शनिबार, साउन १२ गते २०८१    
images
images
images

करोडौँ घाटामा रहेको सर्वोत्तमलाई नाफामा देखाउन यस्ता जालझेल

फर्निचरको आयु २० वर्ष, मेसिनको आयु बढाएर ३५ वर्ष

images
बिहीबार , मंसिर ७ २०८०
images
images
करोडौँ घाटामा रहेको सर्वोत्तमलाई नाफामा देखाउन यस्ता जालझेल
images

काठमाडौं- सर्वोत्तम सिमेन्टले आफ्नो वित्तीय विवरणमा जालझेल गरेर झुटो नाफा देखाउँदै नेपालमा पहिलोपटक बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन सुरु गरेको छ।  

images
images

मंसिर ६ गते बुधबारबाट बुक बिल्डिङमार्फत सेयर बिक्री सुरु गरेको सर्वोत्तम सिमेन्टले खुद सम्पत्तिको आयु बढाएर मूल्यह्रास कट्टी गर्दै नाफा कम गराएको पाइएको छ।

images

कम्पनीले प्रस्तुत गरेको पछिल्लो चार वर्षको वित्तीय विवरणनुसार नै मूल्यह्रास कट्टी गरेको भए गतवर्ष सर्वोत्तम सिमेन्ट करिब आधा अर्बले घाटामा जाने निश्चित छ। किनकि पछिल्लो चार आर्थिक वर्षमा कम्पनीको जसरी सम्पत्तिको मूल्य बढेको छ सोही अनुपातमा सामान्तया मूल्यह्रास करिब ८ प्रतिशतदेखि १० प्रतिशतले बढेको देखिन्छ।

गत आर्थिक वर्षको मूल्यह्रास रकम आर्थिक वर्ष २०७८/७९ को भन्दा ६२ प्रतिशतले कम हो। विधि परिवर्तन नगरी यस्तो चमत्कारिक गिरावट सम्भव नहुने जानकारहरू बताउँछन्। 

images

'लेखाका सर्वमान्य सिद्धान्तअनुसार मूल्यह्राससम्बन्धी विधि परिवर्तन गर्न सकिने भएपनि सार्वजनिक निष्कासनकै लागि मात्रै परिवर्तन गर्नु कम्पनीको नियत र नियामकको आर्थिक मोह रहेको प्रस्ट हुन्छ', एक पूर्वसचिवले भने 'विधि नै परिवर्तन गर्न कम्पनीले चाहेको भए अघिल्ला आर्थिक वर्षबाटै गर्नुपर्थ्यो। अघिल्ला आर्थिक वर्षमा मूल्यांकनसम्बन्धी विधि किन प्रयोग गरिएन यसले गम्भीर प्रश्नचिन्ह खडा गर्छ।'

कम्पनीले खर्च घटाएर कृत्रिम नाफा देखाउन गरेको प्रपञ्ज अर्थशास्त्रसम्बन्धी सामान्य ज्ञान भएकाले समेत प्रश्न गर्नसक्ने ढंगको भएको र गलत तरिकाले हिसाब किताब मिलान गरिएको एक सिमेन्ट उद्योगीले बताए।

कम्पनीले कृत्रिम नाफा देखाउनका लागि कर्मचारीको तलब नै ५० प्रतिशत कम भएको देखाएको छ। जुन विषय सिमेन्ट उद्योगका लागि असम्भव हुने अधिकांश सिमेन्ट उद्योगीहरूले बताउने गरेका छन्।

सामान्यत: सिमेन्ट उद्योगको उत्पादनमा जतिसुकै कटौती भएपनि कर्मचारीको तलबभत्ता १० देखि १५ प्रतिशतभन्दा बढीले घटाउन नसकिने उनीहरूको तर्क छ। तर सर्वोत्तम सिमेन्टले कृत्रिम नाफा देखाइ बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणबाट रकम उठाउनका लागि गत वर्षको वित्तीय विवरणमा कर्मचारीको तलब ३ करोड १६ लाख रुपैयाँले घटाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले कर्मचारीको तलबभत्ताका लागि ६ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा गत आर्थिक वर्षमा ३ करोड १५ लाख रुपैयाँ खर्च देखाएको छ।

यस्तै कम्पनीले सम्पत्तिको खुद मूल्य बढाए पनि मर्मत तथा सम्भार शीर्षकमा गरेको खर्च निकै कम छ। तर उपकरणको आयु भने शतप्रतिशतले बढाएर खर्च कम देखाइएको छ। कम्पनीले कृत्रिम नाफा सृजना गर्न सम्पत्तिको आयु बढाएर मर्मत सम्भारका लागि कुनै पनि खर्च गरेको देखिँदैन।

कम्पनीले उद्योग तथा अफिसमा प्रयोग भएका फर्निचरको आयु ८ वर्षबाट बढाएर २० वर्ष बनाएको छ। जुन लेखाको सर्वमान्य सिद्धान्तका साथै आयकर ऐनविपरित देखिन्छ। 

नेपाल सरकारको खनिज उत्खननसम्बन्धी व्यवस्थामा भएको नियमविपरित २० वर्षको आयुलाई १० वर्षले बढाएर ३० वर्ष कायम गरिएको छ। यसरी खनिज उत्खननसम्बन्धी आयु बढाउनका लागि नेपाल सरकारको कानूनी व्यवस्थाअनुसार पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ। यसलाई कम्पनीले पूर्णरुपमा बेवास्ता गर्दै वित्तीय विवरणमा झुटा श्रृंगार गरेको छ। 

यस्तै कम्पनीले मूल्यह्रास प्रयोजनकै लागि प्रयोग भइरहेको भवनहरूको आयु ३० वर्षबाट बढाएर ६० वर्ष कायम गरेको छ। कम्पनीले प्रयोग गरिरहेको मेसिनरी तथा उपकरणको आयु १५ प्रतिशतबाट बढाएर ३५ वर्ष कायम गरिएको छ। जुन सिमेन्ट उद्योगभित्र परिकल्पना गरिँदैन।

यस्तै हेभी यन्त्रउपकरणको आयु ९ वर्षबाट बढाएर १२ वर्ष कायम गरिएको छ। कम्पनीले वित्तीय विवरणमा प्रस्तुत गरेको तथ्यले बढ्दो मूल्यह्रास कम देखाएर नाफा बढाएको देखिन्छ। यसको प्रमुख उद्देश्य भनेकै बुक बिल्डिङ प्रकृयाबाट जसरी पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने रहेको छ।

यसअघि पनि कम्पनीको बुक बिल्डिङ प्रकृयामा चर्को विवाद भएको थियो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अग्रिमरुपमा सेयर खरिद गरेको पुष्टी भएपछि कम्पनीको सेयर निष्कासन प्रकृया स्थगित गरिएको थियो।

यसपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना निलम्बनमा परेका थिए भने नेप्सेका सीईओ साउदले राजीनामा दिएका थिए। ढुंगानाले आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पुष्टी भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गर्ने निर्णय गरेको थियो। 

यस्तोमा अहिले पुन: सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई प्रलोभनमा पारेर वित्तीय विवरणमा कृत्रिम सजावटका लागि उपाय रचेको देखिन्छ।

विगतका वर्षहरूकै आधारमा कम्पनीको अन्तिम लेखा परिक्षण भएको भए गत आर्थिक वर्षमा कम्पनीले करिब ७५ करोड रुपैयाँ नाफानोक्सानमा ह्रासकट्टीबापत खर्च बुक गर्नुपर्ने थियो। हनेक हतकण्डा अपनाएर कम्पनीको कुल मूल्यह्रास २५ करोडमा सीमित गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ३६ करोठ ७७ लाख रुपैयाँ, २०७६/०७७ मा ५३ करोड ५५ लाख, आर्थिक वर्ष २०७७/०७८ मा ५७ करोड ३ लाख, आर्थिक वर्ष ०७८/०७९ मा ६६ करोड ९८ लाख रुपैयाँ मूल्यह्रास घटाइएको छ। तर गत आर्थिक वर्ष २५ करोड ३ लाख मूल्यह्रास कट्टा गरी २० करोड ७५ लाख रुपैयाँ नाफा देखाइएको छ।

स्थिर सम्पत्तिको आयु बढाइ विगतकै वर्षका आधारमा मूल्यह्रास कट्टा गरिएको भए सर्वोत्तम सिमेन्ट करिब ३० करोडभन्दा बढीले नोक्सानीमा जाने निश्चित छ। नोक्सानीमा भएको कम्पनी बुक बुल्डिङ प्रकृयाका लागि अयोग्य ठहर हुने धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावलीले देखाएको छ। 

बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड


प्रकाशित : बिहीबार , मंसिर ७ २०८०१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend