मंगलबार, मंसिर ११ गते २०८१    
images
images

बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड

images
बिहीबार , मंसिर ७ २०८०
images
images
बुक बिल्डिङमा सर्वोत्तमको बदमासी : कृत्रिम नाफा देखाउन मूल्यह्रास र सम्पत्तिको आयुमा गम्भीर छेडछाड

कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणमार्फत स्थिर सम्पत्तिको आयु शतप्रतिशत बढाएर मूल्यह्रास अघिल्लो वर्षको तुलनामा करिब ४२ करोड रुपैयाँले कम देखाएको छ।

images
images

काठमाडौं- सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि प्रस्तुत गरेको वित्तीय विवरणमा गम्भीर त्रुटीसहित कृत्रिम सजावट गरेको पाइएको छ।

images
images
images

बुक बिल्डिङ प्रकृयामार्फत आईपीओ निष्कासन गर्नकै लागि सर्वोत्तम सिमेन्टले लेखाका सर्वमान्य सिद्धान्तविपरीत गएर आफ्नो वित्तीय विवरणमा कृत्रिम सजावट गरेको छ। बुक बिल्डिङमार्फत आईपीओ जारी गरी सर्वसाधारणबाट रकम उठाउनकै लागि कम्पनीले आफ्नो वित्तीय विवरण 'स्टाण्डर्ड फर्म्याट'भन्दा बाहिर गएर तयार पारेको छ।

images

त्रुटीपुर्ण वित्तीय विवरणमा धितोपत्र बोर्डले समेत लालमोहोर लगाएपछि सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ प्रकृयामार्फत संस्थागत लगानीकर्ताका लागि आईपीओ जारी गरेको छ।

images

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नै सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रकृया अगाडि बढाउन साथ दिएपछि लेखाका सर्वमान्य सिद्धान्तविपरीत गएर घाटामा रहेको कम्पनीलाई नाफामा देखाउने जस्तो गम्भीर वित्तीय अपराध गर्ने काम भएको छ।

नियामक निकायका अध्यक्ष नै कमिसनको खेलमा परेर सर्वोत्तम सिमेन्टजस्तो कम्पनीलाई बुक बिल्डिङमार्फत सेयर निष्कासन प्रकृयालाई अगाडि बढाउने अनुमति दिनुले नेपालको धितोपत्र कारोबार गम्भीर संकटमा फसेको छ।

धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली, २०७३ ले बुक बिल्डिङ प्रकृयामार्फत सेयर जारी गर्न कम्पनी लगातार तीन वर्षसम्म नाफामा रहको वित्तीय विवरण धितोपत्र बोर्डमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ।

नियमावलीको उक्त व्यवस्थालाई कायम गर्न कम्पनीले आफ्नो वित्तीय विवरणमा कृत्रिम सजावट गरी मिलाएको देखिन्छ। कम्पनी नाफामा रहेको देखाउन कम्पनीले स्थिर सम्पत्तिको मूल्यांकन विधि परिवर्तन गरी मूल्यह्रास कम देखाएको छ।

गत आर्थिक वर्षको वित्तीय विवरणमार्फत स्थिर सम्पत्तिको आयु शतप्रतिशत बढाएर मूल्यह्रास अघिल्लो वर्षको तुलनामा करिब ४२ करोड रुपैयाँले कम देखाइएको छ।

कम्पनीले सम्पत्तिको मूल्य बढाएर ‘स्ट्रेटलाइन विधि’ बाट मूल्यह्रास कट्टी गरेको छ। यस विधिनुसार स्थिर सम्पत्तिको वर्तमान मूल्यमा कवाडी मूल्य घटाएर समायोजन भएको मूल्यलाई सम्पत्तिको बाँकी आयुले भाग गरेर मूल्यह्रास निकालिन्छ।

स्थिर सम्पत्तिको आयु कम हुँन जादा यस विधिअनुसार मूल्यह्रास बढ्दै जान्छ तर सम्पत्तिको आयु बढाउनासाथ मूल्यह्रास कम हुन्छ। कम्पनीले सम्पत्तिको आयु बढाएर मूल्यह्रास घटी देखाउने काम चालु आर्थिक वर्षको वित्तीय विवरणमार्फत गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मूल्यह्रासबापत २५ करोड ३ लाख रुपैयाँ मात्रै खर्च कटौती गरेको छ। जब कि अघिल्लो आर्थिक वर्ष मूल्यह्रासबापत करिब ६६ अर्ब ९८ लाख रुपैयाँ खर्च कटौती गरेको देखिन्छ।

कम्पनीले मूल्यह्रास कम देखाउन सम्पत्तिको मूल्य अस्वभाविकरुपमा बढाएको छ। आयकर ऐनअनुसार करिब ५ वर्षभित्र मूल्यह्रास कट्टा गरिसक्नुपर्ने फर्निचरको आयु ८ वर्षबाट बढाएर २० वर्ष कायम गरी मूल्यह्रास कट्टा गरिएको छ।

हेभी इक्युपमेन्टको आयु ९ वर्षबाट बढाएर १२ वर्ष बनाइएको छ। यस्तै १५ वर्ष पनि मुस्किलले सञ्चालन हुने प्लान्ट एण्ड मेसिनरीको आयु दोबरभन्दा बढी २० वर्षले बढाएर मूल्यह्रास कट्टा गरिएको छ। प्लान्ट एण्ड मेसिनरीको आयु ३५ वर्ष बनाइएको छ।

कम्पनीको यसअघिको प्लान्ट मेसिनरीको आयु १५ वर्ष रहेकोमा गत आर्थिक वर्ष बढाएर ३५ वर्ष कायम गरिएको छ।

यस्तै माइन्स डेभलपमेन्टको आयु २० वर्षबाट बढाएर ३० वर्ष कायम गरिएको छ। सबैभन्दा गज्जब त ३० वर्षे भवनको आयु दोबरले बढाएर ६० वर्ष कायम गरी मूल्यह्रास कट्टा गरिएको छ।

जब कि अघिल्ला आर्थिक वर्षहरूमा यस कम्पनीले समानरुपमा मूल्यह्रास कट्टा गरेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा करिब ६७ करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ५३ करोड ५५ लाख रुपैयाँ, २०७६/७७ मा ३६ करोड ७७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ६२ करोड ५९ लाख रुपैयाँ मूल्यह्रास कम्पनीले नाफा नोक्सान खातामा देखाएको छ।

कम्पनीले मूल्यह्रासमा गरेको जालझेलको ढाकछोप गर्न वित्तीय विवरणअन्तर्गतको नाफा नोक्सान खाताको 'स्टाण्डर्ड फर्मम्याट'मा समेत छेडखानी गरेको छ। यसअघि प्रिमियममा सेयर निष्कासन गरेका शिवम् सिमेन्ट र घोराही सिमेन्टले बुझाएको वित्तीय विवरणमा पनि मूल्यह्रासलाई छुट्टै शीर्षकको रुपमा देखाएर नाफानोक्सान खाताबाट खर्च घटाइएको छ।

बुक बिल्डिङ प्रकृयामा गएको सर्वोत्तम सिमेन्टले भने आम्दानीबाट खर्च घटाउँदा मूल्यह्रासलाई सिधै कट्टा नगरी विभिन्न शीर्षकभित्र जोडेर खर्च घटाएको छ।

कम्पनीले आफ्नो नाफा नोक्सान विवरणमा मूल्यह्रास कट्टा नगरी नगद प्रवाह विवरण भने देखाएको छ। जब कि कम्पनीले प्रस्तुत गरेका अघिल्ला आर्थिक वर्षको वित्तीय विवरणहरूमा नाफा नोक्सान खातामा नै प्रस्टरुपमा मूल्यह्रास कट्टा गरेको छ।

कर प्रयोजनका लागि प्रस्तुत गरिने नाफा नोक्सान खाताअन्तर्गत अन्य शीर्षकहरूमा यसरी मूल्यह्रास कट्टा गर्न पाउने भएपनि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने समयमा वित्तीय विवरणमा गलत श्रृंगार गर्नु आफैमा शंकास्पद छ। कर प्रयोजनका लागि घाटामा देखाउन बढी मूल्यह्रास कट्टी गर्ने र सर्वसाधारणबाट बुक बिल्डिङ प्रकृयामार्फत रकम उठाउनका लागि सम्पत्तिको आयु बढाउने काम आफैमा बदनियतपूर्ण देखिन्छ।

यस्तै कम्पनीले प्रस्तुत गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा मूल्यह्रासबापतको २५ करोड रुपैयाँ उत्पादनतर्फको प्रत्यक्ष खर्च र प्रशासनिक खर्चतर्फ समायोजन गरेको छ।

उत्पादन खर्चअन्तर्गत यन्त्र तथा उपकरणबापतको मूल्यह्रास गत आर्थिक वर्ष १९ करोड ३१ लाख रुपैयाँ देखाइएको छ। अघिल्लो आर्थिक वर्षको उक्त शीर्षकमा ५ करोड ५९ लाख रुपैयाँ ह्रासकट्टी गरिएको छ।

यस्तै कम्पनीले गत वर्ष कायम गरिएको २५ करोडमध्येको मूल्यह्रास प्रशासनिक खर्चमा लगेर देखाएको छ। गत आर्थिक वर्षको अपरिष्कृत लेखापरीक्षणको नोट नम्बर २५ को प्रशासनिक खर्चअन्तर्गत भवन तथा अफिस इक्विपमेन्टको मूल्यह्रास भनी ५ करोड ७२ लाख रुपैयाँ खर्च देखाइएको छ।

जब कि अघिल्लो आर्थिक वर्ष उक्त शीर्षकमा ११ करोड ६ लाख रुपैयाँ ह्रासकट्टी गरिएको छ। यस तथ्यबाट पनि सम्पत्तिको अवधि बढाएकाले कार्यालय भवन तथा इक्विपमेन्टको मूल्यह्रास करिब ४८ प्रतिशतले घटेको देखिन्छ।

अघिल्लो वर्षको तुलनामा यस शीर्षकमा कम्पनीले मूल्यह्रास करिब ५ करोड ४३ लाख रुपैयाँ कम देखाएको छ। जसले कम्पनीको नाफा कृत्रिमरुपमा बढाउन मद्दत गरेको छ। अघिल्ला आर्थिक वर्षहरूमा भने कम्पनीले सिधैँ नाफा नोक्सान खातामा मूल्यह्रास कट्टा गरेको छ।

यस तथ्यलाई ढाकछोप गर्न कम्पनीले गत आर्थिक वर्षको यन्त्र तथा उपकरणको  मूल्यह्रास  नाफानोक्सान खातामा छुट्टै शीर्षकको रुपमा नदेखाइ उत्पादन लागतमा जोडेर 'कष्ट अफ सेल्स' शीर्षकको अंग बनाइ बिक्रीबाट घटाइएको छ।

यस्तै भवन तथा उपकरणको मूल्यह्रास पनि प्रशासनिक खर्चमा राखेर कट्टा गरिएको छ। भवन तथा उपकरणको मूल्यह्रास प्रशानिक खर्चमा जोड्दा कम्पनीले यस शीर्षक अस्वभाविकरुपमा कम देखाएकोले खर्चको समायोजन गर्न मद्दत पुगेको छ।

कम्पनीले प्रशासनिक खर्चअन्तर्गत तलब तथा ज्याला शतप्रतिशतले घटाएको छ।

गत आर्थिक वर्ष निर्माण क्षेत्रमा आएको मन्दीले कम्पनीको उत्पादन केही हतसम्म घटेपनि कम्पनीले आफ्नो तलब भत्ता शतप्रतिशतले घटाउनु शंकास्पद देखिन्छ। अघिल्लो आर्थिक वर्ष यस शीर्षकमा कम्पनीले ६ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा चालु आर्थिक वर्ष ३ करोड १५ लाख रुपैयाँमात्रै खर्च गरेको छ।

उत्पादन घटेकाले कम्पनीको कामदार घटेपनि उच्च व्यवस्थापन तहमा रहेका कर्मचारी, उत्पादनसँग सम्बन्धित प्राविधिक तथा इन्जिनियरहरू हटाउनै नमिल्ने जानकारहरू बताउँछन्। तर कम्पनीले कर्मचारीको तलब तथा भत्ता आधाले कम गरेर नाफा बढाउने प्रयास गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड ३३ लाख रुपैयाँ कर्मचारीलाई बोनस दिएकोमा गत आर्थिक वर्ष त्यस्तो देखिएको छैन। कम्पनीको उत्पादन तथा बिक्री घटेपनि ढुवानी खर्च भने बढेको छ।

कर्मचारीको खर्च कटौती गरेपनि सबैभन्दा रोचक तथ्य कर्मचारीको इन्स्योरेन्स प्रिमियम बापतको खर्च भने बढेको छ। जसले कम्पनीले आफ्नो वित्तीय विवरण बदनियत राखेर तयार पारेको प्रस्ट हुन्छ।

अघिल्लो वर्ष इन्स्योरेन्स प्रिमियमबापत कम्पनीले ३८ लाख रुपैयाँ खर्च गरेकोमा गत आर्थिक वर्ष ४६ लाख रुपैयाँ खर्च गरेको छ। प्रशासनिक खर्चअन्तर्गत कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ भवनको मूल्यह्राससहित करिब १७ करोड खर्च देखाएको छ। जब कि अघिल्लो आर्थिक वर्ष यस कम्पनीको यस्तो खर्च करिब ३० करोड रुपैयाँ रहेको थियो।

यस्तै कम्पनीको उत्पादन लागततर्फ पनि अस्वभाविकरुपमा खर्चहरू देखाइएको छ। उत्पादन तथा बिक्री नै कम भएको गत आर्थिक वर्ष कम्पनीको एस्काभेटर तथा लोडर खर्च अस्वभाविकरुपमा बढेको छ।

उत्पादन र बिक्री राम्रो रहेको आर्थिक वर्ष २०७८/७९ मा यस्तो खर्च १ करोड ८५ लाख रुपैयाँ रहेकोमा उत्पादन नै कम भएको गत आर्थिक वर्ष बढेर करिब ५ करोड ५३ लाख रुपैयाँ खर्च बुक गरिएको छ।

यस्तै कम्पनीले गत आर्थिक वर्ष ५ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको आम्दानी ७ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्ष कम्पनीको 'कष्ट अफ सेल्स' ४ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा अघिल्लो आर्थिक वर्ष ६ अर्ब ५३ करोड रहेको प्रस्तुत नाफा नोक्सान खातामा देखाइएको छ।

सर्वोत्तम सिमेन्टको कुल जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा यसको १२.०९ प्रतिशत हुन आउने ६० लाख कित्ता सेयर बुक बिल्डिङ प्रकृयामार्फत निष्कासन गर्न लागेको हो। यस कम्पनीले मंसिर ६ गतेबाट संस्थागत लगानीकर्ताका लागि ६० लाख कित्ताको ४० प्रतिशत सेयर बिक्रीका लागि खुला गरेको छ।

बुक बिल्डिङ प्रकृयाका लागि सर्वोत्तम सिमेन्टले ४०१ रुपैयाँदेखि ६०१.५ रुपैयाँको 'कट अफ रेट' पाएको छ। कम्पनीले बुक बिल्डिङ प्रकृयामार्फत संस्थागत लगानीकर्ताका लागि आह्वान गरेको बोलपत्रमा गत आर्थिक वर्षको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ देखाइएको छ। अघिल्लो आर्थिक वर्ष यस कम्पनीको नेटवर्थ १७२ रुपैयाँ रहेको थियो।

इक्रा नेपाल क्रेडिट रेटिङ कम्पनीले यसलाई 'ट्रीवल बी' रेटिङ गरेको छ। उक्त रेटिङनुसार कम्पनीले आफ्नो वित्तीय दायित्वमात्रै वहन गर्न सक्षम रहेको देखाउँछ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आईएमई क्यापिटललाई दिएको छ।

यसअघि पनि कम्पनीको बुक बिल्डिङ प्रकृयामा चर्को विवाद भएको थियो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अग्रिमरुपमा सेयर खरिद गरेको पुष्टी भएपछि कम्पनीको सेयर निष्कासन प्रकृया स्थगित गरिएको थियो।

यसपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना निलम्बनमा परेका थिए भने नेप्सेका सीईओ साउदले राजीनामा दिएका थिए। ढुंगानाले आफ्नो छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पुष्टी भएपछि शेरबहादुर देउवा सरकारले निलम्बन गर्ने निर्णय गरेको थियो।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend