काठमाडौं- प्रिमियममा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको वित्तीय कारोबार शंकास्पद देखिएको छ।
सर्वसाधारणलाई सेयर जारी गरेर पब्लिक कम्पनीमा परिणत भएपछि प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा सोनापुर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएयता चालु आर्थिक वर्षको कुनै पनि वित्तीय विवरण सार्वजनिक गरेको छैन।
यस कम्पनीले २०७८/७९ को वित्तीय विवरण मात्रै आफ्नो वेबसाइटमा राखेको छ। यता नेपाल स्टक एक्सचेन्जले उक्त विवरणलाई समेत आफ्नो वेबसाइटमा राखेको छैन।
सेयर बजारमा सूचीकृत भएका कम्पनीहरूले प्रत्येक त्रैमासमा आफ्नो वित्तीय विवरणहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ तर यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा पनि अपरिष्कृत वित्तीय विवरणहरू सार्वजनिक नगर्नुले हिसाबकिताबमा गडबडी रहेको प्रस्ट हुन्छ।
प्रिमियममा सेयर जारी गर्ने सोनापुरले आफ्नो वित्तीय विवरणहरू समयमा सार्वजनिक नगर्दा समेत नियमनकारी निकाय धितोपत्र बोर्ड मौन छ। नेप्सेमा यस कम्पनीको सेयर गत कात्तिक १२ गते सूचीकृत भइ कारोबार सुरु भएको थियो।
प्रिमिमयमा सेयर निष्कासनका लागि २०७८/७९ को वित्तीय विवरण बुझाएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्षको दुई त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन।
यद्यपी यस कम्पनीले यहि माघ २६ गते दाङको घोराहीमा वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारणसभामा सोनापुरले लगानीकर्तालाई लाभांश विवतरणको प्रस्ताव राखेको छैन। लाभांश प्रस्ताव नगरेपनि कम्पनीको यसअघिको ऋण दायित्व भुक्तानीको प्रस्ताव राखेको छ।
गत आर्थिक वर्षको नाफामा प्रिमियमबापत उठाएको रकम जोडेर कम्पनीको यसअघिको दायित्व भुक्तानीको प्रस्ताव अगाडि बढाउने भएको छ।
कम्पनीले गत वर्ष कमाएको १४ करोड ४० लाख रुपैयाँमध्ये रिजर्भमा छुट्याएर बाँकी रहको नाफा र सेयर प्रिमियम बापतको २ अर्ब ९२ करोड रुपैयाँ जोडेर ऋण तिर्ने प्रस्ताव अगाडि बढाएको छ।
कम्पनीले प्रस्तुत गरेको करिब १० अर्बको वासलातमा ६ अर्ब ६७ करोड रुपैयाँ अल्पकालीन र दीर्घकालीन ऋण दायित्व रहेको छ। प्रिमियम र गत वर्षको नाफा जोडेर ऋण भुक्तानी गर्दासमेत कम्पनीको नाममा अझै ३ अर्ब ६१ करोड रुपैयाँ ऋण बाँकी नै रहन्छ।
आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको दीर्घकालीन ऋण दायित्व करिब ३ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ रहेको छ।
यस्तै यस अवधिसम्ममा कम्पनीको बैंकबाट चालुपुँजी व्यवस्थापनका लागि अल्पकालीन प्रकृतिको ऋण २ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ लिएको छ।
बैंकले गत आर्थिक वर्षसम्म लिएको ऋणको कुल ब्याज खर्च २३ करोड ९१ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ। कम्पनीको यस निर्णयबाट लगानीकर्ता दोहोरो मारमा परेका छन्।
एकातर्फ प्रिमियमको रकम नाफामूलक क्षेत्रमा लगानी गरेर उच्च प्रतिफल प्राप्त अवस्था निर्माण गर्नुको सट्टा पुरानो दायित्व भुक्तानीमा प्रयोग हुने भएको छ।
अर्कोतर्फ प्रिमियममा उठाएको रकमसमेत ऋण भुक्तानीमा अपुग हुने देखिएकाले दीर्घकालीन ऋण दायित्व लगानीकर्ताको थाप्लोमा राखिएको छ। बाँकी रहेको ऋणको ब्याज खर्च प्रत्येक आर्थिक वर्षको आम्दानीबाट घट्दा नाफा कम हुन्छ। जसले गर्दा लगानीकर्ताले लाभांश प्राप्त गर्न अझ थुप्रै आर्थिक वर्ष पर्खिनुपर्ने बाध्यता रहेको देखाउँछ।
सोनापुरको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रिमियम मूल्यसँगै ऋण दायित्वसमेत ब्यहोर्न बाध्य रहेको देखाएको छ।
कम्पनीले बैंक वित्तीय संस्थाको ऋण दायित्व भुक्तानी गर्ने निर्णय आफैमा नराम्रो नभएपनि प्रिमियम सेयर जारी गर्ने कम्पनीका लगानीकर्ताले लाभांश प्राप्त गर्ने अवस्था नहुनुले धितोपत्र बोर्डको निर्णय प्रकृया खोटपूर्ण रहेको पुष्टि हुन्छ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियम परिवर्तन गरेपछि सोनापुरले पनि प्रिमियममा साधारण सेयर निष्कासन गरेको थियो।
हमालले कम्पनी ऐनसँग बाझिनेगरी धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली संशोधनमार्फत केही खराब कम्पनीहरूलाई प्रिमियममा सेयर जारी गर्ने ढोका खोलिदिएका थिए।
कम्पनी ऐनमा प्रिमिमयमा सेयर जारी गर्न लगातार ३ वर्षसम्म नाफा रहेको देखाउनुपर्ने व्यवस्था भएपनि हमालले मन्त्रिपरिषदबाट धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गराएर पछिल्लो २ वर्षसम्म नाफामा रहेको कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न दिन पाउने व्यवस्था कायम गराउन सफल भएका थिए।
यस नीति संशोधनबाट सोनापुरसँगै घोराही सिमेन्ट उद्योग, हिमालयन रि इन्स्योरेन्स र विभिन्न इन्स्योरेन्स कम्पनीले प्रिमियम सेयर जारी गरेका थिए। हमालकै खराब नीतिका कारण सर्वोत्तम सिमेन्टले आफ्नो मूल्यह्रासको रकम घटाउन सम्पत्तिको आयु बढाएर कृत्रिम नाफा देखाएर बुक बिल्डिङ प्रकृयामार्फत सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
घोराही सिमेन्टले समेत सोही विधि अपनाएर वित्तीय विवरणमा नमिल्दो श्रृंगार गरी प्रिमियममा सेयर जारी गरेको हो। हिमालयन रि इस्न्योरेन्सले स्थापना भएको दुई वर्ष पूरा नहुँदै प्रिमिमयमा सेयर निष्कासनको अनुमति पाएको छ।
सोनापुर मिनरल्स तथा आयल कम्पनी दाङ जिल्लाको तुलसीपुर उपनगरपालिकामा सञ्चालित सिमेन्ट क्लिङ्कर उत्पादन गर्ने कम्पनी हो। २०६५ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ २०६९ सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएको छ। यस कम्पनीले पीपीसी र ओपीसी ब्राण्डका सिमेन्ट उत्पादन गर्छ। यस कम्पनी करिब ८६ बिघा क्षेत्रफलमा फैलिएको छ भने दाङकै बंगलाचुली गाउँपालिका र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकामा चुनढुंगा खानी रहेको छ।
यस कम्पनीमा भद्रपुर झापाका तायल परिवारको प्रमुख लगानी रहेको देखिन्छ। उक्त परिवार यसअघि रोजिन एण्ड टार्पेनटाइन कम्पनीको सञ्चालक तथा लगानीकर्ता रहेको थिए।
तायल परिवारमध्ये निपेश तायलको ४८ लाख ६१ हजार ४४४ कित्ता, प्रकाश तायल १५ लाख ७४ हजार ८०७ कित्ता, रतनलाल तायलको १५ लाख ७४ हजार ८०६ कित्ता र अशोक तायलको ८ लाख ३७ हजार ६२८ कित्ता सेयर रहेको छ।
यस्तै आरपी माइलिङ कम्पनीको नाममा ४८ लाख ५८ हजार ५७७ कित्ता, एएन माइनिङ कम्पनीको नाममा ३८ लाख ३५ हजार ७८१ कित्ता, एलिसा पाण्डेको नाममा १ लाख ८४ हजार ५०२ कित्ता, कल्पना शर्माको नाममा ४ लाख ६१ हजार २५५ कित्ता र इन्द्र प्रसाईको नाममा २ लाख ६१ हजार ४०० कित्ता संस्थापक सेयर रहेको छ।
कम्पनीको अध्यक्ष रतनलाल तायल हुन भने प्रबन्ध सञ्चालक निपेश तायल रहेका छन्। यस्तै प्रकाश तायल, भिमप्रशान्त पाठक र एलिसा पाण्डे कम्पनीका सञ्चालक रहेका छन्।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७ करोड रुपैयाँको ४० प्रतिशत सेयर सार्वसाधारणका लागि जारी गरेको थियो। १०० रुपैयाँ सेयरको अंकित मूल्य रहेकोमा कम्पनीले १३७.५८ रुपैयाँ प्रिमियम थप गरी २३७.५८ मा सर्वसाधारणका लागि जारी गरेको थियो।
कम्पनीले जारी गरेको कुल १ करोड २३ करोड २०० कित्ता सेयरमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याएको थियो।
स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्तामात्रै सेयर खरिद गरेपछि बाँकी रहेको १० लाख ३ हजार ५ कित्ता सेयर कम्पनीले पुन: सर्वसाधारणकै सेयरमा जोडेर त्यसको १० प्रतिशत अर्थात १२ लाख १६ हजार ५५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको थियो।
यस्तै ६ लाख ८ हजार २८४ कित्ता सामूहिक लगानीकोषलाई छुट्याएर बाँकी रहेको सेयरबाट ६ लाख ८ हजार २८४ कित्ता नै कम्पनीका कर्मचारीलाई १२५ रुपैयाँ प्रिमियममै जारी गरेको थियो।
सबैलाई छुट्याएर बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता भने सर्वसाधारणका लागि २३७.५८ रुपैयाँमा जारी गरेको थियो।