काठमाडौं- बन्द पाँच तारे होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन भइरहेको छ। क्यासिनो नियमावलीमा बन्द होटलमा क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था छ। तर होटल बन्द भएको तीन वर्ष हुनै लाग्दा पनि अन्नपूर्ण होटलमा क्यासिनो सञ्चालन भइरहेको छ।
बन्द होटलमा क्यासिनो सञ्चालन भएको विषयमा पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले आफूलाई कुनै जानकारी नभएको बताए। विभागकै क्यासिनो शाखा हेर्ने निर्देशक सूर्यप्रसाद उपाध्याले आफू भर्खरै मात्र उक्त विभागमा आएको र होटल बन्दको सूचनासमेत थाहा नभएको बताए।
अन्नपूर्ण पाँच तारे होटल आधिकारिक रुपमा बन्द भएको घोषणा भएको नै डेढ वर्षभन्दा बढी भइसकेको छ। ५५ वर्षसम्म निरन्तर रुपमा चलेको अन्नपूर्ण होटल कोरोना सुरु भएसँगै बन्द भएको थियो। कोरोनाका कारण बन्द भएको होटल २०७७ मंसिरमा भने आधिकारिक रुपमै व्यवस्थापन ले बन्द गर्ने निर्णय गरेको थियो। होटल बन्द भएसँगै कर्मचारीलाई समेत दिनुपर्ने बाँकी सबै सुविधा हिसाब गरेर लिन सूचना जारी गरेको थियो।
होटल व्यवस्थापनले होटलको संरचना पुराना भइसकेको र नयाँ बनाउने भन्दै बन्द गरेको थियो। तर होटल बन्द भएको सूचना अहिलेसम्म पर्यटन विभागमा समेत जानकारी भएको छैन। जसको फाइदा क्यासिनो सञ्चालकले उठाएका हुन्।
अन्नपूर्ण होटलमा एटलान्टिक रिक्रियसन प्रालिले क्यासिनो सञ्चालन गरिरहेको छ। क्यासिनो सञ्चालक विनय शाहले मर्मतको लागि होटल बन्द भएको भए पनि क्यासिनो सञ्चालन भइरहेको बताए। शाहले यसअघि नै क्यासिनो सञ्चालनका लागि काठमाडौं जिल्ला अदालतबाट अन्तरिम आदेश लिएका थिए।
तर क्यासिनो नियमावलीमा क्यासिनो सञ्चालनका लागि होटलको सहमति चाहिन्छ। क्यासिनोले पनि होटलमा रहेको सेवा सुविधा लिने गरी सम्झौता गरेका हुन्छन्।
क्यासिनो नियमाली २०७० (पछिल्लो शंसोधन २०७६) मा समेत क्यासिनो सञ्चालनका लागि क्यासिनो सञ्चालन गर्ने कम्पनीले होटलसँग सम्झौता गर्नु पर्छ। होटलको सहमतिपछि मात्रै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतिदेखि सञ्चालनको लाइसेन्स पाउँछन्।
क्यसिनो सञ्चालन भएको ठाएँमा क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा हुनपर्ने पूर्वाधार स्पष्ट रुपमा नै उल्लेख गरेको छ। तर क्यासिनो सञ्चालन गर्ने कम्पनीहरूले उक्त सेवा सुविधा होटलसँग सम्झौता गरेर लिन्छ।
होटल नै बन्द भएको ठाउँमा उक्त सुविधा हुने विषय नै हुँदैन। तर पाँततारे होटल बन्द भए पनि क्यासिनो सञ्चालकहरूले पनि क्यसिनो सञ्चालन गरिरहेका छन्। अहिले होटलबाट लिनु पर्ने सुविधा याक एण्ड यतीबाट लिएको शाह आफै स्वीकार गर्छन्। क्यासिनो नियमावलीको अनुसूची २ मा क्यासिनो सञ्चालन हुने ठाउँमा पर्याप्त सवारी पार्किङ क्षेत्र भएको, चमेना गृह (रेष्ट्ररां), स्नान घर (सावर रुम) सावना, स्टिम वाथ, व्यायाम स्थल, स्पा सम्बन्धी सुविधा, स्वीमिङ्ग पुल र क्यासिनो स्थलमा खेलकुदको सुविधा हुनु पर्ने विषय स्पष्ट उल्लेख गरेको छ।
विशेष त होटल नै बन्द भएपछि क्यासिनो सञ्चालन गर्न नमिल्ने पर्यटन विभागका एक कर्मचारीले बताए। तर अन्नपूर्ण होटल बन्द भए पनि अनिर्वाय हुनुपर्ने केही विषय क्यासिनो आफैले व्यवस्थापन गरे पनि अधिकांश विषय पूरा नभएकै अवस्थामा क्यासिनो सञ्चालन भइरहेको छ।
यसअघि दी एभेरष्ट होटल बन्द भएकै बेला एभरेष्ट क्यासिनो सञ्चालन भएको विषय अदालतसम्म पुगेको थियो। क्यासिनो सञ्चालनका लागि होटलबाट सहमित लिनुपर्ने कानूनी व्यवस्था रहेको र बन्द होटलमा क्यासिनो सञ्चालन गर्न नपाउने आदेश सर्वोच्चले २०७४ सालमै गरेको थियो। सर्वोच्च आदेशपछि पर्यटन विभागले प्रहरी प्रशासनको सहयोग क्यासिनो बन्द गराएको थियो। तर फेरि अहिले बन्द पाँच तारे होटल अन्नपूर्णमा जिल्ला अदालतको आदेश ल्याउँदै क्यासिनो सञ्चालन भइरहको छ।