बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

'कोप २६' मा नेपालको आवाजको प्रतिनिधित्व गरिदिन विश्व बैंकलाई आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
'कोप २६' मा नेपालको आवाजको प्रतिनिधित्व गरिदिन विश्व बैंकलाई आग्रह 

जलवायू परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेन्डाहरुको सम्बोधन हुने विश्वास मन्त्री शर्माले व्यक्त गरे। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहबीच भर्चुअल बैठक भएको छ। बुधवार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको हो। 

मन्त्री शर्माले विश्व बैंकको सहयोगमा सञ्चालन हुने ऊर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएका हुन्। जलवायू परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेन्डाहरुको सम्बोधन हुने विश्वास मन्त्री शर्माले व्यक्त गरे। 

नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गर्दै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको आँकलन गर्ने, जनताको जीवन रक्षा गर्ने, खाद्यान्न आपूर्ति गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण गर्ने लगायतका विषयमा गंभीरताका साथ काममा जुटिरहेको जानकारी गराएका थिए। 

जलवायू परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरुले वार्षिक एस सय अर्ब डलरका दरले क्षतिपूर्ति वापत पाउनुपर्ने सम्बन्धी कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनिकरणका लागि स्थापना गरिएका कोषहरुमा नेपालको पर्याप्त पहुँच नरहेको विषयमा समेत विश्व बैंकको ध्यानाकर्षण उनले गराए। जारी कोप २६ मा यस विषयमा समेत विश्व बैंकले आवाज उठाइदेओस् भन्ने नेपालको चाहना रहेको उनको भनाइ छ।  

साथै जलवायु परिवर्तनका असरविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा राखे। भर्चुअल बैठकमा दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाललाई प्राप्त सहयोग तथा सुविधाहरु  पूरा उपयोग गर्न कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आवश्यकता औंल्याए। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा जलवायु परिवर्तन सम्बन्धी नेपालको चासोलाई महत्वका साथ प्रस्तुत गर्न आफूहरु सकारात्मक रहेको बताए।  

बैठकमा अर्थसचिव मधु कुमार मरासिनीले विश्व बैंक नेपालको विश्वसनीय साझेदार भएकोले विगतमा झैं सहयोग नियमित हुने अपेक्षा व्यक्त गरे। विश्व बैंकले ऊर्जा, शैक्षिक क्षेत्रलगायतमा गरिरहेको सहयोगप्रति आभार प्रकट गर्दै सचिव मरासिनीले परियोजना कार्यान्वयनको लागि सरोकारवाला मन्त्रालयसँग समन्वय गर्ने, अप्ठेराहरु केही देखिएमा तिनलाई फुकाउने कार्यमा सरकारले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए। साथै कोप २६ मा नेपालको आवाजको प्रतिनिधित्व गरिदिन समेत विश्व बैंकलाई अनुरोध गरे। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend