बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको सेफ्टी परिपालना कमजोर हुँदा यो वर्ष पनि हटेन ईयूको कालोसूचीबाट

बिहीबार , मंसिर १४ २०८०
नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको सेफ्टी परिपालना कमजोर हुँदा यो वर्ष पनि हटेन ईयूको कालोसूचीबाट

श्री एयरलाइन्सको सञ्चालन प्रणाली, उडान दल थकानजस्तो न्यूनतम व्यवस्थापको पनि परिपालना नभएको, उडान योजना राम्रोसँग नबनेको तथा संस्थागत संरचना सेफ्टी मापदण्ड अनुसार नभएको उल्लेख गरिएको छ। 

काठमाडौं- युरोपेली युनियन (ईयू) अन्तर्गतको युरोपेली आयोग (ईसा)ले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। 

ईयूले सन् २०१३ को डिसेम्बर ६ देखि नेपाली वायुसेवा कम्पनीका वायुयानहरूलाई युरोपको आकाशमा उडान गर्न नपाउने गरी उडान सुरक्षा चासो लिष्टमा राखेको थियो। पछिल्लो अडिटबाट पनि ईयूले सूचीबाट हटाउन अस्वीकार गरेको हो। 

ईयूका प्रतिनिधिले गरेको स्थलत अडिटका क्रममा कालोसूचीबाट हटाउनका लागि आवश्यक तयारी नपुगेको प्रतिवेदन तयार भएको छ। ईयूले दिएको प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ। 

विशेषगरी नेपाल एयरलाइन्सको सेफ्टी प्रणाली जोखिमयुक्त रहेको उल्लेख गरिएको छ। नियामकले औँल्याएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन भद्रगोल भएको, कार्यान्वयन क्षमता तथा सञ्चालन प्रणाली कमजोर रहेको उल्लेख गरिएको छ। यी कमजोरी सुधार नगर्दासम्म नेपाली एयरलाइन्सलाई युरोपमा कालोसूचीबाट हटाउन नसकिने उल्लेख गरिएको छ। 

श्री एयरलाइन्सको सञ्चालन प्रणाली, उडान दल थकानजस्तो न्यूनतम व्यवस्थापनको पनि परिपालना नभएको, उडान योजना राम्रोसँग नबनेको तथा संस्थागत संरचना सेफ्टी मापदण्डअनुसार नभएको उल्लेख गरिएको छ। 

तत्कालीन समयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले समेत नेपाललाई सुरक्षा चासो (कालोसूची) मा राखेको थियो।आईकाओले २०१२ को जुलाईमा अडिट गरेको थियो।

आईकाओले नेपाली वायुसेवा कम्पनीहरूको सुरक्षा अवस्था सन्तोषजनक नरहेको र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षाको विषयमा गर्नुपर्न काम नगरेको भन्दै नेपाललाई सुरक्षा चासो लिष्टमा राखेको थियो। सोही क्रममा ईयूले पनि आईकाओले उठाएको प्रश्नलाई नै आधार मानेर नेपाली वायुसेवा कम्पनीका वायुयानहरूलाई युरोपको आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको थियो।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend