आइतबार, वैशाख २३ गते २०८१    
images
images

इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री [अन्तर्वार्ता]

images
images
images
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री [अन्तर्वार्ता]

'उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौँ। तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ।'

images
images

काठमाडौं- नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ। मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वयम् इजरायल गएका थिए। यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए। सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ। मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताएका छन्। यसै सन्दर्भमा केन्द्रित रहेर राससका वरिष्ठ समाचारदाता भीष्मराज ओझाले मन्त्री साउदसँग गरेको कुराकानीको अंश :

images
images
images

इजरायल घटनाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ?

images

इजरायलमा प्यालेस्टाइन हमास समूहको आक्रमणबाट सयौँ नागरिकको हताहती भयो। ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० जना विद्यार्थीले आक्रमणमा परी ज्यान गुमाएका छन्। घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ। इजरायलमा विद्यार्थीबाहेक करिब चार हजार पाँच सय नेपाली नागरिक छन्। अधिकांश ‘केयर गिभर’मा कार्यरत हुनुहुन्छ। हमासको आक्रमणपछि नेपालीहरु त्यहाँ सन्त्रासको वातावरणमा बस्नुपरेको थियो। मुलुकमा संसद, राजनीतिक दल, नागरिक समाज, र विद्यार्थीका अभिभावकबाट पटकपटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो। यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो। संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अविव गई उद्धारमा जुटेको हुँ। पहिलो चरणमा दुई ५४ नेपालीको उद्धार गरेका छौँ। अहिलेपनि उद्धार जारी नै छ। 

images

इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ?

images
images

इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहेका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको छ। नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ। नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ। घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ। अन्य उपचाररत हुनुहुन्छ। बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ। इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु।

निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ?

आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ। यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ। त्यति नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ। तसर्थ ती सबै शवको परीक्षण गरी कानूनी प्रक्रियाअनुसार सम्बन्धित देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ। यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ। हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ। तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन।

बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ?

विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ। प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बंकरमा हुनुहुन्थ्यो। आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बंकरबाहिर फ्याक्नुभएको थियो। पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए। त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन। इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटकपटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौँ। साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ। हमासको नियन्त्रणमा हो कि भन्ने आशंकामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौँ।

पर्खाइमा रहेका बाँकी नेपालीको उद्धार कहिले र कसरी हुन्छ?

उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौँ। तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ। यस बारेमा हामीले सूचना पनि जारी गरेका छौँ। स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेका छौँ। यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौँ, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागु हुन्छ। तर मलाई सबै नेपाल अहिल नै आउँछन जस्तो लाग्दैन। धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन्। त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्कलानजस्तो मलाई लाग्दैन।

काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घटनाबाट के पाठ सिक्न सकिन्छ?

विदेशमा हामीले कानूनी रुपमा र सुरक्षितरुपमा पठाएका नागरिकमाथि पनि सांघातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ। कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो। वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौँ। सरकारले निश्चित मापदण्ड निर्धारण नगरी तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिन अघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा सो विषयमा छलफल गरेका थियौँ। यस विषयमा हामी सहयोग गर्न तयार छौँ।

इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ?  

इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु। नेपाली दूतावासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौँ। आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ। यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसात गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेको अवगत गराउन चाहन्छु। यसमा आत्तिने कुरा छैन।

इजरायल घटनापछि संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ?  

इजरायलको घटनाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो। जुन केही हप्ताका लागि सरेको छ। उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ। यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गर्छौँ। नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौँ। इजरायल घटनासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो। यही घटनाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

सम्पूर्ण देशबासीलाई देश बाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु। राजनीतिक दलले पनि यस्ता घटनाको कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन। कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ। त्यसैमा गर्दा राम्रो हुन्छ। तर विपद् र संकटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ। यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु।

images

प्रकाशित : आइतबार, असोज २८ २०८०१०:०१

प्रतिक्रिया दिनुहोस