आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सोनापुरले लाभांश नबाँडी ऋण तिर्न प्रयोग गर्दैछ प्रिमियम र नाफा, लगानीकर्ताको थाप्लोमा दीर्घकालीन दायित्व

images
बिहीबार , माघ ४ २०८०
images
images
सोनापुरले लाभांश नबाँडी ऋण तिर्न प्रयोग गर्दैछ प्रिमियम र नाफा, लगानीकर्ताको थाप्लोमा दीर्घकालीन दायित्व

त्यसैले सोनापुरको सेयर प्रिमियम मूल्यमा खरिद गरेका लगानीकर्ताको थाप्लोमा लाभांश होइन दीर्घकालीन ऋण दायित्व थोपर्ने काम भएको छ। लाभांश प्राप्त गर्न अझै थुप्रै आर्थिक वर्ष कुर्नुपर्ने बाध्यता छ।

images
images

काठमाडौं- प्रिमियममा सेयर निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले गत आर्थिक वर्षको नाफा लाभांश बाँड्न होइन पुरानो ऋण भुक्तानी गर्न प्रयोग गर्ने भएको छ।

images
images
images

माघ २६ गते दाङको घोराहीमा १६ औँ वार्षिक साधारणसभा बोलाएको कम्पनीले ऋण तिर्ने प्रस्ताव अगाडि बढाउने तयारी गरेसँगै प्रिमियममा सेयर खरिद गरेका साधारण लगानीकर्ताहरू खाली हात हुने निश्चित छ। 

images
images

कम्पनीले गत वर्ष कमाएको १४ करोड ४० लाख रुपैयाँमध्ये रिजर्भ एण्ड सर्प्लसमा छुट्याएर बाँकी रहेको रकममात्रै होइन सर्वसाधारणबाट प्रिमियम सेयर जारी गरेर उठाएको करिब २ अर्ब ९२ करोड रुपैयाँसमेत ऋण तिर्न प्रयोग गर्ने विशेष प्रस्ताव गरेको छ।

images
images
images

कम्पनीले प्रस्तुत गरेको करिब १० अर्बको वासलातमा ६ अर्ब ६७ करोड रुपैयाँ अल्पकालीन र दीर्घकालीन ऋण दायित्व रहेको छ। प्रिमियम र गत वर्षको नाफा जोड्दा ऋण भुक्तानी गर्दासमेत कम्पनीको नाममा अझै ३ अर्ब ६१ करोड बाँकी नै रहन्छ।

त्यसैले सोनापुरको सेयर प्रिमियम मूल्यमा खरिद गरेका लगानीकर्ताको थाप्लोमा लाभांश होइन दीर्घकालीन ऋण दायित्व थोपर्ने काम भएको छ। लाभांश प्राप्त गर्न अझै थुप्रै आर्थिक वर्ष कुर्नुपर्ने बाध्यता छ।

सोनापुरले प्रिमियममा सेयर जारी गर्दाको बखत धितोपत्र बोर्डमा बुझाएको आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण (अन्तिम लेखा परिक्षण हुन बाँकी) मा १४ करोड ४० लाख खुद नाफा रहेको देखाएको छ।

आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको दीर्घकालीन ऋण दायित्व करिब ३ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ रहेको छ। यस्तै यस अवधिसम्ममा कम्पनीको बैंकबाट चालुपुँजी व्यवस्थापनका लागि अल्पकालीन  प्रकृतिको ऋण २ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ लिएको छ।

बैंकले गत आर्थिक वर्षसम्म लिएको ऋणको कुल ब्याज खर्च २३ करोड ९१ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ। कम्पनीको यस निर्णयबाट लगानीकर्ता दोहोरो मारमा परेका छन्। एकातर्फ प्रिमियमको रकम नाफामूलक क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल प्राप्त अवस्था निर्माण गर्नुको सट्टा पुरानो दायित्व भुक्तानीमा प्रयोग हुने भएको छ।

अर्कोतर्फ प्रिमियममा उठाएको रकमसमेत ऋण भुक्तानीमा अपुग हुने देखिएकाले दीर्घकालीन ऋण दायित्व लगानीकर्ताको थाप्लोमा राखिएको छ। बाँकी रहेको ऋणको ब्याज खर्च प्रत्येक आर्थिक वर्षको आम्दानीबाट घट्दा नाफा कम हुन्छ। जसले गर्दा लगानीकर्ताले लाभांश प्राप्त गर्न अझ थुप्रै आर्थिक वर्ष पर्खिनुपर्ने बाध्यता रहेको देखाउँछ। सोनापुरको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रिमियम मूल्यसँगै ऋण दायित्वसमेत ब्यहोर्न बाध्य रहेको देखाएको छ। 

कम्पनीले बैंक वित्तीय संस्थाको ऋण दायित्व भुक्तानी गर्ने निर्णय आफैमा नराम्रो नभएपनि प्रिमियम सेयर जारी गर्ने कम्पनीका लगानीकर्ताले लाभांश प्राप्त गर्ने अवस्था नहुनुले धितोपत्र बोर्डको निर्णय प्रकृया खोटपूर्ण रहेको पुष्टि हुन्छ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियम परिवर्तन गरेपछि सोनापुरले पनि प्रिमियममा साधारण सेयर निष्कासन गरेको थियो। हमालले कम्पनी ऐनसँग बाझिनेगरी धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली संशोधनमार्फत केही खराब कम्पनीहरूलाई प्रिमियममा सेयर जारी गर्ने ढोका खोलिदिएका थिए।

कम्पनी ऐनमा प्रिमिमयमा सेयर जारी गर्न लगातार ३ वर्षसम्म नाफा रहेको देखाउनुपर्ने व्यवस्था भएपनि हमालले मन्त्रिपरिषदबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गराएर पछिल्लो २ वर्षसम्म नाफामा रहेको कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न दिन पाउने व्यवस्था कायम गराउन सफल भएका थिए।

यस नीति संशोधनबाट सोनापुरसँगै घोराही सिमेन्ट उद्योग, हिमालयन रि इन्स्योरेन्स र विभिन्न इन्स्योरेन्स कम्पनीले प्रिमियम सेयर जारी गरेका थिए। हमालकै खराब नीतिका कारण सर्वोत्तम सिमेन्टले आफ्नो मूल्यह्रासको रकम घटाउन सम्पत्तिको आयु बढाएर कृत्रिम नाफा देखाएर बुक बिल्डिङ प्रकृयामार्फत सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

घोराही सिमेन्टले समेत सोही विधि अपनाएर वित्तीय विवरणमा नमिल्दो श्रृंगार गरी प्रिमियममा सेयर जारी गरेको हो। हिमालयन रि इस्न्योरेन्सले स्थापना भएको दुई वर्ष पूरा नहुँदै प्रिमिमयमा सेयर निष्कासनको अनुमति पाएको छ।

यस कम्पनीले १०० रुपैयाँ अंकित रहेको सेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी ६ अर्ब रुपैयाँ सर्वसाधारणबाट उठाइसकेको छ। यस कम्पनीले आफ्नो मुख्य आम्दानीको क्षेत्रमा प्रवेश नगरी बैंक वित्तीय संस्थाको मुद्दतीबाट ब्याज आम्दानी गरेकै भरमा प्रिमियम सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

सर्वसाधारणलाई बीमा पोलेसी बिक्री गरेर आम्दानी गर्ने केही बीमा कम्पनीहरूले बीमा ऐनको छिद्रलाई उपयोग गर्दै प्रिमियमा सेयर जारी गर्न सफल भएका छन्। जसमा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष हमाल र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको मिलेमतो रहेको बताइएको छ।

यस्तै सर्वकालीन घाटामा रहेको रिपब्लिक मिडियालाई हमालले सार्वजनिक सेयर निष्कासन गर्न अनुमति दिएर ऋण दायित्व भुक्तानीमा कम्पनीलाई सहयोग गरेका थिए।

यस कम्पनीले गत वर्षको नाफाबाट लाभांश विवतरण गर्नु त टाढाको कुरा सेयर निष्कासन गर्नासाथ प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनमा कम्पनी घाटामा रहेको छ। यस मिडियाले आफ्नो नाममा रहेको जग्गाको मूल्य बढाएर नेटवर्थ सकात्मक देखाउँदै वित्तीय विवरणमा कृत्रिम सजावट गरेर प्राथमिक सेयर निष्कासनका लागि अनुमति पाएको थियो।

सोनापुर मिनरल्स तथा आयल कम्पनी दाङ जिल्लाको तुलसीपुर उपनगरपालिकामा सञ्चालित सिमेन्ट क्लिङ्कर उत्पादन गर्ने कम्पनी हो। २०६५ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ २०६९  सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएको छ।  यस कम्पनीले पीपीसी र ओपीसी ब्राण्डका सिमेन्ट उत्पादन गर्छ। यस कम्पनी करिब ८६ बिघा क्षेत्रफलमा फैलिएको छ भने दाङकै बंगलाचुली गाउँपालिका र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकामा चुनढुंगा खानी रहेको छ।

यस कम्पनीमा भद्रपुर झापाका तायल परिवारको प्रमुख लगानी रहेको देखिन्छ। उक्त परिवार यसअघि रोजिन एण्ड टार्पेनटाइन कम्पनीको सञ्चालक तथा लगानीकर्ता रहेको थिए।

तायल परिवारमध्ये निपेश तायलको ४८ लाख ६१ हजार ४४४ कित्ता, प्रकाश तायल १५ लाख ७४ हजार ८०७ कित्ता, रतनलाल तायलको १५ लाख ७४ हजार ८०६ कित्ता र अशोक तायलको ८ लाख ३७ हजार ६२८ कित्ता सेयर रहेको छ।

यस्तै आरपी माइलिङ कम्पनीको नाममा ४८ लाख ५८ हजार ५७७ कित्ता, एएन माइनिङ कम्पनीको नाममा ३८ लाख ३५ हजार ७८१ कित्ता, एलिसा पाण्डेको नाममा १ लाख ८४ हजार ५०२ कित्ता, कल्पना शर्माको नाममा ४ लाख ६१ हजार २५५ कित्ता र इन्द्र प्रसाईको नाममा २ लाख ६१ हजार ४०० कित्ता संस्थापक सेयर रहेको छ। कम्पनीको अध्यक्ष रतनलाल तायल हुन भने प्रबन्ध सञ्चालक निपेश तायल रहेका छन्। यस्तै प्रकाश तायल, भिमप्रशान्त पाठक र एलिसा पाण्डे कम्पनीका सञ्चालक रहेका छन्।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड रुपैयाँको ४० प्रतिशत सेयर सार्वसाधारणका लागि जारी गरेको थियो। १०० रुपैयाँ सेयरको अंकित मूल्य रहेकोमा कम्पनीले १३७.५८ रुपैयाँ प्रिमियम थप गरी २३७.५८ मा सर्वसाधारणका लागि जारी गरेको थियो।

कम्पनीले जारी गरेको कुल १ करोड २३ करोड २०० कित्ता सेयरमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याएको थियो।

स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्तामात्रै सेयर खरिद गरेपछि बाँकी रहेको १० लाख ३ हजार ५ कित्ता सेयर कम्पनीले पुन: सर्वसाधारणकै सेयरमा जोडेर त्यसको १० प्रतिशत अर्थात १२ लाख १६ हजार ५५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो।

यस्तै ६ लाख ८ हजार २८४ कित्ता सामूहिक लगानीकोषलाई छुट्याएर बाँकी रहेको सेयरबाट ६ लाख ८ हजार २८४ कित्ता नै कम्पनीका कर्मचारीलाई १२५ रुपैयाँ प्रिमियममै जारी गरेको थियो।

सबैलाई छुट्याएर बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता भने सर्वसाधारणका लागि २३७.५८ रुपैयाँमा जारी गरेको थियो।


प्रकाशित : बिहीबार , माघ ४ २०८०१७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend