शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सर्वसाधारणलाई झुक्याउन खोजेपछि घोराही सिमेन्टको आईपीओको सबै प्रक्रिया रोकियो

सोमबार, असार ४ २०८०
सर्वसाधारणलाई झुक्याउन खोजेपछि घोराही सिमेन्टको आईपीओको सबै प्रक्रिया रोकियो

काठमाडौं- घोराही सिमेन्टको साधारण सेयर निष्कासन (आईपीओ) को प्रक्रियामा नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ। मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा लगानीकर्तालाई झुक्याउन पुनः आफूखुसी म्याद थप गरेपछि आईपीओ प्रक्रियामै बोर्डले रोक लागाइदिएको हो। 

धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकाय सुपरिवेक्षण विभागले परिपत्र गर्दै सबै प्रक्रिया स्थगन गरेको हो। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम २ विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई तीन ३ दिनभित्र स्पष्ट गरी पेश गर्न पत्राचार गरेको तर जवाफ नदिएपछि रोक लगाइएको बोर्डले जनाएको छ।

बोर्डले गत जेठ ३० गते केयर रेटिङ नेपाल लिमिटेडलाई पत्र काटेको तर हालसम्म जानकारी पेश नगरी कुनै आधारबिना म्याद थपको लागि अनुरोध गरेको बोर्डले जनाएको छ। कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको भन्दै बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै रोक लगाइएको जनाएको छ।

उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि नबढाउन परिपत्रसमेत गरेको छ। 

प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको घोराही सिमेन्ट कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो। असार ४ गते सम्ममा २ करोड ४० लाख ५० हजार कित्ता आवेदन परेको छ। 

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि त्योसमेत थप गरेर कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। असार ४ सम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा मागभन्दा २ गुणा बढी आवेदन परे पनि समय थप गरिएको थियो। कम्पनीले सोमबार सूचना निकालेर आवेदन भेरिफाइ भइरहेकाले म्याद थप भएको जनाएको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। सर्वसाधारणका लागि भने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो।


प्रकाशित : सोमबार, असार ४ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend