शनिबार, साउन १२ गते २०८१    
images
images
images

ठमेलमा बढ्यो पर्यटकीय चहलपहल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
images
images
ठमेलमा बढ्यो पर्यटकीय चहलपहल
फाइल तस्बिर

पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड-१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे।

images

काठमाडौं- मुलुककै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो। 

images
images

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बन्न पुग्यो। थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने पर्यटन क्षेत्र सुस्ताउँदा देशको अर्थतन्त्रमा समेत ठूलो क्षति पुग्न गयो। 

images

पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड-१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो।

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन्। ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्। सम्पदा गार्डेन होटलका सञ्चालक एवं पर्यटन व्यवसायी कुमार अधिकारी सरकारले अनअराइभल प्रवेशाज्ञालाई खुकुलो बनाएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन्। ठमेल गत वर्ष पनि झण्डै आठ महिना बन्द रहेको थियो।

images

पर्यटन व्यवसायी सुदर्शन नेपाल पछिल्लो समयमा ठमेलमा पर्यटकीय गतिविधि बढेको बताउँछन्। अहिलको समय ट्रेकिङ जाने पर्यटकका लागि उत्कृष्ट सिजन भएकाले पनि ठमेलमा पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ। ट्रेकिङका लागि उत्तम सिजनका रूपमा मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरलाई लिने गरिन्छ।

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा)का पूर्वअध्यक्ष सिएन पाण्डे विदेशी पर्यटकलाई अनलाइनमार्फत प्रवेशाज्ञा दिएमात्र नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बताउँछन्। धेरै पर्यटक नेपाल घुम्न आउन चाहे पनि प्रक्रिया झन्झट भएका कारण आउन नसकेको उनको भनाइ छ। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड-१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि कम आए पनि आन्तरिक पर्यटक बढेको बताउँछन्। 

ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ। ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ। ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन्। 

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि पूर्णरूपमा हुनलाई केही समय लाग्ने बताउँछन्। नेपाल घुम्न आउने पर्यटकलाई व्यवस्था गरिएको क्वारेन्टिनको व्यवस्था हटाएमात्र पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ। विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्ने सुवेदी बताउँछन्। 

ठमेल काठमाडौं महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ। ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ। नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन्। काठमाडौं-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने बताउँछन्। ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायीको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend