बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो।

हुम्ला- जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ।

जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो। उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ।

बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन्। 'बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ' दीर्घले गुनासो गरे।

यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्। नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ। अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ। आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन्। 

नेपाल वायुसेवाको जहाजले उडान भर्न छाड्यो

हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ। वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ।

दसैँ मनाएर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन्। पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका-२ का दीपेन्द्र बोहराले गुनासो गरे। निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ। सीता एयरले चार/पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend