काठमाडौ- प्रिमिमयमा सेयर जारी गरेको सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको पहिलो ६ महिनाबाटै उच्च घाटा रहेको वित्तीय विवरण सार्वजनिक भएको छ। यसले कम्पनीले आर्थिक चलखेलका आधारमा प्रिमियम सेयर जारी गरेको पुष्टि भएको छ।
आफ्नो वित्तीय विवरणमा अस्वभाविकरुपमा कृत्रिम सजावट गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवतरणले नै प्रमाणित गरिदिएको छ।
कम्पनीले आफ्नो वित्तीय विवरणमा तोडमोड गरेर धितोपत्र बोर्डबाट प्रिमियममा सेयर स्वीकृत गराउन सफल भएको देखिन्छ।
अत्याधिक बैंक ऋणबाट थलिएको यस कम्पनीले सर्वसाधारणका लागि २३७.५० सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको थियो। १०० रुपैयाँ अंकित मूल्य भएको यस कम्पनीले १३७.५० प्रिमियम रकम थपेर प्रिमियममा सेयर जारी गरेको थियो।
तत्कालिन बोर्ड अध्यक्ष रमेशकुमार हमालले धितोपत्र दर्ता तथा निष्कासन विनियमावली संशोधन गरेर २ वर्षसम्म नाफा गरेका कम्पनीलाई प्रिमियममा सेयर जारी गर्न दिन पाउने व्यवस्था गराउन सफल भएका थिए।
यसअघिको प्रिमियममा सेयर जारी गर्न कम्तिमा पनि ३ वर्ष नाफा रहेको वित्तीय विवरण प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको थियो।
सोही व्यवस्थापछि यस कम्पनीले पनि प्रिमियममा सेयर जारी गरेको थियो। कम्पनीले प्रिमिमयमा सेयर जारी गर्नका लागि बिक्री आम्दानी बढी र अन्य खर्च कम देखाएर कम्पनी वित्तीय विवरण कृत्रिम सजावट गरेको पुष्टी चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण पनि गरेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको वित्तीय विवरणमा उल्लेख छ। यस अवधिमा कम्पनीको आफ्नो आम्दानीमा ठूलो गिरावट आएको प्रतिवेदनमा उल्लेख गरेको छ।
गत आर्थिक वर्ष १ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको ६ महिनामा ७० करोड ५७ लाख सिमित भएको प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा कम्पनीको कष्ट अफ सेल्स पनि उल्लेखियरुपमा घटेको देखाएको छ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कस्ट अफ सेल्स १ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष सोही अवधिमा ६१ करोड रुपैयाँमा सिमित भएको छ।
यस अवधिमा कम्पनीले मूल्यह्रास अस्भाविक रुपमा घटाएको छ। कम्पनीले आफ्नो भवन, प्लान्ट एण्ड इक्वयुपमेन्ट, खानी लगायत स्थिर सम्पत्तिको आयु बढाएर मुल्यह्रास कम देखाएर नोक्सानी कम देखाउने प्रयास गरेको देखिन्छ।
गत आर्थिक वर्ष पुस मसान्तसम्ममा ९ अर्ब १९ करोड रुपैयाँ मूल्यह्रास कट्टी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड २६ लाखमा सिमित गरेको छ। यस्तै यस अवधिमा कम्पनीले १४ करोड ५८ लाख रुपैयाँ कर्जाको सावा ब्याज भुक्तानी गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको कर्जाको सावा ब्याज २३ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको ऋण दायित्व भुक्तानी गर्दै गएको र पछिल्लो समय ब्याजदर घट्दै गएकाले कम्पनीको कर्जाको साँवा ब्याज खर्च कम भएको देखिन्छ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६२ पैसाले ऋणात्मक रहेको छ। कम्पनीको नेटवर्थ करिब १७५ रुपैयाँ रहेको छ।
सोनापुर मिनरल्स तथा आयल कम्पनी दाङ जिल्लाको तुलसीपुर उपनगरपालिकामा सञ्चालित सिमेन्ट क्लिङ्कर उत्पादन गर्ने कम्पनी हो। २०६५ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ २०६९ सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएको छ।
यस कम्पनीले पीपीसी र ओपीसी ब्राण्डका सिमेन्ट उत्पादन गर्छ। यस कम्पनी करिब ८६ विघा क्षेत्रफलमा फैलिएको छ भने दाङकै बंगलाचुली गाउँपालिका र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकामा चुनढुंगा खानी रहेको छ।
यस कम्पनीमा भद्रपुर झापाका तायल परिवारको प्रमुख लगानी रहेको देखिन्छ। उक्त परिवार यसअघि रोजिन एण्ड टार्पेनटाइन कम्पनीको सञ्चालक तथा लगानीकर्ता रहेको थिए।
तायल परिवारमध्ये निपेश तायलको ४८ लाख ६१ हजार ४४४ कित्ता, प्रकाश तायल १५ लाख ७४ हजार ८०७ कित्ता, रतनलाल तायलको १५ लाख ७४ हजार ८०६ कित्ता र अशोक तायलको ८ लाख ३७ हजार ६२८ कित्ता सेयर रहेको छ।
यस्तै आरपी माइलिङ कम्पनीको नाममा ४८ लाख ५८ हजार ५७७ कित्ता, एएन माइनिङ कम्पनीको नाममा ३८ लाख ३५ हजार ७८१ कित्ता, एलिसा पाण्डेको नाममा १ लाख ८४ हजार ५०२ कित्ता, कल्पना शर्माको नाममा ४ लाख ६१ हजार २५५ कित्ता र इन्द्र प्रसाईको नाममा २ लाख ६१ हजार ४०० कित्ता संस्थापक सेयर रहेको छ। कम्पनीको अध्यक्ष रतनलाल तायल हुन भने प्रबन्ध सञ्चालक निपेश तायल रहेका छन्। यस्तै प्रकाश तायल, भिमप्रशान्त पाठक र एलिसा पाण्डे कम्पनीका सञ्चालक रहेका छन्।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड रुपैयाँको ४० प्रतिशत सेयर सार्वसाधारणका लागि जारी गरेको थियो। १०० रुपैयाँ सेयरको अंकित मूल्य रहेकोमा कम्पनीले १३७.५८ रुपैयाँ प्रिमियम थप गरी २३७.५८ मा सर्वसाधारणका लागि जारी गरेको थियो।
कम्पनीले जारी गरेको कुल १ करोड २३ करोड २०० कित्ता सेयरमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याएको थियो।
स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्तामात्रै सेयर खरिद गरेपछि बाँकी रहेको १० लाख ३ हजार ५ कित्ता सेयर कम्पनीले पुन: सर्वसाधारणकै सेयरमा जोडेर त्यसको १० प्रतिशत अर्थात १२ लाख १६ हजार ५५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो।
अपारदर्शी सोनापुर सोनापुरले लाभांश नबाँडी ऋण तिर्न प्रयोग गर्दैछ प्रिमियम र नाफा, लगानीकर्ताको थाप्लोमा दीर्घकालीन दायित्व