सोमबार, वैशाख १७ गते २०८१    
images
images

ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता   

घटना गुपचुप पार्न दुबई जाँदै अध्यक्ष अधिकारी

images
images
images
ह्याकरले लगिदियो वायुसेवा निगमको दुई करोड रुपैयाँ, फिर्ता ल्याउन ३६ लाख खर्चेर राखियो परामर्शदाता   

जीएसएको सेटिङसँगै ह्याकरले रकम लगेको विषय मिलाउन निगमका अध्यक्ष युवराज अधिकारीसमेत आज बुधबार दुबई जाँदै छन्

images
images

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रुपैयाँ ह्याकरले लगिदिएको छ। निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण दुई करोड रुपैयाँ ह्याकरले लगेको हो। बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ई-मेलमार्फत आएको विवरणअनुसार कर्मचारीहरूले रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा नोक्सानी भोगेको हो। 

images
images
images

रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गर्नुका साथै रकम फिर्ता ल्याउनका लागि ३६ लाख रुपैयाँ खर्च गरेर परामर्शदातासमेत नियुक्त गरेको छ। एक महिनाभन्दा बढी समय बितिसक्दा गुमेको रकम फिर्ता आउने अवस्था देखिएको छैन। 

images

सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकीन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हो। कर्मचारीले लेनदेनको सामान्य चेतनासमेत प्रयोग नगर्दा अन्तराष्ट्रिय लज्जाको विषय हुनेगरी निगम ठगिएको छ। 

images

निगमको दुबई स्टेसनले क्याटरिङ सेवा दिइरहेको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम झुक्यानमा पारी ह्याकरले उडाइदिएको हो। निगमले 'इमिरेट्स इन फ्लाइट क्याटरिङ'बाट क्याटरिङको सेवा लिइरहेको छ। सेवा लिएबापत निगमले उक्त कम्पनीलाई किस्तामा रकम भुक्तानी गरिरहेको थियो।

images
images

ह्याकर समूहले दुबई स्टेसनको ई-मेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खातामा रकम जम्मा गरिदिन भन्दै खाता विवरण पठाएको थियो। स्टेसनका कर्मचारीले उक्त ई-मेलबारे बुझबुझारत नगरी भनिएकै नयाँ खातामा रकम हालिदिँदा निगमको झण्डै दुई करोड रुपैयाँ गुमेको हो। 

निगम स्रोतका अनुसार स्टेसनका कर्मचारीले ई-मेल आईडीमा खाता परिवर्तन भएको भन्दै पठाएको सूचना भेरीफाइ नगरी तीन किस्तामा गरी १ करोड ९१ लाख रुपैयाँ पठाएका थिए। त्यसरी रकम पठाइसक्दा पनि क्याटरिङ सेवा दिइरहेको कम्पनीले आफूहरूको भुक्तानी नभएको भन्दै पत्राचार गरेपछि मात्रै ह्याकरको हातमा रकम पुगेको रहस्य खुलेको हो। 

उक्त खाताबाट ह्याकरले रकम झिकिसकेको छ। स्टेसनका कर्मचारीले रकम हालिदिएको खातामा अहिले एक रुपैयाँ पनि छैन। 

समिति बनाएर अध्ययन, ३६ लाख खर्चेर परामर्शदाता  

स्रोतका अनुसार रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गरिरहेको छ। अध्ययन समितिले केही दिनभित्रै रिपोर्ट बुझाउने तयारी गरिरहेको छ। यसरी रकम ह्याकरले लगेको समयसमेत एक महिनाभन्दा बढी भइसकेको छ। निगमले घटना गुपचुप बनाउने प्रयास गरिरहेको छ। 

साथै ह्याकरले लगेको रकम फिर्ता ल्याउनका लागि भन्दै निगमले १ लाख दिराम (झण्डै ३६ लाख रुपैयाँ) खर्च गरेर एउटा परामर्शदातासमेत नियुक्त गरेको छ। निगम स्रोतका अनुसार सबै उपायबाट रकम फिर्ता ल्याउने प्रयास भइसक्दा पनि सफल हुन नसकेपछि स्थानीय परामर्शदातामार्फत काम गरिरहेको हो। 

जीएसएको सेटिङसँगै ह्याकरले रकम लगेको विषय मिलाउन निगमका अध्यक्ष युवराज अधिकारीसमेत आज बुधबार दुबई जाँदै छन्। 

सामान्य विषयमा समेत दोहोरो जाँच नगरी यति ठूलो रकम गुमेको विषयमा कर्मचारी जोगाउने गरी काम भइरहेको छ। कसैले ई-मेलमार्फत विवरण पठाएकै भरमा भेरिफाइ नगरी रकम हालिदिँदा निगम समस्यामा परिरहेको छ। 'कसैले बैंक खाता परिवर्तन भएको भनेर मेल पठाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीसँग खाता भेरीफाइ गर्नुपर्नेमा स्टेसनका कर्मचारीले भेरिफाइ नै नगरी रकम हालिदिँदा रकम गुमेको हो', निगम स्रोतले भन्यो, 'यसमा संलग्न कर्मचारीहरू नै शतप्रतिशत दोषी छन्, उनीहरूलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ।'

यस्तो गम्भीर लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गरी छानबीन गर्नुपर्नेमा अहिलेसम्म निगम व्यवस्थापनले कुनै काम गरेको छैन। अध्यक्ष अधिकारीले आफू निकट कर्मचारीलाई नै दुबई स्टेसन पठाएकाले पनि उनी घटना लुकाउने प्रयासमा लागिरहेका छन्। कर्मचारीको बचाउ गर्दै अध्यक्ष अधिकारीले उनीहरूमाथि सामान्य जाँचसमेत गरेका छैनन्। 

images

प्रकाशित : बुधबार, असोज २४ २०८००८:४५

प्रतिक्रिया दिनुहोस