शनिबार, मंसिर ८ गते २०८१    
images
images

सर्वोत्तमको कृत्रिम नाफा : संस्थागत लगानीकर्ता र कर्मचारीलाई दोष दिएर उम्कन खोज्दैछन् अध्यक्ष हमाल

भन्छन् - मैले अनुमति दिने हो, कम्पनीको वासलात हेर्दिनँ

images
सोमबार, मंसिर ११ २०८०
images
images
सर्वोत्तमको कृत्रिम नाफा : संस्थागत लगानीकर्ता र कर्मचारीलाई दोष दिएर उम्कन खोज्दैछन् अध्यक्ष हमाल

बुकबिल्डिङ वा कुनै पनि प्रकृयामार्फत प्राथमिक सेयर निष्कासन अनुमतिका लागि वित्तीय विवरणको अध्ययन गर्ने काम धितोपत्र बोर्डका अध्यक्षले नभइ कर्मचारीले गर्ने हमालले बताएका छन्।

images
images

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रकृयामा सहभागी हुनैका लागि आफ्नो वित्तीय विवरणमा गरेको कृत्रिम सजावटबारे धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गैरजिम्मेवार र विवादास्पद प्रतिक्रिया दिएका छन्।

images
images
images

बुक बिल्डिङ प्रकृयामार्फत प्राथमिक सेयर निष्कासन गर्दा कम्पनीको वित्तीय विवरण हेर्ने काम धितोपत्र बोर्डका अध्यक्षको नभइ अन्य कर्मचारी, बिक्री प्रबन्धक र छनौट भएका योग्य संस्थागत लगानीकर्ताको भएको हमालको भनाइ छ। 

images

'बुक बिल्डिङ विधिअन्तर्गत सर्वोत्तम सिमेन्टको बुक हेर्ने काम सेबोनको हुँदैन। उसको वित्तीय विवरण हेर्ने काम योग्य संस्था र लगानीकर्ताको हो। ६५ कम्पनीले सर्वोत्तम सिमेन्टको मूल्य निर्धारणका लागि बोलकबोल प्रकृयामा सहभागी भएका छन्। बिक्री प्रबन्धकले कम्पनीको सम्पूर्ण वित्तीय विवरण उपलब्ध गराएर संस्थागत लगानीकर्तालाई मूल्य निर्धारण प्रकृयामा सहभागी गराउने हो', हमालले भने।

images

बुकबिल्डिङ वा कुनै पनि प्रकृयामार्फत प्राथमिक सेयर निष्कासन अनुमतिका लागि वित्तीय विवरणको अध्ययन गर्ने काम धितोपत्र बोर्डका अध्यक्षले नभइ कर्मचारीले गर्ने हमालले बताएका छन्।

बिजनेस न्युजसँग कुरा गर्दै उनले भने, 'बुक बिल्डिङ वा जुनसुकै प्रकृयामा पनि कम्पनीको वित्तीय विवरणको अध्ययन धितोपत्र बोर्डको अध्यक्षले गर्दैन। यससम्बन्धी प्राविधिक कुराहरूको अध्ययन गर्नका लागि बोर्डभित्र विभिन्न समिति तथा उपसमितिहरू छन्। यसैको अध्ययनका लागि बोर्डभित्र चार्टर्ड एकाउन्टेडहरू छन्। महाशाखा तथा विभाग प्रमुख उपप्रमुखहरू छन्। उनीहरूले यसबारे अध्ययन गर्ने हो।'

कात्तिक ७ गते सर्वोत्तमको बुक बिल्डिङ प्रकृयामा बिक्री प्रबन्धकहरूले बुझाएको 'ड्युडेलिजेन्स रिपोर्ट' बोर्डले सन्तोषजनक रहेको बताएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, सहबिक्री प्रबन्धकहरू प्रभु क्यापिटल र नेपाल इन्भेष्टमेन्ट मेघा क्यापिटलले बुझाएको उक्त रिपोर्टमा बोर्डको नियमन विभागले सहमति जनाएको छ।

सर्वोत्तम सिमेन्टले प्रस्तुत गरेको सम्पूर्ण विवरण सही र सत्य रहेको भन्दै बोर्डको नियमन विभागले सहमति प्रदान गरेको छ। बोर्डले निम्न ५ कुरामा सहमति जनाएर बुक बिल्डिङ प्रकृया अगाडि बढाउन अनुमति प्रदान गरेपनि बोर्ड अध्यक्ष हमाल आफूलाई सबै विषयको जानकारी नहुने अभिव्यक्ति दिइरहेका छन्। 

१. कम्पनीको 'विवरणपत्र' मा उल्लेख गरिएका विवरण तथा जानकारीहरू हामीलाई निष्कासनकर्ता सर्वोत्तम सिमेन्ट लिमिटेड तथा कम्पनीका सञ्चालकहरू, सञ्चालक समिति, सम्बन्धित निकायहरू, सो कम्पनीबाट नियुक्त गरिएका लेखापरिक्षक, विज्ञ तथा सञ्चालक समितिबाट अख्तियार प्राप्त अधिकारीवाट प्रमाणित गराइ उपलब्ध गराएको विवरण तथा जानकारीहरूको आधारमा यस कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै विवरणपत्रमा लेखिएका आर्थिक विवरणहरू र अन्य जानकारी विवरणपत्रमा समावेश गरी उपलब्ध गराइएको हदसम्म तथ्यगत, पूर्ण र सही देखिएको, साथै कम्पनी ऐन, २०६३ को दफा २४ मा भएको व्यवस्थाको अधिनमा रही कम्पनीको मिति २०८०/०७/१३ गते बसेको १७८ औँ सञ्चालक समितिको बैठकले विवरणपत्रमा उल्लेखित विवरणको स्वामित्व ग्रहण गर्दै विवरणपत्रमा सहीछाप समेत गरेबाट लगानीकर्ताहरूलाई लगानीसम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुराप्रति विश्वस्त भइ हामीले यो विवरणपत्र स्वीकृक्तिका लागि नेपाल धितोपत्र बोर्डमा 'धितोपत्रसम्बन्धी ऐन, २०६३' तथा 'धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुरुपको योग्यता पुगेको प्रतिवद्धतापत्र प्रस्तुत गरेको छ। 

२. प्रचलित धितोपत्र कारोबारसम्बन्धी कानूनअनुसार पेश गर्नुपर्ने सम्पूर्ण कागजात र विवरणहरू प्रमाणित गरी त्यहाँ पेश गरिएको र प्रत्येकको एक/एक प्रति सार्वजनिक जानकारीको लागि यस कार्यालयमा राखिएको छ। 

३. हाम्रो विचारमा कम्पनीद्वारा निष्काशित धितोपत्र, धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रचलित धितोपत्र सूचीकरणसम्बन्धी व्यवस्थाबमोजिम सूचीकरण हुन योग्य छन्।

४. कम्पनीले निष्कासन गर्न लागेको प्राथमिक सेयरका लागि आवेदन दिने आवेदकहरूलाई 'विवरण-पत्र तथा दरखास्त फारम सरल तरिकाबाट वितरण गर्ने तथा अन्य जानकारी उपलब्ध गराउने सम्बन्धमा कम्पनीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने छौँ।

५. हामीले त्यस बोर्डबाट जारी गरिएको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा उल्लेखित सबै कुराहरूको अध्ययन गरेका छौँ। उक्त व्यवस्थाहरूसँग अनुरूप हुने गरी कम्पनीले भरेको विवरण र दिएको जानकारी सन्तोषजनक पाएका छौँ।

sebon pp.jpg

यसरी बिक्री प्रबन्धक तथा सहायक बिक्री प्रबन्धकबाट प्रस्तुत ड्युडेलिजेन्स रिपोर्टमा सहमति जनाएको धितोपत्र बोर्डका अध्यक्ष भने बोर्डले सबै कुराको अध्ययन गर्न नसक्ने बताउँछन्।

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रकृयामार्फत प्राथमिक सेयर निष्कासनका लागि अन्तिम अनुमति दिने अधिकार धितोपत्र बोर्डको अध्यक्षको भएपनि उसले सबै वित्तीय विवरण हेर्न नसक्ने गैरजिम्मेवार र हाँस्यापद जवाफ हमालले दिए।

हमालले भने, 'अन्तिम निर्णय धितोपत्र बोर्ड र अध्यक्षले गरेपनि सबै कुरा मलाई थाहा हुन्छ भन्ने हुँदैन। अध्यक्षले सबै कुरा हेर्ने हो भने एउटा फाइल अध्ययन गर्न तीन महिनाभन्दा बढी लाग्छ' उनले अस्पतालको उदाहरण दिँदै थपे, 'बिरामी अस्पतालमा गयो भने बिरामीको मुटु हेर्ने छुट्टै, पिसाब हेर्ने छुट्टै, रगत हेर्ने छुट्टै टोली हुन्छ।'

मंसिर ६ गते बुधबारबाट बुक बिल्डिङमार्फत सेयर बिक्री सुरु गरेको सर्वोत्तम सिमेन्टले खुद सम्पत्तिको आयु बढाएर मूल्यह्रास कट्टी गर्दै नाफा कम गरेको देखिन्छ। उसले आफ्नो वेबसाइटमा राखेको वित्तीय विवरणमा सेयर निष्कासन गर्ने प्रयोजनकै लागि गलत वित्तीय विवरण राखेको तथ्य बिजनेस न्युजले यसअघि नै प्रकाशन गरिसकेको छ।

कम्पनीले प्रस्तुत गरेको पछिल्लो चार वर्षको वित्तीय विवरणनुसार नै मूल्यह्रास कट्टी गरेको भए गतवर्ष सर्वोत्तम सिमेन्ट करिब आधा अर्बले घाटामा जाने निश्चित भएपनि वित्तीय विवरण तोडमोड गरि प्रकाशन गरिएको छ।

पछिल्लो चार आर्थिक वर्षमा कम्पनीको जसरी सम्पत्तिको मूल्य बढेको छ सोही अनुपातमा  सामान्यत: मूल्यह्रास करिब ८ प्रतिशतदेखि १० प्रतिशतले बढेको देखिन्छ। तर गत आर्थिक वर्षको मूल्यह्रास रकम भने आर्थिक वर्ष २०७८/७९ को भन्दा ६२ प्रतिशतले कम हो। कम्पनीले मूल्यह्रास कट्टी कम गरी नाफा बढाउन सम्पत्तिको आयु बढाएर वित्तीय विवरणमा तथ्यहरू तोडमोड गरेको छ। 

कम्पनीले कृत्रिम नाफा देखाउनका लागि कर्मचारीको तलब नै ५० प्रतिशत कम भएको देखाएको छ। जुन विषय सिमेन्ट उद्योगका लागि असम्भव हुने अधिकांश सिमेन्ट उद्योगीहरूले बताउने गरेका छन्।

सामान्यत: सिमेन्ट उद्योगको उत्पादनमा जतिसुकै कटौती भएपनि कर्मचारीको तलबभत्ता १० देखि १५ प्रतिशतभन्दा बढीले घटाउन नसकिने उनीहरूको तर्क छ। तर सर्वोत्तम सिमेन्टले कृत्रिम नाफा देखाइ बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणबाट रकम उठाउनका लागि गत वर्षको वित्तीय विवरणमा कर्मचारीको तलब ३ करोड १६ लाख रुपैयाँले घटाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले कर्मचारीको तलबभत्ताका लागि ६ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा गत आर्थिक वर्षमा ३ करोड १५ लाख रुपैयाँ खर्च देखाएको छ।

यस्तै कम्पनीले सम्पत्तिको खुद मूल्य बढाए पनि मर्मत तथा सम्भार शीर्षकमा गरेको खर्च निकै कम छ। तर उपकरणको आयु भने शतप्रतिशतले बढाएर खर्च कम देखाइएको छ। कम्पनीले कृत्रिम नाफा सृजना गर्न सम्पत्तिको आयु बढाएर मर्मतसम्भारका लागि कुनै पनि खर्च गरेको देखिँदैन।

कम्पनीले उद्योग तथा अफिसमा प्रयोग भएका फर्निचरको आयु ८ वर्षबाट बढाएर २० वर्ष बनाएको छ। जुन लेखाको सर्वमान्य सिद्धान्तका साथै आयकर ऐनविपरित देखिन्छ। 

नेपाल सरकारको खनिज उत्खननसम्बन्धी व्यवस्थामा भएको नियमविपरित २० वर्षको आयुलाई १० वर्षले बढाएर ३० वर्ष कायम गरिएको छ। यसरी खनिज उत्खननसम्बन्धी आयु बढाउनका लागि नेपाल सरकारको कानूनी व्यवस्थाअनुसार पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ। यसलाई कम्पनीले पूर्णरुपमा बेवास्ता गर्दै वित्तीय विवरणमा झुटा श्रृंगार गरेको छ।

यस्तै कम्पनीले मूल्यह्रास प्रयोजनकै लागि प्रयोग भइरहेको भवनहरूको आयु ३० वर्षबाट बढाएर ६० वर्ष कायम गरेको छ। कम्पनीले प्रयोग गरिरहेको मेसिनरी तथा उपकरणको आयु १५ प्रतिशतबाट बढाएर ३५ वर्ष कायम गरिएको छ। जुन सिमेन्ट उद्योगभित्र परिकल्पना गरिँदैन।

यस्तै हेभी यन्त्रउपकरणको आयु ९ वर्षबाट बढाएर १२ वर्ष कायम गरिएको छ। कम्पनीले वित्तीय विवरणमा प्रस्तुत गरेको तथ्यले बढ्दो मूल्यह्रास कम देखाएर नाफा बढाएको देखिन्छ। यसको प्रमुख उद्देश्य भनेकै बुक बिल्डिङ प्रकृयाबाट जसरी पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने रहेको छ।

यसअघि पनि कम्पनीको बुक बिल्डिङ प्रकृयामा चर्को विवाद भएको थियो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अग्रिमरुपमा सेयर खरिद गरेको पुष्टी भएपछि कम्पनीको सेयर निष्कासन प्रकृया स्थगित गरिएको थियो।

यसपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना निलम्बनमा परेका थिए भने नेप्सेका सीईओ साउदले राजीनामा दिएका थिए। ढुंगानाले आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पुष्टी भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गर्ने निर्णय गरेको थियो। 

यस्तोमा अहिले पुन: सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई प्रलोभनमा पारेर वित्तीय विवरणमा कृत्रिम सजावटका लागि उपाय रचेको देखिन्छ।

विगतका वर्षहरूकै आधारमा कम्पनीको अन्तिम लेखा परिक्षण भएको भए गत आर्थिक वर्षमा कम्पनीले करिब ७५ करोड रुपैयाँ नाफानोक्सानमा ह्रासकट्टीबापत खर्च बुक गर्नुपर्ने थियो। अनेक हतकण्डा अपनाएर कम्पनीको कुल मूल्यह्रास २५ करोडमा सीमित गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ३६ करोठ ७७ लाख रुपैयाँ, २०७६/०७७ मा ५३ करोड ५५ लाख, आर्थिक वर्ष २०७७/०७८ मा ५७ करोड ३ लाख, आर्थिक वर्ष ०७८/०७९ मा ६६ करोड ९८ लाख रुपैयाँ मूल्यह्रास घटाइएको छ। तर गत आर्थिक वर्ष २५ करोड ३ लाख मूल्यह्रास कट्टा गरी २० करोड ७५ लाख रुपैयाँ नाफा देखाइएको छ।

स्थिर सम्पत्तिको आयु बढाइ विगतकै वर्षका आधारमा मूल्यह्रास कट्टा गरिएको भए सर्वोत्तम सिमेन्ट करिब ३० करोडभन्दा बढीले नोक्सानमा जाने निश्चित छ। नोक्सानमा भएको कम्पनी बुक बुल्डिङ प्रकृयाका लागि अयोग्य ठहर हुने धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावलीले देखाएको छ। 

करोडौँ घाटामा रहेको सर्वोत्तमलाई नाफामा देखाउन यस्ता जालझेल करोडौँ घाटामा रहेको सर्वोत्तमलाई नाफामा देखाउन यस्ता जालझेल

बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड


प्रकाशित : सोमबार, मंसिर ११ २०८००४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend