा निकुञ्जमा बाघ, हात्ती, गैँडा, गौरीगाई तथा विभिन्न प्रकारका चराचुरुंगीको अवलोकन गर्न सकिन्छ। निकुञ्जका सूचना अधिकारी भगतले विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीयस्थलको प्याकेज तथा अनलाइन बुकिङको सुविधा दिएर पनि पर्यटकलाई लोभ्याउनुपर्ने बताउँछन्। वीरगञ्जको पर्यटन आन्तरिक तथा भारतीय पर्यटककै भरमा चल्दै आइरहेको छ। आन्तरिक र भारतीयबाहेक अन्य मुलुकका पर्यटक यहाँ नगण्य मात्रै आउने गरेका छन्।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव बस्नेत वीरगञ्जको नाका हुँदै मासिक १० हजारभन्दा धेरै भारतीय पर्यटक भित्रिने गरेको बताउँछन्। 'रक्सौल नाका हुँदै मासिक १० हजारभन्दा धेरै भारतीय पर्यटक भित्रिने गर्छन्। तर, उनीहरुलाई वीरगञ्ज आसपास क्षेत्रमा अड्याउन अझै पनि सकिरहेका छैनौँ', उनले भने, 'आपसी समन्वयको अभाव हुँदा पनि भारतीय पर्यटक वीरगञ्जमा केवल ब्रेकफास्ट तथा फ्रेस हुनमात्रै बस्ने अवस्था छ। हामीले कसरी हुन्छ एक-दुई रात भए पनि यहीँ बस्ने वातावरण बनाउनुपर्ने जरुरी भइसकेको छ।'

महासचिव बस्नेतले प्रहरीको अनावश्यक जाँचका कारणले पनि भारतीय पर्यटकले आउन आनाकानी गर्दै आइरहेको गुनासो गरे। 'भारतको बिहार राज्यमा मदिराजन्य पदार्थको प्रतिबन्ध लगाइएको छ। त्यसैले पनि केही भारतीय पर्यटक वीरगञ्जमा रमाइलो गर्न आउने गर्छन्। भारतीय पर्यटकलाई भारु २५ मात्रै ल्याउन पाउने प्रावधानले पनि हैरानी दिएको छ। त्यसैमा बेलाबखत प्रहरीको अनावश्यक जाँच (चेकिङ)ले पनि समस्या पार्ने गरेको छ', उनले भने।

गढीमाई, सिम्रनगढ, पर्सा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यटकीय गन्तव्यको रूपमा विकास गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने देखिएको छ।

नगरप्रमुख सिंहले एक सय ३५ वर्ष पुरानो ऐतिहासिक नृसिंह मन्दिरको जीर्णोद्धारको प्रक्रिया अघि बढाइएको बताए। 'हामीमाझ एक सय ३५ वर्ष पुरानो नृसिंहको मन्दिर छ। महानगरले पुरातत्व विभागसँग समन्वय गरेर मन्दिरको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिसकेको छ', उनले भने, 'मन्दिरको जीर्णाेद्धारका लागि आवश्यक बजेट प्रदेश तथा संघीय सरकारसँग माग गरिरहेका छौँ।' रासस

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०५:०४

प्रतिक्रिया दिनुहोस