आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

लाइसेन्स लिन सधैँको सास्ती

images
images
images
लाइसेन्स लिन सधैँको सास्ती

कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नदेखिएको ललितपुरको महालक्ष्मी नगरपालिका लुभुबाट सेवा लिन आएका सुन्दर राउतको भनाइ छ।

images
images

भक्तपुर- भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कार्यालयमा आउने सेवाग्राहीले दैनिक सास्ती भोग्नु परेको छ। 

images
images
images

कोराना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लामो समयसम्म लागू गरेकोे बन्दाबन्दीका कारण एकै पटक धेरै सेवा दिनुपर्ने समस्याले कार्यालयमा आउने सेवाग्राहीलाई सास्ती भोग्नु परेको बताइएको हो। सेवा लिन बिहान ७ बजेदेखि लाइन बस्नेले समयमै सेवा नपाउने समस्या त छदैछ, त्यसमाथि पनि कर्मचारीको लापरवाहीले निकै सास्ती खेप्नु परेको गुनासो पनि उत्तिकै छ। 

images

दैनिक ठेलमठेल भीडले कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि उत्तिकै बढाएको सेवाग्राही बताउँछन्। काभ्रेलाञ्चोक बनेपाबाट बिहान ८ बजे आएर लाइन बसेकी २६ वर्षीय उर्मिला कार्कीले यातायात कार्यालय जगातीमा ठेलमठेल हुँदा निकै सास्ती खेप्नु परेको बताइन्। उनले भनिन्, 'म बिहान ८ बजे आउँदा नै लामो लाइन भइसकेको रहेछ, १० बजे कर्मचारी आउने बेलासम्म त भीडले पाइला राख्ने ठाउँ नै छैन, उताबाटयता ठेल्छन्, यताबाटउता, लाइन एकछिनमा कहाँ पुग्छ, पैसा तिरेर पनि यति धेरै सास्ती खेप्नुपर्ने कस्तो व्यवस्था हो, सरकार हाम्रो देशको।'

images

सेवा लिन कोटेश्वरबाट आएकी २३ वर्षीया सकुन्तला श्रेष्ठको गुनासो पनि उस्तै छ। उनले भनिन्, 'यस्तो भीडमा त महिला र पुरुषको लाइन छट्टाछुट्टै राख्नुपर्ने हो, सडकमै लाइन बस्नुपर्छ, साँघुरो सडकमा चारवटा लाइन कोचिएर उभिँदा पनि मान्छेमाथि मान्छे बसे जस्तो हुन्छ, हामी महिलाका पीडा कसैले बुझेनन्?' 

images
images

कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नदेखिएको ललितपुरको महालक्ष्मी नगरपालिका लुभुबाट सेवा लिन आएका सुन्दर राउतको भनाइ छ। उनले भने, 'कुन सेवाग्राहीले कहाँ र कसरी सेवा लिने पत्तो छैन, सबै भद्रगोल लाइन बस्छन्, १० फुटको साँघुरो बाटोमा चारवटासम्म लाइन राखिएको हुन्छ, फेरि कर्मचारीले सेवाग्राहीलाई प्रष्टसँग बुझाउँदैनन्, उताबाटउता जा, भन्छन्, उताबाट फेरिउता जा भन्छन्, नबुझेर सोधे झर्किन्छन्।'

कुन लाइनकता बस्ने, सवारी चालक अनुमति पत्रको नयाँ र नवीकरणको लाइन कहाँ बस्ने, राजस्व कहाँ तिर्ने केही पत्तो नहुँदा पनि सास्ती भोग्नु परेको सेवाग्राही बताउँछन्। काममा ढिलो हुने गरेपछि सेवाग्राहीले हुटिङ गर्ने र कराउने गरेका छन्। काठमाडौंँ मूलपानीबाट आएका रोमन थापाले आक्रोस व्यक्त गर्दै भने, 'एउटा नवीकरण गर्न एक दिनले पनि भ्याउँदैन्, कर्मचारी १० बजे आउँछन्, उनीहरुलाई सधैँ देखेको भीड उस्तै लाग्ला, हामीलाई भने निकै सास्ती भो, पैसा तिरेर सहज सेवा नपाउनु यो कस्तो प्रवृत्ति हो।'
 
कोरोना महामारीका बाबजुद यहाँ भौतिक दूरी कायम गर्न परै जाओस्, स्वास्थ्य सुरक्षासम्बन्धी कुनै पनि मापदण्ड पालना भएको पाइँदैन। सरकारी कार्यालयले कर प्रणालीलाई अनलाइन र टोकनमार्फत व्यवस्थित गर्ने भनिए पनि जगातीस्थित यातायात कार्यालयमा लाइन लागेरै कर बुझाउनुपर्ने बाध्यता छ। एउटा सेवा लिन आउँदा तीन ठाउँमा लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो सेवाग्राहीको छ। 

कार्यालयमा बिचौलिया हाबी भएको गुनासो पनि सेवाग्राहीको छ। सेवाग्राही कल्पना महर्जनले भने, 'यहाँ त बिचौलिया पनि धेरै रहेछन्, बिचौलियालाई रोक्न नसक्दा पनि लाइन बस्ने सेवाग्राही मारमा परेका छन्।' यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशीशङ्कर महर्जनले अझै केही दिनसम्म कार्यालयमा यस्तै भीड हुने बताए। 

यातायात व्यवस्था विभागले नयाँ र पुरानोलाई एकैपटक बोलाइदिएकाले भीड भएको उनको भनाइ छ। 'लामो समयको लकडाउनका कारण पनि भीड बढेको हुन सक्छ',  उनले भने, 'झण्डै १४ महिनाको लकडाउनले यहाँको काम प्रभावित भयो, त्यसपछि अहिले एकै पटक नयाँ अनलाइन फाराम पनि खुल्यो, पुराना बाँकी भएका, लकडाउन अगाडि र बीचमा छुटेका, पुनःप्रयोगात्मक परीक्षा (रिट्रायल) गर्नुपर्ने, नवीकरण गर्नुपर्ने सबैलाई एकै पटक सेवा दिनुपर्दा अहिले भीडको समस्या आएको हो। एक महिना अघिको भन्दा त अहिले कम भइसक्यो, अझै केही सातापछि कम हुन्छ।'
 
सेवाग्राहीको गुनासो आएपछि टोकन प्रणाली सुरु गरेको बताउँदै उनले कार्यालय समय सुरु हुने वित्तिकै १० बजे लाइनमा बसेका सेवाग्राहीलाई टोकन बाँड्ने गरेको बताए। अहिले दिनमा ४०० देखि ६०० सम्म सेवाग्राही आउने गरेको बताउँदै उनले राजस्व बुझाउन ३ बजे बैंँक बन्द भए पनि ४ बजेसम्म राजस्व लिने र भोलि पल्ट दाखिला गर्ने गरेको उनले बताए।
 
जनशक्तिको आधारमा मुस्किलले दैनिक ३०० जनासम्मलाई सेवा दिनसक्ने क्षमता भए पनि दोब्बर सङ्ख्यामा सेवा दिनुपर्दा समस्या आएको उनको भनाइ छ। कार्यालय प्रमुख महर्जनले भने, 'भीड धेरै भएपछि ४०० जनासम्मलाई टोकन बाड्ने गरेका छौँ, टोकन पाएर पनि त्यसदिन सबै कामको पालो नआउनेलाई भोलिपल्ट बिहान पहिलो सेवा दिने गरेका छौँ।' 

वाग्मती प्रदेशका १३ जिल्लाका साथै नागरिकता भएका अन्य जिल्लाका बासिन्दाले समेत यहाँबाट पाउने सबै सेवा लिन आउँदा पनि भीड बढेको हो। प्रमुख महर्जनले भने, 'यहाँ जागिर खान निकै गाह्रो छ, खानानै नखाइ आयो, कर्मचारीले पनि सकेसम्म राम्रै सेवा दिइरहेका छन्, म आफैँले सेवाग्राहीको गुनासो सुन्ने र प्रभावकारी सेवा दिने प्रयास गरिरहेको छु, कहिलेकाहीँ सर्वर डाउन हुँदा निकै समस्या पर्छ, सेवाग्राहीले हेलमेटनै उचालेर हान्न खोज्छन्, टेबुल ठटाउँछन्, तैपनि समस्या आउदा बुझाएर पठाउने गरेको छु। रासस

images

प्रकाशित : मंगलबार, मंसिर १४ २०७८११:३५

प्रतिक्रिया दिनुहोस