शनिबार, साउन १२ गते २०८१    
images
images
images

चार वर्षदेखि बन्द अन्नपूर्ण होटलमा चलिरहेको क्यासिनोमा अवैध कारोबारको साम्राज्य

प्रहरीले चलायो मुद्दा, भारतीयसहित नेपाली साझेदार फरार

images
शुक्रबार, फागुन १८ २०८०
images
images
चार वर्षदेखि बन्द अन्नपूर्ण होटलमा चलिरहेको क्यासिनोमा अवैध कारोबारको साम्राज्य

क्यासिनो सञ्चालनका लागि  होटलबाट सहमित लिनुपर्ने कानूनी व्यवस्था रहेको र बन्द होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने आदेश सर्वोच्चले २०७४ सालमै गरेको थियो। सर्वोच्च आदेशपछि पर्यटन विभागले प्रहरी प्रशासनको सहयोग क्यासिनो बन्द गराएको थियो। तर फेरि अहिले बन्द पाँच तारे होटल अन्नपूर्णमा जिल्ला अदालतको आदेश ल्याउँदै क्यासिनो सञ्चालन भइरहेको छ।

images

काठमाडौं- चार वर्षदेखि सञ्चालनमा नरहेको होटल अन्नपूर्णमा अदालतबाट अन्तरिम आदेश ल्याएर चलिरहेको क्यासिनोको अर्को अवैध धन्दा बाहिरिएको छ। 

images
images

क्यासिनो सञ्चालकको अवैध हर्कतलाई अदालतले साथ दिएपनि त्यसमाथि सञ्चालकहरूले अर्को गैरकानूनी काम गरेको पाइएको छ। विदेशी विनिमय कारोबारको अनुमति नलिइ पछिल्लो चार वर्षदेखि क्यासिनो चलेको पाइएको हो। 

images

अन्नपूर्ण होटलमा एटलान्टिक रिक्रिएसन प्रालिले क्यासिनो प्यालेसका नाममा क्यासिनो सञ्चालन गर्दै आएको छ। नेपाली साझेदार विनयकमुरमा साहसहित दुई भारतीय लगानीकर्ता रहेको यो कम्पनीले होटल बन्द हुँदा पनि अदालतको अन्तरिम आदेशकै भारमा दुई वर्षदेखि नवीकरण गर्दै आएको छ। 

पाँचतारे होटल चालु नहुँदा क्यासिनो चलाउन नपाइने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै होटल सञ्चालकको समेत मिलेमतोमा अदालतमा  होटल बन्द भएको सूचना लुकाएर अन्तरिम आदेश ल्याएर चलिरहेको छ। 

images

न्यायिक निकायलाई समेत गुमराहमा राखेर क्यासिनो चलेकोमात्र नभइ त्यहाँभित्र अवैध वित्तीय कारोबारको साम्राज्य चलेको पाइएको छ। नेपाल प्रहरीले विशेष सूचनाका आधारमा छापा मारी तीन जना कर्मचारी पक्राउ गरेर गरेको अनुसन्धानबाट उक्त क्यासिनोमा अवैध धन्दाको साम्राज्य चलिरहेको पाइएको हो। 

प्रहरीको अनुसन्धानले उक्त क्यासिनोमा क्रिप्टोकरेन्सीको कारोबार, अनलाइन जुवा र अनुमति नलिइ विदेशी मुद्राको कारोबार गरेको पाइएको हो। 

उक्त क्यासिनो सञ्चालन गर्ने कम्पनीको विदेशी विनिमयको कारोबार गर्ने अनुमति सन् २०२० मा सकिएको थियो। यस्तो कारोबार गर्ने कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ र समय सकिएपछि नवीकरण गर्नुपर्छ तर यो कम्पनीले सन् २०२० मा खारेजीका लागि राष्ट्र बैंकमा आफै आवेदन दिएको थियो। 

विदेशी विनियको कारोबारका लागि अनुमति नै नलिएको उक्त कम्पनीले कारोबार गर्ने गरेको प्रहरीले भेटाएको छ। थुप्रै देशका मुद्रा भेटिएको प्रहरीले उल्लेख गरेको छ। त्यस्तै क्यासिनोका नाममा अनलाइन जुवा खेलाएको प्रमाण पनि भेटिएको छ। कुनै पनि अनुमति नलिइ गैरकानूनी रुपमा यस्तो जुवा खेलाउने उपकरण र कर्मचारीको बयानबाट खुलेको प्रहरीले उल्लेख गरेको छ। 

त्यस्तै सोही क्यासिनोका कर्मचारीहरूले जुवाको कारोबार तथा भुक्तानी क्रिप्टोबाट गर्ने गरेको पनि पाइएको उल्लेख गरेको छ। 

क्यासिनोका सञ्चालकहरू अशोककुमार क्षेत्रापाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायक विनयबहादुर साह र तरुण खत्तेरविरुद्ध प्रहरीले मुद्दा दर्ता गराइसकेको छ। यस्तै कर्मचारीहरूमा ऋषव पावा, व्यवस्थापक गौरव चोप्रा र बजार प्रतिनिधि गुलाब सिंहविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको छ।

यीमध्ये तीन जना पक्राउ परेका कर्मचारी बाहेक सबै फरार छन्। यसमा एकजना सञ्चालक विनयबहादुर साह बाहेक सबै भारतीय हुन्। 

१ करोड ८ लाख नेपाली रुपैयाँ विगो कायम गर्दै त्यसको तीन गुणना जरिवाना र सजाय माग गर्दै प्रहरीले मुद्दा दर्ता गराएको छ। 

बन्द होटलमा क्यासिनो, अन्तरिम आदेशको सहारा

५५ वर्षसम्म निरन्तर रुपमा चलेको अन्नपूर्ण होटल कोरोना सुरुभएसँगै बन्द भएको थियो। कोरोनाका कारण बन्द भएको होटल २०७७ मंसिरमा भने आधिकारिक रुपमै व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको थियो। होटल बन्द भएसँगै कर्मचारीलाई समेत दिनुपर्ने बाँकी सबै सुविधा हिसाब गरेर लिन सूचना जारी गरेको थियो।

होटल व्यवस्थापनले होटलको संरचना पुराना भइसकेको र नयाँ बनाउने भन्दै बन्द गरेको थियो। तर होटल बन्द भएको सूचना अहिलेसम्म पर्यटन विभागमा समेत जानकारी नै गराएन। तर बन्द भएको होटलमा क्यासिनो भने सञ्चालन भइरह्यो। क्यासिनो सञ्चालनका लागि होटलको सहमति चाहिन्छ। क्यासिनोले पनि होटलमा रहेको सेवा सुविधा लिने गरी सम्झौता गरेका हुन्छन्।

क्यासिनो नियमाली २०७० (पछिल्लो शंसोधन २०७६) मा समेत क्यासिनो सञ्चालनका लागि क्यासिनो सञ्चालन गर्ने कम्पनीले होटलसँग सम्झौता गर्नु पर्छ। होटलको सहमतिपछि मात्रै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतिदेखि सञ्चालनको लाइसेन्स पाउँछन्। 

क्यसिनो सञ्चालन भएको ठाएँमा क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा हुनपर्ने पूर्वाधार स्पष्ट रुपमा नै उल्लेख गरेको छ। तर क्यासिनो सञ्चालन गर्ने कम्पनीहरूले उक्त सेवा सुविधा होटलसँग सम्झौता गरेर लिन्छ।

होटल याक एण्ड यती देखाएर बन्द अन्नपूर्ण होटलमा क्यासिनो, नियामक पर्यटन विभाग मौन होटल याक एण्ड यती देखाएर बन्द अन्नपूर्ण होटलमा क्यासिनो, नियामक पर्यटन विभाग मौन

तर होटल नै बन्द भएको ठाउँमा उक्त सुविधा हुने विषय नै हुँदैन। तर पाँततारे होटल बन्द भए पनि क्यासिनो सञ्चालकहरूले पनि क्यसिनो सञ्चालन गरिरहेका छन्। अन्नपूर्ण होटलमा एटलान्टिक रिक्रियसन प्रालिले होटल बन्द भए पनि काठमाडौं जिल्ला अदालतबाट आदेश ल्याएर क्यासिनो सञ्चालन गरिरहेको छ। 

क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा पर्याप्त सवारी पार्किङ क्षेत्र भएको, चमेना गृह (रेष्ट्रराँ),स्नान घर (सावर रुम) सावना, स्टिम वाथ, व्यायाम स्थल, स्पा सम्बन्धी सुविधा, स्वीमिङ्ग पुल र  क्यासिनो स्थलमा खेलकुदको सुविधा हुनु पर्ने विषय स्पष्ट उल्लेख गरेको छ।

यसअघि दी एभेरष्ट होटल बन्द भएकै बेला एभरेष्ट क्यासिनो सञ्चालन भएको विषय अदालतसम्म पुगेको थियो। क्यासिनो सञ्चालनका लागि  होटलबाट सहमित लिनुपर्ने कानूनी व्यवस्था रहेको र बन्द होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने आदेश सर्वोच्चले २०७४ सालमै गरेको थियो।

सर्वोच्च आदेशपछि पर्यटन विभागले प्रहरी प्रशासनको सहयोग क्यासिनो बन्द गराएको थियो। तर फेरि अहिले बन्द पाँच तारे होटल अन्नपूर्णमा जिल्ला अदालतको आदेश ल्याउँदै क्यासिनो सञ्चालन भइरहको छ। 


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend