शुक्रबार, जेठ ३२ गते २०८१    
images
images

गुमनाम ‘गुरिल्ला ट्रेक'

images
शनिबार, कात्तिक १८ २०८०
images
images
गुमनाम ‘गुरिल्ला ट्रेक'
images
images

गण्डकी- पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो 'गुरिल्ला ट्रेक'। गतसाल मध्यबर्खामा उनले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेका थिए। गत वर्षको साउनको दोस्रो साता पोखराबाट निस्किएका उनले पर्वत, बागलुङ, पूर्वी रुकुम हुँदै भदौ आखिरीतिर रोल्पाको जेलवाङ पुगेर पदयात्रा बिट मारेका थिए।

images
images
images

'बागलुङको बुर्तिबाङसम्म मोटरमा पुगेँ, त्यसपछि ढोरपाटन हुँदै पदयात्रा सुरु गरेको थिएँ', २९ वर्षीय गुरुङले भने, 'अरु पदमार्गमा भन्दा बेग्लै अनुभव गुरिल्ला ट्रेकमा भयो, माओवादी जनयुद्धताका छापामार हिँडेको बाटो र युद्ध गतिविधि हुने स्थललाई समेटेर बनाइएको पदमार्ग भएकाले घुम्ने हुटहुटी र जिज्ञासा पहिलेदेखि नै थियो।' 

images

उनका अनुसार प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितिआदि गुरिल्ला ट्रेकका विशेषता हुन्। 'गुरिल्ला ट्रेक ‘भर्जिन’ गन्तव्य हो, यसको ब्राण्डिङ गर्नु जरुरी छ', उनले भने, 'नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला गुरिल्ला ट्रेकबाट नेपालको पर्यटन क्षेत्रले लाभ लिन सक्छ।'

images

रोल्पाको सुनछहारी गाउँपालिकाका पर्यटन व्यवसायी तथा घरबास महासंघ लुम्बिनीका उपाध्यक्ष बालकुमार पुनले छोटो, मध्यम र लामो दुरीबाट गुरिल्ला ट्रेकमा यात्रा गर्न सकिने बताए। उनका अनुसार सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुंगिन्छ।

images
images

मध्यम दुरीको पदयात्रा गर्न १९ दिन लाग्ने पुनको भनाइ छ। जुन बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ। मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिने पुनले बताए। सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाई समेत समेट्ने उनको भनाइ छ।

'ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुंग्याउन सकिन्छ', उनले भने, 'यो ट्रेकले माओवादी जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको थवाङदेखि युद्धले सघन प्रभाव परेका ठाउँलाई जोडेको छ, युद्ध पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको हो।'

बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दुरीमा उक्त ट्रेकको यात्रा गर्न सकिने उनले बताए। 'बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ/दस दिनमै टुंग्याउन सकिन्छ, समय र अरु व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर गुरिल्ला ट्रेकमा जान सकिन्छ', पुनले भने।

अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचे जसरी गुरिल्ला टे«कको विकास भने हुन नसकेको उनको भनाइ छ। 'राज्यले पनि खासै हेरेन, पर्यटन सम्बद्ध संघसंस्थाको पनि उपेक्षामा यो ट्रेक परिरहेको छ', पुनले भने, 'पर्यटन विकासको प्रचुर सम्भावना भएर पनि गुरिल्ला ट्रेक यसै गुमनाम छ।'

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको पहलमा विसं २०७२ मा यो पदमार्ग घोषणा गरिएको थियो। विसं २०७३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए। माओवादी आन्दोलनमा ‘चुनुवाङ बैठक’ बहुचर्चित मानिन्छ। 

सोही बैठकबाट माओवादीले जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने निर्णय लिएको थियो । 'गुरिल्ला ट्रेकको अवधारणा विसं २०६८/०६९ देखि नै सुरु भएको हो, घोषणा र प्रवर्द्धनको काम पछि आएर भयो', पुनले भने, 'अरु भन्दा यो ट्रेक विशिष्ट खाले छ, युद्ध पर्यटनसँग जोडिएको छ।'

पूर्वाधार र प्रचार अभावमा गुरिल्ला ट्रेक छायाँमा परेको उहाँको बुझाइ छ । 'अध्ययन/अनुसन्धानका लागि देशविदेशका खोजकर्ता तथा अनुसन्धानकर्मी बेलाबेला आउँछन्, तर पर्यटकको आकर्षण भने बढ्न सकेको छैन', उनले भने, 'योजनाबद्ध पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनको खाँचो छ, स्थानीय तहदेखि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ।'

उक्त ट्रेकको नक्सांकन भइसकेको र विभिन्न टुर्स एण्ड ट्राभल्स कम्पनीमार्फत पनि प्रवर्द्धनको प्रयास भइरहेको पुनले उल्लेख गरे। 'म्याग्दीको गुर्जाघाटदेखि ढोरपाटनको बुकी भएर पूर्वी रुकुम निस्कदा दुई/तीन दिनसम्म मानव बस्ती नै भेटिँदैन, लत्ताकपडा, खानेकुरा, टेण्टसहित बन्दोबस्ती लिएर यो ट्रेकमा जानुपर्छ', पुनले भने, 'अन्त भने खाजाघर, होटल र घरबास ठाउँठाउँमा छन्, खास ठूलो समस्या छैन।' 

पर्यटक पथप्रदर्शक गुरुङले गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उल्लेख गरे। 'छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बंकर, माओवादी नेताका बैठकस्थलआदिको अवलोकन गर्न सकिन्छ', उनले भने, 'अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ।'

उनका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो ट्रेकको प्रमुख आकर्षण हो। गुरुङले पदयात्राका क्रममा ढोरपाटनको बुकी क्षेत्रका गोठालासँग सातादिन बिताएका थिए। 'गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ', उनले भने, 'अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि गुरिल्ला ट्रेक रोज्न सकिन्छ, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो।'

अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङको सुझाव छ। घोषणा भएर प्रयोगमा आएको वर्षौँ बितेपनि गुरिल्ला पदमार्गले सोचेजति उचाइ लिन नसकेको उनको अनुभव छ।

गुरिल्ला ट्रेकमा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने गुरुङले विचार छ। 'पदमार्ग स्तरोन्नतिदेखि पूर्वाधारमा ध्यान दिनु आवश्यक छ, ठाउँठाउँमा चिया-खाजा पसल, विश्रामस्थल बनाउनुपर्छ', उनले भने।

स्तरीय पदमार्ग, होटल तथा घरबासको अभाव आदि कारणले पनि गुरिल्ला पदमार्गमा पर्यटकको आकर्षण बढ्न नसकेको गुरुङले बताए। उनले पदमार्गमा व्यवस्थित रुपमा सूचना र संकेत पाटी राख्नुपर्ने आवश्यकता औँल्याए। 'माओवादी जनयुद्धबारे बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ', गुरुङले भने, 'मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज-अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ।'

रुकुम पूर्वको भूमे गाउँपालिका-९ का अध्यक्ष विनोद बुढाले पछिल्लो समय गुरिल्ला पदमार्गको चर्चा सेलाउँदै गएको बताए। 'सुरुसुरुमा प्रचारमा पनि आयो, पूर्वाधार निर्माणका केही काम पनि भए तर अहिले यो ट्रेक ओझेलमा परेको छ, पर्यटक पनि आएको देखिन्न, कसैले नाम लिएको पनि सुनिन्न', उनले भने, 'माओवादीको चुनुवाङ बैठक भएको भेरीडाँडालाई भने ऐतिहासिकस्थलका रुपमा संरक्षण गर्ने काम भइरहेको छ, अहिले सडकमार्गले पनि जोडिएको छ।'

बैठकस्थल, सैन्य अभ्यास गरिएका ठाउँ, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता बसेका घरलगायत संरचनाको जीर्णोद्धार गरिएको अध्यक्ष बुढाले बताए। पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पालगायत ठाउँमा जनयुद्धकालीन समयको झल्को दिने गरी सङ्ग्रहालय, शान्ति स्तम्भ, सहिदमार्गआदि निर्माण भइरहेको उनले बताए।

पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्नसके गुरिल्ला पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए।

'ढोरपाटनलगायत पश्चिम पहाडी क्षेत्र पर्यटन विकासमा अहिले पनि पछाडि छ, राज्यका निकायको पनि ध्यान पुग्न सकिरहेको छैन', उनले भने, 'युद्धबाट गुज्रेका ग्रामीण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई गुरिल्ला ट्रेकमा आकर्षित गर्न सकिन्छ।' रासस


प्रकाशित : शनिबार, कात्तिक १८ २०८००५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend