बुधबार, जेठ १६ गते २०८१    
images
images

नेपालको पर्यटनमा एयरलाइन्स : विगतदेखि वर्तमान

images
शनिबार, असार २ २०८०
images
images
नेपालको पर्यटनमा एयरलाइन्स : विगतदेखि वर्तमान
images
images

पहिले त विदेशीका लागि नेपाल खुला थिएन। सन् १९५१ तिरमात्रै विदेशीलाई नेपालमा आउनका लागि अनुमति दिइयो। हुन त पहिले नै अरनिकोहरू आएको कुरालाई अलि भिन्दै मानेर हेरौँ। त्यसलाई पूर्वऐतिहासिक विषयका रुपमा हेरौँ। अहिले नजिकैको इतिहासलाई हेर्ने हो भने नेपालमा आउने पहिलो पर्यटक टोनी ह्यागनलाई नै लिइन्छ। टोनी ह्यागन नेपाललाई एकदमै माया गर्ने व्यक्ति हुन्।

images
images
images

सन् १९५८ मा रोयल नेपाल एयरलाइन्स सुरू भयो। हुन त त्यसअघि भारतको जाम एयर, नेपालीहरूले सुरु गरेको हिमालयन एभिएसनहरू पनि थिए। सरकारी तवरबाटै रोयल नेपाल एयलाइन्स सुरू हुनुको अर्थ वृहत थियो। त्यो सुरू भएपछि पर्यटनका विषयमा कुराहरू आउन थाल्यो। रोयल नेपालले सुरूमा त डोमेस्टिक उडानमात्रै गरेको थियो।

images

पछि विस्तारै भारत र ढाकामा पनि उडान भयो। त्यसबेला ढाका इस्ट पाकिस्तान थियो। विमान दिल्ली, कोलकाता र पटना पनि गयो। त्यसबेला विश्वयुद्धको समयको डीसी थ्रीहरू कुनै अस्ट्रेलियन, कुनै अमेरिकन सरकारले सहयोग गरेका विमानहरू थिए। त्यसैबाट रोयल नेपाल चल्थ्यो।

images
images

रोएल नेपाल उड्न थालेपछि नै पर्यटकहरूको आगमन पनि अलि देखिने गरी हुन थाल्यो। सँगसँगै इन्डियन एयरलाइन्स पनि आउन थालेको थियो। त्यसरी सुरू भएको पर्यटनमा थाई इन्टरनेशनल पनि निकै सहयोगी भएर आयो। थाईले सुरूमै जेटबाट सेवा सुरू गरेको थियो। उसको क्याराभल भन्ने विमान थियो। हाम्रो एयरपोर्टमा रनवे जम्मा ६६ सय फिट थियो। त्यो जहाज ल्यान्ड गर्दा अडाउनका लागि पछाडि प्यारासुटसमेत राखेर गति विचार गरेर अडाउन सहयोग गर्ने गरिन्थ्यो। त्यस्तो कुरा अहिले त सुन्नेलाई अचम्म लाग्न सक्छ। 

images
images

पछि अन्य उडानहरू पनि बढ्दै गयो। एयरलाइन्सहरूले विस्तारै मान्छे ल्याउँदै गएपछि अब आएका पाहुनाका लागि होटल पनि त चाहिने भयो। पर्यटकलाई सहयोग गर्ने गाइडहरू चाहियो। दृश्यावलोकनका लागि ठाउँहरू चाहियो। त्यो बेला डिमार्टमेन्ट अफ टुरिजम भनेर श्री ५ सरकार अन्तर्गतको कार्यालय बसन्तपुरमा थियो। रहिन बसेरा भन्ने भवनमा थियो। नेपालको पहिलो टुरिजम डिरेक्टर धर्मनारायण प्रधान हुनुहुन्थ्यो। 

त्यसबेला टुरिस्टका लागि देखाउने कुरा के त? नेपालमा हामीसँग तीन कुरा छन् भनिन्छ। यहाँको प्राकृतिक सुन्दरता, पुर्खाले छाडेर गएका कला र सम्पदाहरू। तेस्रोमा चाहिँ यहाँका मानिसहरू। नेपाली जात। नेपाली स्वभाव र मानवीय भावना पनि हाम्रो सम्पत्ति नै हो। जसले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ। 

यसैले त्यसबेला नेपाल आउने पर्यटकका लागि देखाउने कुराहरूमा उपत्यकाका सम्पदा धरोहर नै भइहाले त्यससँगै उपत्यकानजिका डाँडाहरू पनि केही विकास भए। नगरकोट, ककनी र अर्को चाहिँ दामनमा भ्यू टावर बनाइएका थिए। जसमार्फत पर्यटकहरूले हिमालको दृश्यावलोकन गर्थे। त्यही नै पहिलो पर्यटकीय 'प्रोडक्ट' बन्यो। 

त्यसबेला सुरूमा उपत्यकामा तीनवटा होटल थिए। रोयल होटल भन्ने थियो। जुनमा अहिले निर्वाचन आयोगको कार्यालय रहेको छ। अर्को लाजिम्पाटमा स्नो भ्यू होटल भन्ने थियो। तेस्रो पारस होटल भन्ने थियो। जुन जुद्ध शालिक भएको उत्तरपट्टी थियो। 

काठमाडौंबाहिर जानुपर्दा राम्रा होटलमा पोखरामा फिस्टेल लज भन्ने थियो। न्यू किस्टल होटल भन्ने पनि थियो। त्यसबेलासम्म चितवन त खुलेकै थिएन। पोखरा र काठमाडौं मात्र नै थियो। त्यसपछि पछि मात्रै राष्ट्रिय निकुञ्जहरू थपिँदै गए। पर्यटकका लागि अलि भिन्नखाले अनुभव गराउन सकिने ठाउँहरू थपिँदै गयो। 

पर्यटकलाई घुमाउन गाइडको तालिमहरू पनि सुरू भयो। त्यो काम डिपार्टमेन्ट अफ टुरिजममार्फत नै भएको थियो। त्यसपछि होटल म्यानेजमेन्ट एण्ड टुरिजम ट्रेनिङ सेन्टर भनेर रबिभवनमा सुरू भयो। जसले होटलमा आवश्यक म्यानपावर उपलब्ध गराउन थाल्यो। यसरी विस्तारै पर्यटन क्षेत्र अघि बढ्दै गयो। 

नेपालका लागि मात्रै होइन विश्वभर नै पर्यटन क्षेत्रको विकासका लागि एयरलाइन्सको भूमिका प्रमुख हुन्छ। नेपालमा त्यसका लागि रोयल नेपाल एयरलाइन्समार्फत नै काम सुरू भएको हो। रोयल नेपालले राम्ररी नै काम गरिरहेको थियो। त्यसबेला प्रतिस्पर्धा इन्डिएन एयरलाइन्स र थाई इन्टरनेशनलसँग नै थियो। बीचमा ६० को दशकको अन्त्यतिर युनियन अफ बर्मा एयरवेज पनि आउन थालेको थियो। उनीहरूले तीन/चार वर्ष नेपालमा काम गरे जस्तो लाग्छ। 

यस्तोमा पनि नेपाल एयरलाइन्सले आफ्नो छुट्टै परिचय बनाउन सकिरहेको थियो। त्यही बेलामा सरकारले नेपाल एयरलाइन्सलाई माथि लान बाहिरको एयरलाइन्सको सहयोग चाहिन्छ भनेर एयर फ्रान्ससँग सहयोग लिएको थियो। त्यसबेला एयर फ्रान्सको टिम काठमाडौं आएर पनि काम गरेको थियो। 

एयर फ्रान्सले टर्बोमात्र चलाएर माथि जान सकिँदैन जेट चाहिन्छ भनेर विश्वस्त बनाएको थियो। सन् १९७२ मा पहिलोपटक जेट विमान पनि रोयल नेपालमा आयो। त्यससँगै नेपालको भौगोलिक स्थितिमा नेपालीका लागि सबैभन्दा सहज हवाई मार्ग नै हो भन्ने कुरा पनि भयो। अब ठूला विमान नेपालको पहाडमा जान सम्भव थिएन। त्यस्तोमा एयर फ्रान्सले नै नेपालमा सर्ट टेकअफ र ल्यान्डका लागि काम गरे। त्यसका लागि सबैभन्दा उपयुक्त क्यानडाले बनाएको एउटा विमान थियो। डिह्याबीलान ट्वीनअटर डीएचसी सिक्स भन्ने थियो। त्यसले नेपालको टुरिजममा ठूलो भूमिका खेल्यो। 

त्यसबेला प्रतिस्पर्धीका रुपमा हेरिएको इन्डियन एयरलाइन्सभन्दा नेपाल एयरलाइन्स निकै अघि थियो। फ्लाइटमा त्यहीबेला नै ड्रींक्सहरू सर्भ गर्न थालिसकेको थियो, खानाहरू खुवाउन थालिसकेको थियो। त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको ठीक समयको उडान अवतरणका लागि नेपाल एयरलाइन्स चिनिएको थियो। समयमा उड्ने र अन्य सेवाका लागि पनि नेपाल एयरलाइन्सलाई धेरैले राम्रो मान्थे।

विस्तारै रोयल नेपाल बैंकक र हङकङ पनि जान थाल्यो। उडानहरू थपिँदै गए। आजको दिनसम्म आउँदा नेपाल एयरलाइन्सको अवस्था त सबैलाई थाहै छ। अब धेरै नकारात्मक कुरातिर नजाऔँ। त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। सकारात्मक हुनुपर्छ। 

त्यसबेलादेखि नै हामी सबैले एयरलाइन्सको विकासका लागि नेपाली विज्ञहरूको कामले मात्र पुग्दैन बाहिरबाट बरू पार्टनर नै पनि ल्याउनुपर्छ भनिरहेको हो। त्यसमा नेपालको ५१ प्रतिशत नै स्वामित्व राखेर पनि राम्ररी काम गर्दै बढ्न सकिन्थ्यो। धेरै कुरा उठेर धेरै कार्यदल बने, धेरै रिपोर्ट बने तर त्‍यो कार्यान्वयनमा जान सकेन। त्यसको फल त अहिलेको अवस्थाले देखाइरहेकै छ। नेपालको टुरिजमलाई ठूलो साथ दिनसक्ने क्षेत्र कमजोर देखिएको छ। अझै पनि सबै बिग्रिसकेको छैन, सुधारमा जान सकिन्छ। 

अब विगतका कुराबाट थोरै नजिक आऔँ। त्यसमा कोरोनाका कारण सिर्जित परिस्थितिले गएका तीन वर्षबारे कुरा नगरौँ। त्यो अवस्थाका बारेमा सबैलाई राम्रोसँग नै जानकारी छँदैछ। त्यसअघि पर्यटक आवागमन निकै राम्रो हुँदै गइसकेको थियो। २८ वटा एयरलाइन्सहरू नेपालमा आउन थालिसकेका थिए। अब विस्तारै हामी त्यो अवस्थामा पुगिहाल्छौँ। किनभने यहाँ अवसर छ। अवसर छ, व्यापार हुन्छ भन्ने भएपछि त जो पनि त्यसमा संलग्न हुन इच्छुक भइ नै हाल्छन्।

त्यो अवसर लिन नेपाल एयरलाइन्स चुकिरहे पनि अरूले त छाड्ने वाला छैनन्। राम्रो हुन्छ भने अरू पनि आइ नै हाल्छन्। दुईवटा उडानबाट नेपालमा जोडिएको सिंगापुर एयरलाइन्स अहिले सातामा ९ उडान गरिरहेकै छ। कतारलगायत अन्य एयरलाइन्स पनि अघि बढिरहेकै छन्। यी सबैले गर्दा नेपालको पर्यटन क्षेत्रमा योगदान भइरहेको छ। कोरोनाअघि वार्षिक १२ लाख पर्यटक भित्र्याउन त सफल भइएकै हो नि। 

कोभिडको बेलामा त्यत्रो दु:ख हुँदा पनि, सबै ठप्प हुँदा पनि अहिले आएर त सबै काममा फर्किन थाले नि। त्यो बेला धेरैले कर्मचारी कटौती गरे, कतिले बन्द गरे पनि उनीहरू नफर्कने गरि गएनन्। धेरै त मुस्किलमा पनि अडिरहे। अहिले विस्तारै सुधारतर्फ गइसक्यो। अहिले गएको मार्च महिनामा एक लाख पर्यटक आउनुले पनि राम्रोतिर नै संकेत गरिरहेको छ। यदि सबै ढोका बन्द गरेर अब सकियो भन्ने ठानेको भए त यति छिटै फर्कन पनि गाह्रो नै हुन्थ्यो। 

देशमा धेरै विषय पर्यटन क्षेत्रसँग जोडिएको छ भने सरकारले त्यसका लागि विशेष ध्यान त दिनैपर्छ। यो पर्यटन उद्योगले जुन सहयोग र समर्थन पाउनुपर्ने हो सरकारले त्यो दिने हो भने धेरै अघि बढ्न सकिन्छ। पर्यटन क्षेत्र विकास त भएरै नै छाड्छ। अहिले निजी क्षेत्रले यसमा लगाइरहेको लगानी हेर्दा पनि त्यो कुरा पुष्टी हुन्छ। पाँचतारे होटलमा भइरहेको लगानीमात्र हेर्ने हो भने पनि निजी क्षेत्रको विश्वास त देखिन्छ नै। उद्योगी व्यवसायीहरूले घाटा हुने ठाउँमा पैसा लगानी त पक्कै पनि गर्दैनन्। 

पर्यटन क्षेत्रमा लागिरहँदा कस्तो ज्ञान भयो भने यो निजी क्षेत्रले नै नेतृत्व लिएर अगाडि बढाइरहेको क्षेत्र हो। सरकारको साथबिना सम्भव त छैन, सरकारी साथहरू मिलिरहेको छ तर पनि यसको विकासमा अगाडि चाहिँ निजी क्षेत्र नै देखिन्छ। सरकारमा हुनेहरूले पनि नेपालमा पर्यटनको सम्भावनाबारे राम्ररी नै बुझेका छन्। उनीहरू आफ्नो भाषणमा त्यसबारे बारम्बार भनिरहेकै हुन्छन्। कृषि, जलस्रोत र पर्यटनकै कुरा त हाम्रा प्रमुख विषय हुन्। 

नेपालमा ८० को दशकमा नै यूएनडीपीसँगको सहकार्यमा पब्लिक प्राइभेट पार्टनसिप फर क्वालिटी टुरिजम  भनेर पर्यटन क्षेत्रमा काम गरेको थियो। क्वालिटी भर्सेस क्वानटिटीको बहस विश्वभर नै भइरहेकै हुन्छ। नेपालमा पनि भइरहेकै थियो। हामीजस्तो सानो देशमा पनि त्यसबारे कुराकानी भइरहेकै हुन्थ्यो। त्यसैले त्यो प्रोजेक्टमार्फत सरकार मातहतको टुरिजम डिपार्टमेन्टलाई पनि पब्लिक प्राइभेट पार्टनरसिपसँग किन नजोड्ने त भन्ने कुरा आयो। सरकार र यूएनडीपीले पनि त्यसमा राम्रो हुने नै देख्यो। जसले गरेर नेपाल टुरिजम बोर्डको परिकल्पना गरेर त्‍यो स्थापना भयो। 

टुरिजम बोर्डमा चारजना निजी क्षेत्रबाट, चारजना सरकारबाट र एकजना सीईओ पनि निजी क्षेत्रकै रहने गरी संरचना बनाइयो। त्यो निकै राम्रो थियो। सुरूका केही वर्ष नीतिनियमतिर ध्यान दिँदा नै बित्यो। अब अहिले राम्ररी काम गर्ने बेला बोर्डको अवस्था के छ सबैलाई थाहै छ। पहिलेको सही मार्ग छाड्दा हामीले टुरिजम बोर्डको कामबाट जे फाइदा लिन सक्थ्यौँ त्यसमा चुकिरहेका छौँ। तर अझै अबेला भएको छैन। 

नयाँ नयाँ होटलहरू आइरहेकै छन्। नयाँ एडभेन्चरका क्षेत्रहरू पनि आइरहेकै छन्। अझै पनि गर्न सक्ने काम धेरै छ। नयाँ नयाँ क्षेत्रहरू विकास गर्दै जानुपर्छ। सम्भावना धेरै नै छ। सहज नीति नियमहरू ल्याएर निजी क्षेत्रलाई अझ लगानीका लागि आत्मबल दिनु आवश्यक छ। 
हामीले सपना र सोच ठूलै राख्नुपर्छ। सरकारले अब सन् २०३३ सम्म पुग्दा वार्षिक ५० लाख पर्यटक ल्याउने योजनामा काम गर्दैछ। काम गर्ने हो भने त्यो सम्भव छ। गर्न सकिन्छ। तर परिकल्पना गरेर त्यसलाई कागजमा मात्र सीमित राखेर भने हुँदैन। त्यसको कार्यान्वयनमा पनि उति नै ध्यान दिनु जरुरी छ। मेहनतसाथ त्यसमा काम गर्नुपर्छ। त्यसमा लेखेका कुराहरूलाई हरेक वर्ष कार्यान्वयन गर्दै पनि जानुपर्छ। त्यसका लागि चाहिने बजेट छुट्याउनु पर्‍यो, चाहिने म्यानपावरहरू ल्याउनुपर्‍यो। काममा मेहनत हुनुपर्‍यो।


प्रकाशित : शनिबार, असार २ २०८००२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend