शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍लाई पत्र पठाउँदै बिदामा बसे हमाल

आइतबार, पुस ८ २०८०
नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍लाई पत्र पठाउँदै बिदामा बसे हमाल

काठमाडौं- धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने अनुमतिका लागि मन्त्रिपरिषद्‍मा पत्र पठाउँदै आफ्नो कार्यकाल सकिनुभन्दा दुई साता अगाडिबाट बिदा बसेका छन्। 

धितोपत्र बोर्डको गएको शुक्रबार बसेको सञ्चालक समिति बैठकबाट रोकिएको नयाँ स्टक एक्सचेन्ज प्रक्रिया अगाडि बढाउने पत्र मन्त्रिपरिषद्‍लाई पठाउँदै हमाल बिदामा बसेका हुन्।

हमालको कार्यकाल पुस २० गतेबाट सकिँदैछ। धितोपत्र बोर्डका अध्यक्षले आफ्नो कार्यकाल सकिनुभन्दा एकमहिना अगाडिबाट बिदामा बस्नुपर्ने व्यवस्था भएपनि हमाल दुई सातामात्रै बिदामा बस्न लागेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए।

बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई प्रशासन र मुक्तिनाथ श्रेष्ठलाई सुपरिवेक्षणको जिम्मेवारी दिएर हमाल बिदामा बसेको सूचना अधिकारी देवकोटाले बताए।

नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन हमालले आफ्नो बिदा बस्ने अवधि बढाएका थिए। 

'हमाल प्रवृत्ति'ले सीमित समूहको पकडमा धकेलिँदै पुँजी बजार 'हमाल प्रवृत्ति'ले सीमित समूहको पकडमा धकेलिँदै पुँजी बजार

नयाँ स्टक एक्सचेन्ज सञ्चालनको प्रक्रिया अगाडि बढाउनेबारे चौतर्फी विरोध भएपछि संसदको अर्थसमिति र मन्त्रिपरिषद्‍ले प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो। 

प्रक्रिया अगाडि बढाउनका लागि बोर्डले अर्थ मन्त्रालय पत्र पठाएको थियो। तर अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद्‍को निर्णयले रोकिएकाले जुन प्रक्रियाबाट रोकिएको सोही प्रक्रियाबाट अगाडि बढाउन भन्दै धितोपत्र बोर्डलाई पत्र पठाएपछि हमालले प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मन्त्रिपरिषद्‍लाई पत्र पठाएका हुन्। यसका लागि गएको शुक्रबार बोर्ड सञ्चालक समितिको बैठक राखिएको थियो।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनसम्बन्धी प्रक्रिया अगाडि बढाउन सर्वोच्च अदालतको आदेश र संसदको अर्थसमितिले निर्देशन जारी गरिसकेकाले रोकेर राख्नु अर्थहीन हुने भन्दै हमालले मन्त्रिपरिषद्‍लाई पत्र पठाउन बोर्ड सञ्चालक सदस्यबीच प्रस्ताव राखेका थिए। हमालको प्रस्तावमा सञ्चालकहरूले सहमति जनाएपछि नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन शुक्रबार नै पत्र पठाइएको छ।


प्रकाशित : आइतबार, पुस ८ २०८०१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend